काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपिओ स्वीकृति प्रक्रियामा अनुमतिका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले ९ करोड घुस खाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सन्तोष नारायाण श्रेष्ठलाई कुल ७ करोड, अन्यलाई मिलाउने भन्दै थप २ करोड गरेर कुल ९ करोड घुस श्रेष्ठले बुझेको र ग्लोबल आईएमई क्यापिटलका सीइओ मन्दिप लुईटेलले ५० लाख रुपैयाँ घुस बुझेको दाबीसहित अख्तियारमा उजुरी परेको हो ।
सो उजुरीमा ग्लोबल आईएमई क्यापिटलका सीइओ मन्दिप लुईटेलले संस्थागत लगानीकर्तालाई महँगोमा विड गर्न लगाएर ५० लाख घुस बुझेको दाबीसमेत गरिएको छ । महँगो बिडमा अन्य कम्पनीलाई सो सेयर किन्न लगाएर आफ्नो आगामी जागिर सुरक्षित गरेको र ५० लाख क्यास घुस लिएको आरोप लुईटेलमाथि छ ।
लुईटेलले सो घुस काठमाडौँको म्यारियट होटलमा भएको एक बैठकका क्रममा लुईटेलले बुझेको दाबीसमेत सो उजुरीमा गरिएको छ भने श्रेष्ठले सो घुस काठमाडौँस्थित हिमालयन सेक्युरिटीज लिमिटेडको कार्यालयमा गएर बुझेको उजुरीकर्ताको दाबी छ । सो कम्पनीको सिसिटिभी फुटेज जफत गरी सोको प्रमाण मिल्ने दाबीसमेत उजुरीमा गरिएको छ । यसरी, एउटा आईपीओ स्वीकृतिका लागि लुईटेलले ९ करोड ५० लाख रुपैयाँ घुस लिएको दाबी उजुरीमा गरिएको छ ।
अख्तियार स्रोतले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सो उजुरी दर्ता भएको पुष्टी गरेको छ ।
यता, उजुरीबारे आफुलाई थाहा नभएको दाबी बोर्ड अध्यक्ष श्रेष्ठले गरेका छन् । ‘त्यस्तो उजुरीबारे थाहा छैन । तर सबै काम अदालतको आदेश अनुसार नै भएको हो ।’ श्रेष्ठले भने ।
यो पनि
के भन्छन् बोर्डका अध्यक्ष ?
‘तपाईं विरुद्ध त ९ करोड घुस खाएर सो स्वीकृति दिएको आरोप रहेछ नि ?’ भन्ने हाम्रो प्रश्नमा श्रेष्ठले भने, ‘एक रुपैयाँ पनि कतै बाट लिएको छैन । म त्यस्तो गर्ने मान्छे पनि होइन । उजुरी परेपछि अनुसन्धान होला नि त, अनुसन्धान गर्नेलाई सबै कुरा भनौंला नि त ।’
श्रेष्ठले बुक बिल्डिङ प्रक्रियामा केहि कमी कमजोरी भने भएको स्वीकारे । ‘बुक बिल्डिङ प्रक्रियामा केहि कैफियत पक्कै छन् । अझ आइपीओ निष्कासनकै विषयमा पनि केहि लुपहोलहरु छन् । त्यसलाई ख्याल गरेर हामीले यस सम्बन्धित नियमावली नै परिवर्तन गर्दैछौँ ।’ श्रेष्ठले भने ।
यता ग्लोबल आईएमई क्यापिटलका सीइओ मन्दिप लुईटेलले आफुबाट घुस खाने काम हुनै नसक्ने दाबी गरे । ‘यो बिडिङ प्रक्रिया हुँदा म भर्खर ग्लोबल आईएमई क्यापिटल आएको थिएँ । त्यतिबेला भर्खर सीइओ भएको व्यक्तिले यस्तो काम के गर्न सक्छ र ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘नो वे’ !
यो पनि
यता रिलायन्स स्पिनिङ मिल्सको प्रोजेक्सन रिपोर्ट सर्टिफाई गर्ने चार्टर्ड एकाउन्टेन्ट फर्म एसएआर एसोसिएटसका पार्टनर अमन उप्रेती विरुद्ध पनि नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)मा उजुरी परेको छ । उप्रेतीले पैसाको लोभमा हुँदै नभएको प्रोजेक्सन गरेको दाबी गरिएको छ ।यता उप्रेतीले भने आइक्यानमा परेको उजुरीको आफुले जवाफ दिईसकेको दाबी गरेका छन् । ‘उजुरी परेको थियो । मैले त्यसको जवाफ दिईसकेँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उप्रेतीले भने, ‘अलि अगाडीको प्रोजेक्सन मैले गरेको हो । त्यसपछि त सो कम्पनीको काम गरेको पनि छैन ।
यो पनि








प्रतिक्रिया दिनुहोस्