Skip to content
LAXMI SUNRISE BANK

आइडी नम्बर २२७४ बारे Ground Zero: यस्तो छ ‘दिमाग रन्काउने’ घोटालाको नालीबेली !

अर्थ सरोकार

काठमाडौँ । विराटनगरको राजबंशी चोकमा रहेको सिटिजन्स बैंकको शाखामा बुधबार अर्थ सरोकारको टोली पुग्दा शाखामा सन्नाटा थियो । मान्छेहरु आक्कलझुक्कल मात्र देखिन्थे । आएकाहरु पनि आफ्नो पैसा सुरक्षित छ कि छैन भनेर सोधीखोजी मात्र गरिरहेका थिए । सिटिजन्स बैंकमा पटक-पटक विभिन्न खाले घोटाला भइरहने समाचार सुनेका मोरङबासी यसपटक आफ्नै क्षेत्रमा बैंकमा घोटाला भएको खबरले शशंकित थिए । अझ ‘फिक्स्ड डिपोजिट’ (मुद्दती निक्षेप)कै पैसा कर्मचारीले दुरुपयोग गरेको खबरपछि निक्षेपकर्तामा त्रास थियो । बैंकमा आएका सबैजसोले आफ्नो पैसाको स्थिति के छ भनेर सोधिरहेका थिए । यसपटक बैंकको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको खबरले निक्षेपकर्ताहरु शशंकित थिए ।

बैंकको शाखा नपुग्दै चोकचोकमा बैंकमा भएको घोटालाबारे चर्चा सुनिन्थ्यो । कोही भनिरहेका थिए- ‘यो बैंकमा घोटाला भइरहन्छ, केही समय अघि मात्र पनि एफवान सफ्ट भन्ने कम्पनीको करोडौँ रुपैयाँ बैंकबाट गायब भएको थियो ।’ कोही सम्झिरहेका थिए- ‘बैंक नै असुरक्षित भएपछि अव कसको विश्वास गर्ने ?’ कोही सोध्दै थिए, ‘मेरो १५ हजार छ, त्यो त केही भएको छैन होला है ।’ चिया गफमा रहेका स्थानीयलाई अर्का स्थानीय मोबाइलमा कसरी पैसा ट्रान्सफर गर्न सकिन्छ भन्ने सिकाउँदै थिए । चर्चै-चर्चामा कतिपय त ‘अव बालेनको सरकार आएपछि यस्तो गर्नेहरु सयौँ जेल जान्छन्’ भनेर गफिदै थिए ।

चोकको चर्चा सुनेपछि हामी बैंकको शाखा पुग्यौँ । अर्थ सरोकारको टोली आएको छ भन्ने थाहा पाउनेबित्तिकै बैंकको गेटैमा आए ब्रान्च मेनेजर- दुर्गा कार्की । हतासमा देखिएका उनी भन्दै थिए – ‘हामीले केही पनि बोल्न मिल्दैन ।’ घटना प्रहरीमा भएको र मिडियासँग नबोल्न भनेर केन्द्रीय कार्यालयबाटै ठाडो निर्देशन भएकाले आफुहरुले कुनै प्रतिक्रिया दिन नमिल्ने उनको तर्क थियो । ‘नारायणराज अधिकारी हाम्रो सूचना अधिकारी हुनुहुन्छ, उहाँलाई नै सोध्नुहोला ।’, यति भनेर उनी पन्छिए ।

घटनाबारे समाचारमा आएका केही औपचारिक जानकारी बाहेक बैंकले केही सूचना दिएन । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले पनि बैंकमा भएको रकम हिनामिनाको केस लिएर बैंक नै प्रहरीकहाँ पुगेको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ भन्ने मात्र जानकारी दिए । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बैंकको अडिट रिपोर्ट अध्ययन भइरहेको र दोषी देखिएका सबैमाथि कानुनी प्रक्रिया अधि बढ्ने बताए ।

हामी घटनाबारे थप तथ्य खोतल्दैथियौँ । यसैबीच हाम्रो सम्पर्कमा आए- बैंककै एक कर्मचारी । उनी भन्दै थिए, ‘फट्याई एउटाले गर्यो, सजाय सबैलाई दिईयो ।’ त्यसपछि उनले घटनाबारे सविस्तार खोले हामीसँग । ‘अर्थ सरोकारको नियमित रिडर (पाठक) हुँ, मेरो सेक्रेसी (गोपनियता)लाई जोगाईदिनुहोला ।’, हतासमै देखिएका उनले घटनाबारे हामीलाई सुनाए ।

उनका अनुसार बैंकमा अहिले बाहिर आएको बदमासी नौलो थिएन । ‘बैंकमा घोटाला भइरहन्छन् । धेरै काम यस्तो गर्न मिल्दैन भन्दाभन्दै पनि गरिन्छन् । बैंकमा कार्यरत रोजी कंडेलको नेतृत्वमा सो घटना भए पनि उनलाई यस्तो गर्न सिकाउने मान्छे बाहिरका छन् । सायद उनी पक्राउ परेपछि प्रहरीले अनुसन्धानमा यो सब खोतल्छ होला । बाहिर बैंकका कर्मचारी दोषी छन् कि भन्ने देखिए पनि यस्तो गलत काम गर्न सिकाउने र सो रकम प्रयोग गर्ने मान्छेहरु बैंकबाहिरका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

भएको खास के हो ?
घटना २ महिना अघिकै हो । बैंकले लण्डनमा ‘बैंक अफ दी एयर अवार्ड’ थाप्दै गर्दा यता बैंकमा भएको घोटाला सतहमा आउँदै थियो । बैंक आफू निरन्तर दोस्रोपटक पनि नेपालका बैंकहरुमध्ये उत्कृष्ट भएको भन्दै आफैँले खर्च गरेर लण्डन पुगी लिएको अवार्डको गुनगान गाउँदै थियो, यता बैंकको शाखामा करोडौँको घोटालाले बैंक हल्लिरहेको थियो ।

बैंकका ती कर्मचारीका अनुसार बैंककी अपरेसन इन्चार्ज रोजी कंडेलले निक्षेपकर्ताले राखेको फिक्स डिपोजिटको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गर्ने र रकम निकाल्ने गरेकी थिइन् । निक्षेपकर्ताले मुद्दती निक्षेपमा राखेको रकमलाई नै धितो मानेर कर्जा निकाल्न पाउँछन् । तर रोजी, सो निक्षेपकर्ताको अनुमति नै नलिई, सो निक्षेप उपर ऋणको फाइल खडा गर्थिन् र पैसा निकाल्थिन् । निक्षेपकर्ता बैंकमा पैसा राख्न आउँदा नै उनले आवश्यक कागजातको जोहो गर्थिन् । मुद्दती निक्षेप निश्चित समयका लागि राखिन्छ । ती कर्मचारीले उदाहरण दिँदै भने, ‘मानौँ कसैले १ बर्षका लागि फिक्स्ड डिपोजिट ल्यायो । उनी (रोजी कंडेल) सो निक्षेपको रकमलाई धितो मानेर कर्जाको फाइल खडा गर्थिन्, पैसा निकाल्थिन् र चलाउँथिन् । जव एक बर्ष हुनै लाग्छ, उनी सो रकम चुक्ता गरिदिन्थिन् ।

एक बर्षसम्म पैसा राखेकाले निक्षेपकर्तालाई पैसा र ब्याज बाहेक अरु कुराको चासो पनि हुँदैन थियो, थाहा पनि हुँदैन थियो । बैंकले हेर्दा निक्षेपकर्ताले पहिला मुद्दती निक्षेपमा पैसा राख्यो, त्यसपछि सो उपर ऋण लियो र समयमै तिर्यो भन्ने देखिन्थ्यो । पैसा चलाउनेले पनि पैसा सजिलै पायो, ब्याज तिर्छु भन्दा ऋण लिनका लागि थप झन्झट भएन ।

कंडेल यो केस बाहिर आउँदा बैंकको सुन्दरहरैंचास्थित सलकपुर शाखा कार्यालयमा सहायक पदमा कार्यरत थिईन् । ३५ वर्षीया कँडेल गत मंसिरमा सलकपुर शाखा सरुवा भएर गएकी थिइन् । उनी सरुवा भएर गए लगत्तै यो केस बाहिर आएको थियो ।

जव रोजीले बाहिर दिएको पैसा समयमा आएन, र मुद्दती निक्षेपमा पैसा राखेकाले आफुले लिँदै नलिएको ऋण चलाइएको छ भन्ने थाहा पाए र बैंकमा खबर गरे, तव रोजीको बदमासी सतहमा आयो ।

घटनाबारे बैंकको केन्द्रीय कार्यालयलाई समेत जानकारी दिईएपछि बैंकको इन्टरनल अडिट विभागबाट कर्मचारीहरु गएर यस बिषयमा केरकार गरे । रोजीको बदमासी लुकिरहन सकेन ।

बैंकले तयार गरेको प्रतिवेदन अनुसार रोजी कंडेलको युजर आइडी नम्बर २२७४ बाट यस्तो बदमासी धेरै भएको छ । उनी मात्र होइनन्, बैंकका अन्य कर्मचारी जोसेफ आचार्यको युजर आइडी ९३२, सोनीका राउतको युजर आइडी नम्बर ८७ र बैंकका तत्कालीन शाखा प्रबन्धक अभिषेक अग्रवालको युजर आइडी ४७२ बाटसमेतको प्रयोग गरी नक्कली फाइल खडा गर्ने काम भएको छ । तर, अरुको आइडी पनि कंडेलले नै चलाएको वा अरुको पनि मिलेमतो भएको भन्ने विषयमा तर्क बाझिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गर्ने तयारी गरेको छ । कंडेलमात्र होइन, उनीहरुसहित बैंकका ९ कर्मचारीहरुलाई यो बदमासीको अनुसन्धानका लागि बैंकले निलम्बन गरेको छ । बैंकले निलम्बन गरेकाहरुमध्ये दोषी ठहर भएकाहरु कानुनी सजायको भागिदार हुनेछन् भने बाँकी अरुहरुलाई कि बैंक छाड्ने कि जागिर खाई नै रहने विकल्प हुनेछ ।

‘बैंकले सुरुमै प्रहरी गुहारेन, पैसा असुल नभएपछि मात्र जाहेरी दियो’
बैंकका निलम्बित कर्मचारीका अनुसार बैंकभित्र झन्डै ५ करोड घोटाला भएको थाहा पाउनेबित्तिकै बैंक प्रहरीसम्म पुगेन । बरु, सो रकम उठाउने र यो केसलाई भित्रै सेटल गर्ने रणनीति बैंकको थियो । ‘माथि सीइओ सरले नै पनि, पैसा उठाउनु, अनि राजिनामा गर्न लगाउनू’ भन्ने आदेश दिनुभएको कुरा सुनिएको थियो । सोहि अनुसार पैसा असुल गर्ने काममा लागियो । बैंकलाई घाटा भएको देखिएको रकम दामासाहीले बाँढेर असुल गर्नुपर्ने निर्देशन केन्द्रीय कार्यालयको थियो । कसैले केही लाख रुपैयाँ ल्याएर बैंकमा बुझाए, बैंक रोजी कंडेलसम्म मात्र होइन, रोजी कंडेलको परिवारसम्म पुग्यो । कर्मचारीका अनुसार बैंकले नै कागज तयार गरेर कर्मचारीहरुलाई सहि छाप गर्न लगाएको थियो । जसमा निश्चित समयभित्र पैसा तिर्ने भनिएको थियो । पैसा असुल गर्ने र सो केस बाहिर नलैजाने सहमति भएको थियो ।

फेक फाइलहरु खडा गरेर ऋण जारी भएको देखिएपछि कँडेललाई बैंकले स्पष्टीकरण सोधेको थियो । गत फागुन १२ गते स्पष्टीकरणसँगै आफ्नो रकाम असुल गर्न भन्दै बैंकले रोजीका ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित कुल १ बिघा १२ कट्ठा ६ धुर जग्गा बैंकको नाममा रोक्का गरेको थियो ।

कंडेलको परिवारले मोरङको रंगेली नगरपालिका दर्वेसा ५(५ख) कित्ता नम्बर २२ को ०-१४-६-० क्षेत्रफल, यसैगरी दर्वेशा ३ (ग) कित्ता नम्बर ४६७ को ०-८-७-२, ३(ग) कित्ता नम्बर ५४४ को ०-६-१८-० क्षेत्रफल र दर्वेशा ३(ग) कित्तानम्बर ४६५ को ०-२-१५-२ क्षेत्रफलको जग्गा धितोमा राखेको छ । २०८२ माघ १८ र फागुन २६ गते यी जग्गाको धितो दृष्टिबन्धक लिखत रजिष्ट्रेसन पारित गरेर रोक्का गरिएको छ । र त्यसको भोलिपल्टै अर्थात २७ गते बाँकी प्रक्रिया पूरा गरी बैंकले कंडेललाई फागुन २८ गते बर्खास्त गरेको देखिन्छ ।

तर, बैंकको नाममा जग्गा रोक्का हुने बित्तिकै कंडेललाई १५ दिन भित्र पैसा तिर्न भनियो । उनले सो समयभित्र पैसा तिर्न नसकेपछि बैंक प्रहरीसम्म पुग्यो । अन्य कर्मचारीले पनि पक्राउ परिने डरले बैंकमा जनही २० लाख रुपैयाँ जम्मा गरिसकेका छन् । यसरी २०-२० लाख रुपैयाँ बुझाउनेमा दुई कर्मचारी एलिना श्रेष्ठ र उत्सव अधिकारी छन् । उनीहरुलाई पनि बैंकले निलम्बन गरिसकेको छ ।

रोजीको परिवार र बैंकबीच पैसा लिनेदिने सहमति भएको, सोहि अनुसार, रोजीको परिवारको नाममा रहेको जग्गा रोक्का गरिएको तर, समयमा असुल गर्नुपर्ने रकम असुल नभएपछि बल्ल बैंक प्रहरीकहाँ पुगेको ती कर्मचारीको दाबी छ । ‘बैंकले समयसिमा दिएको थियो । सोहि अनुसार कागज पनि गरिएको थियो । सो समय भित्र सबै पैसा चुक्ता नभएपछि बैंक प्रहरीसम्म पुग्यो ।’ बैंकका ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यसअघि नक्कली सर्टिफिकेट देखाएर जागिर खानेहरुलाई पनि बैंकले राजिनामा देऊ, प्रहरीकहाँ जाँदैनौँ भनेर छोडीदिएको थियो । बैंकका अन्य शाखामा भएको घोटालामा पनि पैसा बुझाऊ, जागिर छाड’ भन्ने शैलीमा बैंकको केन्द्रीय कार्यालय थियो । अन्य थुप्रै शाखामा पनि पहिला बदमासी गर्ने, थाहा नभए भईहाल्यो, थाहा भए बैंकको पैसा तिर्ने जागिर छाड्ने भन्ने आत्मविश्वास बैंकका कर्मचारीमा थियो । जागिर छोड्नु परे मै जागिर दिन्छु भनेर उकास्ने काम हुँदा, बैंकको कमजोर कानुनी रणनीतिले बैंकलाई डुबायो ।’

९ जना निलम्बित भईसकेका छन् भने रोजी लगायतका बदमासीमा सिधा संलग्नता देखिएकाहरुलाई बैंकले बर्खास्त गरिसकेको छ ।

सहमतिविपरित प्रहरीकहाँ पुगेको भन्दै उल्टै सीइओविरुद्ध मुद्धा !
बैंक र रोजी कंडेलबीच घोटाला भएको रकम लिनेदिनेबारे कागज गरिएको थियो । समय सिमा दिएर दिनभित्र रकम दिने भनेर रोजीको परिवारको जग्गासमेत रोक्का गरिएको थियो । तर, बैंक पैसा तिर्छु भन्दाभन्दै पनि प्रहरीकहाँ पुगेको भन्दै कंडेलले बैंकका सीइओ गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी र शाखा प्रबन्धक अभिषेक अग्रवालविरुद्ध मुद्दा हालेकी छन् ।

मोरङका प्रहरी उपरीक्षक कबित कटुवाल उजुरी प्राप्त भएपनि कंडेलका बाबु कंडेललाई पक्राउ अनुमति लिनु अगावै अदालत गएकाले पक्राउ पूर्जी जारी नभईसकेको बताउँछन् । अदालतमा कंडेलले जिल्ला प्रहरी कार्यालय मोरङलाईसमेत विपक्षी बनाएका छन् । उच्च अदालात बिराटनगरमा दायर गरिएको सो मुद्धामा तत्काल कंडेललाई पक्राउ नगर्न / नगराउन अन्तरिम आदेश माग गरिएको छ । विपक्षीतर्फका परिवारका सदस्य भने बैंकले तयार पारेको लिखत नै पढ्न नदिएको दावी गरिरहेका छन् ।

रोजीमाथि मात्रै टार्गेट किन ?
घटनाको प्रकृति हेर्दा अन्य कर्मचारीको युजर आइडीसमेत प्रयोग भएको छ । बैंकबाट ऋण जारी गर्दा शाखा, प्रदेश हुँदै केन्द्रीय कार्यालयसम्म कोर बैंकिङ सिष्टम लिंक हुन्छ । शाखाका प्रमुख, प्रदेशका र केन्द्रीय कार्यालयका कर्मचारी समेतको संलग्नता हुनसक्ने आशंका गर्ने ठाउँ हुँदा हुँदै पनि कंडेललाई मात्र विपक्षी बनाएर जाहेरी दिने काम बैंकले गरेको छ । यता बैंक भने कंडेलले सबै जिम्मेवारी लिएकाले उनीविरुद्ध मात्र जाहेरी दिएको तर्क गर्छ ।

कन्चनबारी शाखामा भएको अपचलनमा ‘मेकर र टेकर अथोरिटी’ मा फरक आइडी प्रयोग भएका छन् । अर्थात, जसले ऋण जारी गर्नका लागि फाइल खडा गर्ने र ऋण जारी गर्नेको आइडी फरक छ । तर सो दुवै काम पासवर्ड दुरुपयोग गरी कंडेलले नै गरेको कुरा कंडेलले स्वीकार गरेकाले उनीविरुद्ध मात्र जाहेरी दिएको दाबी बैंकको छ । तर कंडेलको दाबीलाई मात्र पत्याएर बैंकले अरुमाथि अनुसन्धान नै नहुने खालको लाइन लिएको देखिएको अन्य कर्मचारीहरुको दाबी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK