काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ कम्पनी ‘चाइना सीएएमसी’ कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
चिनियाँ ऋणमा विमानस्थल बनाउनुपर्ने भएकाले निर्माणको ठेक्कामा चिनियाँ कम्पनीले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था थियो । सोही व्यवस्था अनुसार ठेक्काका लागि आवेदन दिएका नौ कम्पनीमध्ये पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीलाई दिइएको थियो ।
सन् २०१४ मा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको सम्झौता गरेको थियो ।
विमानस्थल निर्माणका क्रममा विमानस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने थियो । तर, चिनियाँ कम्पनी सीएएमसीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार सीएएमसीले उक्त कार्यका लागि मात्र ८० लाख अमेरिकी डलर छुट्याएको थियो । तर, त्यहीँको माटो र ग्राभेल प्रयोग गरेर कम्पनीले ठूलो रकम जोगाएको दाबी अख्तियारको छ ।
हाल अख्तियारले विमानस्थलमा भएको भ्रष्टाचारमा चिनियाँ कम्पनीको पनि संलग्नता रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उक्त मुद्दामा अख्तियारले पूर्वमन्त्रीसहित ५५ जनालाई विपक्षी बनाउने तयारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्