Skip to content
LAXMI SUNRISE BANK

प्रि-आइपिओका नाममा `गैरकानुनी´ रकम असुल गरेको भन्दै केवलकारविरुद्ध उजुरी, आइपिओको स्वीकृति रोकिने !

अर्थ सरोकार

काठमाडौँ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडविरुद्ध उजुरी परेको छ । कम्पनीविरुद्ध नेपाल धितोपत्र बोर्ड, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उजुरी परेको हो । 

कम्पनीविरुद्ध कम्पनीकै सेयरधनीले उजुरी दिएका हुन् । प्रि-आइपिओ निष्कासनपछि हकप्रदका नाममा लगानीकर्तालाई दुःख दिएको, सेयर जारी गरेपछि समयमा प्रमाणपत्र नदिएको, सिद्धार्थ केबलकारको सेयर प्रतिकित्ता १ सय ५० रुपैयाँमा बिक्री गरेर पछि फेरि त्यही सिद्धार्थका सेयरधनीलाई प्रभु केबलकारको सेयर किन्न लगाएको भन्दै उजुरी परेको धितोपत्र बोर्डका एक अधिकारीले पुष्टि गरेका छन् । 

उजुरीमा आफूलाई प्रभु र सिद्धार्थ केबलकारको सेयर होल्डर दाबी गर्ने व्यक्तिले भ्रामक प्रचार गरेर दुवै कम्पनीबाट ४० लाख रुपैयाँभन्दा बढीको सेयर किन्न लगाएको आरोप लगाएका छन् । 

उनले गतवर्षको कार्तिक, मंसिर महिनादेखि निरन्तर सम्पर्क गरेर भ्रामक प्रचार गरी प्रि-आइपिओ भन्दै प्रभु केबलकारको सेयर एक सय १५ रुपैयाँमा किन्न लगाइएको बताएका छन् । प्रभु केबलकारको सेयर खरिद गरेलगत्तै १ः१ राइट सेयर भन्दै फेरि आफूसँग रहेको सेयर बराबर किन्न लगाइएको उजुरीकर्ताको दाबी छ । फेरि लगत्तै लिलामीको सेयर भन्दै अक्सन खुलाएर प्रतिकित्ता १२० रुपैयाँदेखि माथिमा सेयर बिक्री गरिएको उजुरीमा उल्लेख छ । त्यसमा पनि सबै सेयर नबिकेपछि प्रतिकित्ता १२५ रुपैयाँका दरले करोडौँको सेयर बिक्री गरिएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

अर्कोतर्फ प्रभु केबलकारको सेयर किन्नेलाई सिद्धार्थ केबलकारको सेयर १ः१ मै दिने पनि प्रलोभन देखाइएको र सिद्धार्थ केबलकारको आइपिओ २०८३ असार मसान्तसम्म आइसक्छ भन्दै भ्रामक प्रचार गरेको पनि उजुरीकर्ताको आरोप छ । 

त्यस्तै, प्रभु केबलकारको करिब ८१ प्रतिशत सेयर स्वामित्व रहेको र चाँडै आइपिओमा जाने भन्दै सिद्धार्थ केवलकारको सेयरसमेत प्रभु केबलकारमा सुरुमै सेयर हुनेलाई प्रतिकित्ता १०० रुपैयाँ र नहुनेलाई प्रतिकित्ता १५० रुपैयाँमा बिक्री गरिएको पनि उजुरीमा उल्लेख छ । तर, सेयर खरिद गरेको लामो समय बितिसक्दा पनि केबलकारको प्रमाणपत्र उपलब्ध नगराइएको उजुरीकर्ताको भनाई छ ।

यहीबीच प्रभु केबलकारले मंसिर २१ गते पुनः म्यासेज पठाएर सिद्धार्थ केबलकारमा सेयर हुनेलाई १ः२.६३ का दरमा सेयर खरिद गर्न बाध्य पारिएको उजुरीकर्ताको आरोप छ । यसरी पटकपटक ऋण खोजेर आफूलाई प्रि-आइपिओका नाममा सेयर खरिद गर्न बाध्य पारिएको र यसबाट आर्थिक क्षतिसँगै मानसिक रुपमा तनाव दिइएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न र लगानीकर्ताको सम्पत्ति सुरक्षित गर्न उजुरीकर्ताले माग गरेका छन् ।

यता प्रि–आइपिओका नाममा ठगी गर्ने प्रवृत्ति बढेपछि धितोपत्र बोर्ड गैरकानूनी काम गर्ने कम्पनीको आइपिओ स्वीकृति रोक्ने लाइनमा छ । हाल उजुरी परेको प्रभु र सिद्धार्थ केबलकारको विषयमा अनुसन्धानमा लामो समय जाने भएकाले तत्काल आइपिओको स्वीकृति रोकिने सम्भावना रहेको बोर्डका एक अधिकारीले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK