×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी भन्छ– केपी ओली र लोकमान मिलेर प्रचण्डलाई अपदस्थ गर्न खोजे

LAXMI SUNRISE BANK

माओवादी भन्छ– केपी ओली र लोकमान मिलेर प्रचण्डलाई अपदस्थ गर्न खोजे

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका एक वरिष्ठ नेताले प्रमुख विपक्षी एमालेले माओवादी लडाकु शिविरमा भएको भनिएको आर्थिक हिनामिनाको कुरा चर्काएर आफ्नो पार्टी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बदनाम गराउने नियोजित चालबाजी रचेको आरोप लगाएका छन् ।
नेता हरिबोल गजुरेलले एमालेको उक्साटमा अख्तियार प्रमुख लोकमानसिंक कार्कीले शिविर घोटालामा आफ्ना नेतामाथि कारबाहीको धम्की दिएको बताए । एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि लोकमानले हतारहतार पत्रकार सम्मेलन गराएर शिविर घोटालाको विषय बाहिर ल्याएको दाबी उनको छ । पूर्ववर्ती केपी ओली सरकारका कृषिमन्त्रीसमेत रहेका गजुरेलले ओली र लोकमान मिलेर सरकार अपदस्थ गर्नेसम्मको दुस्प्रयास गरेको जिकिर गरे । ‘केपी ओलीले सत्ताबाट हट्नुपर्दाको पीडा अझै बिर्सन सकेका छैनन्, पोखरीबाट बाहिर निकालिएको माछाजस्तो छट्पटिएर हिंडेका छन्’, गजुलले काठमाण्डु टुडेसँग भने, ‘प्रचण्डको सरकार अपदस्थ गर्न पाए आफू फेरि सत्तामा पुगिन्थ्यो कि भन्ने फोहोरी राजनीतिमा ओलीजी हुनुहुन्छ ।’ एमाले ‘सत्ताका लागि जे पनि गर्ने जात’ भन्दै गजुरेलले प्रधानमन्त्री अपदस्थ गर्ने चालबाजी सफल नहुने जिकिर गरे ।
अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रधानसेनापति प्रकरण गराएर माओवादीलाई सत्ताबाहिर ल्याउन सफल भएजस्तै यसपटक पनि एमालेले त्यस्तै प्रयास गरिरहेको दाबी उनको छ । ‘दुनियाँलाई थाहा छ, रुक्मांगत कटवाललाई कारबाही गर्ने सहमति जनाएर चीन गएका एमाले अध्यझ झलनाथ खनालले कारबाहीपछि स्वदेश फर्किएर राष्ट्रपतिलाई बिन्तीपत्र चढाउने पहिलो हस्ताक्षरकर्ता हुन्’, गजुरेलले भने, ‘यसपटक पनि लोकमानलाई उछालेर फेरि त्यस्तै गर्न पाइन्छ कि भन्ने सोचमा उहाँहरु हुनुहुन्छ ।’
ओली एण्टी माओइष्ट
गजुरेलले एमाले अध्यक्ष ओली पहिल्यैदेखि ‘एण्टी माओइस्ट’ भएको र अहिले पनि उनको त्यो चरित्र नगएको बताए । काँग्रेसले संविधान जारी गर्नुअघि १८ बुँदे सहमतिसँगै भएको ‘भद्र’ सहमति उल्लंघन गरेकाले बाध्य भएर ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपरेको उनले बताए । ‘प्रधानमन्त्री बन्नुपरेकाले मात्र बीचमा केही नरमजस्तो देखिएको हो’, गजुरेलले भने, ‘सकेको भए हामीलाई जनयुद्धमै सिध्याउन खोजेका थिए, ओलीजीमा एण्टी माओइस्ट विचार ज्यादै नै हाबी छ ।’ माओवादी सरकारमा गएको ओलीलाई मन नपरेको उनले जनाए । ओली पछिल्लो समय सरकार, अदालत, अख्तियारजस्ता राज्यका प्रमुख निकायबीच असमझदारी बढाएर राजनीतिक फाइदा उठाउने दाउमा लागेको टिप्पणी जगुरेलले गरे । सोही रणनीतिअनुसार सरकार प्रमुख र अख्तियार प्रमुखबीच लफडा सिर्जना गराउन ओली लागेको उनको आरोप छ ।
सत्ता छाड्नै मुडमै थिएनन्
गजुरेलले आफू पनि ओली सरकारमा नौ महिना मन्त्री भएर काम गरेको भन्दै उनको नक्कली राष्ट्रवाद, सस्तो लोकप्रियताका लागि गर्ने स्टण्डबारे राम्रोसँग जानकार रहेको बताए । काँग्रेस–माओवादी गठबन्धनले संसदमा अविश्वास प्रस्ताव दर्ता गराएपछि बहुमत गुमाएका ओलीले चुपचाप राजीनामा दिनुपर्नेमा सत्ता लम्ब्याउन गरेको कसरतबारे दुनियाँ बेखबर नरहेको उनको भनाइ छ । ‘सकेसम्म सत्ता नछाड्ने नै मानसिकतामा ओलीजी हुनुहुन्थ्यो’, खासमा ओली निरंकुश मानिस हुन् ।’ ओलीले नयाँ सरकार बन्ने व्यवस्था संविधानमै नरहेको जिकिर गरेर सत्ता लम्ब्याउन खोजेको तर, कसैको साथ नपाएपछि राजीनामा दिएको बताए । माओवादीसँग सत्ताबाट बाहिर आउनुपरेको बदला दिन जे पनि गर्ने मानसिकता ओलीमा रहेको बताए । ‘एमालेले सत्ताका लागि यो गर्छ, ऊ गर्छ भन्ने छैन, जे पनि गर्छ’, उनले भने ।
छानबिन गर्न लोकमानलाई चेतावनी
नेता गजुरेलले लडाकु शिविरमा आर्थिक अनियमितता भएको भए छानबिन गर्न अख्तियारलाई कसैले नरोकेको बताए । तर, जतिबेला माओवादीलाई अक्करमा पार्न सकिन्छ त्यतिबेला यो मुद्धा नउराल्न चेतावनी दिए । सर्वोच्च अदालतले नियुक्तिसम्बन्धी फाइल झिकाउन निर्देशन दिएपछि आत्तिएर लोकमानले माओवादीसँग बार्गेनिङका लागि शिविर घोटाला प्रकरण रचेको आरोप उनले लगाए । कुनै पनि मुलुकमा प्रधानमन्त्री राजकीय भ्रमणमा विदेश गएका बेला देशभित्र प्रधानमन्त्रीको आलोचनासमेत नगर्ने प्रचलन रहेको भन्दै उनले लोकमानले प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला घोटालाको छानबिन गर्ने हल्ला पिटाएर मुलुककै हुर्मत लिएको जिकिर उनले गरे । ‘आर्थिक अनियमितता भएको भए छानबिन गर्न हामीले कहिल्यै रोकेको छैनौं’, उनले भने, ‘तर, बार्गेनिङ चिप्सका रुपमा मात्र लडाकु शिविर घोटालाको कुरा आउने गरेको छ ।’
कारबाही नगर भनेको छैन
गजुरेलले प्रधानमन्त्री प्रचण्ड र लोकमानसिंह कार्कीबीच भेट भएको स्वकीबार गरे । प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर कार्कीसँग कुरा गरेको उनले जनाए । प्रधानमन्त्रीले आफू मुलुकबाहिर रहेका बेला त्यस्तो विषय किन उठाएको भनेर प्रश्न गरेको उनले सुनाए । तर, छानबिन रोक्न नभनेको दाबी गरे । ‘प्रधानमन्त्रीले आफू बाहिर रहेका बेला किन त्यस्तो गर्नुपरेको थियो भनेर सोध्नुभयो’, गजुरेलले भने, ‘तर, कारबाही नगर्नुस्, छानबिन नगर्नुस् भन्नुभएन ।’
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी