
विश्वमा अनेकौं यस्ता होटल छन्, जसले पर्यटकलाई आकर्षित गर्नका लागि अनौठो उपाय अपनाएका छन् । कुनै होटल रुखमा बनाइएको छ भने कुनै होटल जंगलमा त कुनै पानीमा ।
स्विटजरल्णडमा भने त्योभन्दा पनि फरक शैलीमा एउटा होटल संचालन भइरहेको छ जसमा न भित्ता छ, नत छत नै छ । होटलमा प्रवेश गर्न कुनै ढोका पार गर्नुपर्दैन, न त सिंढी नै चढ्नु पर्दछ ।

यो होटलमा आउने पाहुना खुला आकाशमुनी सुत्नु पर्नेछ । अर्थात्, होटल कुनै भवनमा नभएर एउटा चौरमा छ जहाँ पाहुनाका लागि एउटा ओछ्यानको मात्र बन्दोबस्त गरिएको छ ।

‘जीरो स्टार’ भनिएको यो होटलमा एउटामात्र बेड छ, त्यो पनि खुला आकाशमुनी । अल्प्स पर्वतमा रहेको यो होटल समुद्री सतहबाट ६ हजार ४ सय ६३ फिट माथि छ । अचम्म त यो छ कि यो होटलमा बाथरुम र शौचालय पनि सहज छैन । नजिकको सार्वजनिक शौचालयमा जान कम्तीमा १० मिनेट समय लाग्छ ।

यो होटलमा एक रात बिताउन ३ सय ५९ डलर तिर्नुपर्ने हुन्छ । पाहुनाका लागि नजिकैको गाउँबाट होटलका कर्मचारीले खानाको प्रवन्ध गरिदिन्छन् ।
