×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उठाएकै हुन् त कृपासुरले क्यासिनोबाट करोड

रातारात पर्यटनमन्त्री बन्ने सौभाग्य पाएका कृपासुर शेर्पाले पदबाट बाहिरिने बेला नेकपा (एमाले)लाई नै बदनाम पार्ने गरी काम गरेको आरोप लागेको छ । उनले खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा कडाइ गरिएको जुवाघर अर्थात क्यासिनो खुलाएर आम नेपाली जनताको उठीबास हुने मार्ग प्रशस्त पारेपछि उनमाथि प्रश्न उठेको छ ।

विदेशीलाई लक्षित गरिएको भने पनि अधिकांश क्यासिनोमा सेटिङ मिलाएर नेपालीलाई नै छिराउने काम भइरहेको छ । परिवर्तित नियमावली २०७० अनुसार हरेक क्यासिनोले अब नेपालीहरूलाई उठीबास बनाउन मात्र पाउँदैनन् राजस्व पनि भारी अंकमा नै तिनुपर्ने हुन्छ ।

त्यति मात्र होइन, हरेक कागजपत्र मिलाएर झन्झटिलो विधि पार गरेर मात्र क्यासिनो नवीकरण हुनसक्ने अवस्था छ । यस्तो बेला मन्त्री शेर्पाले राजेन्द्र बजगाईंले पेस गरेको किर्ते कागजातका आधारमा सांग्रिला क्यासिनो नवीकरण गरेका थिए भने पद छोड्ने अवस्था भइसकेको बेला आइतबार राति क्यासिनो प्राइडलाई सञ्चालनको अनुमति दिएका छन् । ह्यात रिजेन्सी होटलस्थित प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर नामक क्यासिनो सोमबारबाट सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आइतबार क्यासिनो सञ्चालन अनुमतिपत्र लिएको कम्पनीले सोमबारबाट जुवाखाल सुरु गरेको हो ।

सो क्यासिनोका तर्फबाट नेपाली व्यवसायी विनायक शाह र भारतीय तरुण खट्टरले संयुक्त रूपमा क्यासिनो सञ्चालन गरेका हुन् । यसअघि सो क्यासिनो क्यासिनो किङका रूपमा परिचित किशोर सिलवालले सञ्चालन गर्दै आएका थिए । नेपालका सबै क्यासिनो नयाँ मापदण्डअनुसार चलाउन नसक्ने भन्दै वैशाखदेखि बन्द अवस्थामा थिए ।

यसअघि क्यासिनोमा कार्यरत ६ सय मजदुरले अब प्रत्यक्ष रोजगारी पाए पनि पूर्वसञ्चालकका तर्फबाट तिनुपर्ने बक्यौता भने अझै मजदुरहरूले पाएका छैनन् । यसअघि सञ्चालक शाहले क्यासिनोको स्वीकृति खुलाउन करिब तीन महिना लामो प्रयास गर्दै आएका थिए । सुरुमा सदरका लागि आएको फाइल ‘ओल्टाइपल्टाई गर्दै कागजात पुगेन भनेर थन्क्याएर राखे पनि अन्ततः मन्त्री शेर्पा चामत्कारिक रूपमा कागजात पुगेको भनेर सदर गर्ने अवस्थामा पुगेको’ मन्त्रालय स्रोतले बतायो ।

नयाँ मापदण्डसँगै यसअघि सोल्टी होटलस्थित ‘महाजोङ क्यासिनो एमालेकै सचिव भीम आचार्य पर्यटनमन्त्री भएको बेला खुलाएका थिए भने मन्त्री शेर्पाले सांग्रिला र प्राइड क्यासिनो सञ्चालन अनुमति दिएका थिए । नेपालमा १० वटा पाँचतारे होटलमा क्यासिनो सञ्चालन छन् तीमध्ये काठमाडौँमा आठ र पोखरामा दुई वटा छन् भन्ने समाचार बुधबार साप्ताहिकले लेखेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: