

काठमाडौं – नेपालमा सञ्चालित आठवटा क्यासिनोहरुले झण्डै एक अर्ब ३३ करोड रुपैयाँ राजस्व हाकाहाकी ठग्ने प्रयास गरिरहेका छन् तर त्यसलाई कानुनी दायरामा ल्याएर उठाउन राजस्व प्रशासन जानी जानी आनाकानी गरिरहेको पाइएको छ । होटल अन्नपूर्णमा अन्नपूर्ण इन्टरनेशनल प्रालिको नाममा तप्तबहादुर विष्टले सञ्चालन गरेको क्यासिनो अन्नाले ११ करोड ६९ लाख १५ हजार एक सय ७५ रुपैयाँ क्यासिनो रोयल्टी तिर्न बाँकी रहेको छ । विष्टले सरकारलाई तिर्नुपर्ने उक्त रकम तिर्ने छाँटकाँट समेत देखाएका छैनन् । उनले चलाएको क्यासिनो अन्ना बन्द भइसकेको छ । भूकम्पपछि भवन भत्काएर काठपात पनि बेचबिखन गरिसकेका छन् । तर विष्टले उक्त क्यासिनो रोयल्टीमध्येको एक रुपैयाँ पनि तिरेका छ्रैनन् । उनी अहिले पनि राजधानीमै छन् । होटल मल्लमा अर्को क्यासिनो खोलेर उनी बसेका छन् । सोही होटल मल्लमा सरविन्दु मल्लले सञ्चालन गरेको क्यासिनोले सरकारलाई तिर्नुपर्ने ७ करोड ६५ लाख सात हजार पाँच सय ३८ रुपैयाँ वर्षौँदेखि बुझाएको छैन । त्यही ठाउँमा विष्टले मिलेमतोमा अर्को नाममा क्यासिनो खोलेर सञ्चालन गर्दा प्रहरी प्रशासन उनीहरुकै सहयोगी बनेको छ ।
होटल एभरेस्ट इन्टरनेशनल लिमिटेडका सञ्चालक मसकुर अहमद लारीले सञ्चालन गरेको क्यासिनोले सरकारलाई तिर्नुपर्ने १० करोड ३५ लाख ६२ हजार पाँच सय रुपैयाँ तिरेको छैन । २०७२ वैशाख १२ को भूकम्पपछि लारीले पारिवारिक अंश विवादका कारण भूकम्पको बहाना बनाई रातो स्टिकर लगाउन लगाएर होटल बन्द गरे । भारतको उत्तर प्रदेशबाट काठमाडौं आएर होटल र क्यासिनो सञ्चालन गर्दै आएका धन्दावाल दारुवाला लारीले चल सम्पत्ति जन्मस्थान पु¥याइसकेको आशंका छ तर उनले तिर्नुपर्ने क्यासिनो रोयल्टीमध्ये चुनदाम पनि बुझाएका छैनन् । आरडी टटलले चलाएको नेपाल रिक्रिएसन सेन्टर कब्जा गरेर सोल्टी होटलमा दिनेश बहादुर विष्टले चलाएको क्यासिनोले पनि छ करोड १३ लाख ३३ हजार तीन सय ३२ रुपैयाँ क्यासिनो रोयल्टी बुझाउन बाँकी छ ।
होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनोका सञ्चालक राधेश्याम सर्राफले सरकारलाई तिर्नुपर्ने ११ करोड ७५ लाख ५० हजार रुपैयाँ क्यासिनो रोयल्टी बुझाएका छैनन् । उनी पनि काठमाडौंमै छन् तर सरकारले उक्त बक्यौता उठाउन पहल समेत गरेको छैन । सर्राफको होटलको स्वामित्वको घरजमिन कब्जा गरेर क्यासिनो चलाउने व्यक्तिहरुले डकैतीको शैलीमा क्यासिनो सञ्चालन गरिरहेका छन् तर प्रहरी प्रशासन रोयल्टी बक्यौता उठाउने कार्यमा सहयोग गर्नेभन्दा पनि राजस्व नतिर्नेकै सहयोगी बनेका देखिएका छन् । नेपालमा क्यसिनोको जन्मदाता मानिने आरडी टटलले एकाउन्टेन्ट बनाएर राखेका तर पछि नेपाल रिक्रिएसन सेन्टर प्रालि कब्जा गरेर टटललाई नै जबर्जस्ती हटाएर रिक्रिएसन सेन्टर कब्जा गरेका भारतीय नागरिक राकेश बाध्वाले ५३ करोड ५० लाख ३३ हजार नौ सय २७ रुपैयाँ क्यासिनो रोयल्टी बुझाउन बाँकी छ ।
सरकारले बाध्वालाई जसरी संरक्षण गरेर टटललाई विस्थापित ग¥यो, त्यसैका कारण अहिले क्यासिनोमा दादागिरी मौलाएको हो । राकेश बाध्वा पनि भारत फर्किसकेको छ । सुरेन्द्र बहादुर सिंहले दादागिरीकै भरमा चलाएको ह्याप्पी आवर प्रालिले छ करोड ९३ लाख २७ हजार पाँच सय क्यासिनो रोयल्टी बुझाएका छ्रैनन् । उनी अहिले पनि काठमाडौंमै छन् । प्रहरीको संरक्षणमा गुण्डागर्दी गरेर लुट मच्चाइरहेका छन् । दि फूलबारीका सञ्चालक पीयुष बहादुर अमात्यले २४ करोड ६६ लाख ६४ हजार चार सय ८२ रुपैयाँ क्यासिनो रोयल्टी बुझाएका छैनन् । उनी आफ्ना व्यापार व्यवसाय भान्जाभतिजालाई जिम्मा लगाएर आफू आर्थिक रुपमा टाट पल्टिएको भनेर बसेका छन् । दुई/चार लाख राजस्व नतिर्नेलाई धरपकड गर्ने राजस्व प्रशासनले करोडौँ करोड रुपैयाँ नतिरेर दिनदहाडै हाकाहाकी ठग्ने यी महाठगहरुलाई कुनै कारबाही अघि नबढाउनुले राजस्वका अधिकारीहरुको समेत भित्री मिलेमतो रहेको आशंका गर्न थालिएको छ । महालेखा नियन्त्रक कार्यालयले बेरुजुको लगत कसेर उक्त फाइल थन्क्याउनुबाहेक सरकारी तवरबाट कुनै काम कारबाही अघि बढाएको छैन ।
- आर्थिक दैनिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्