काठमाडौँ – सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यसवर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् ।
पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका छन् ।
मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए ।
२०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् । २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो ।
नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो हेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ ।
घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रुपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् ।
- अन्नपूर्ण पोस्टबाट