×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई दिल्लीमा ‘डुबाउने’ मा ऋषि धमला कि योगेन्द्र चौधरी ?

LAXMI SUNRISE BANK

प्रचण्डलाई दिल्लीमा ‘डुबाउने’ मा ऋषि धमला कि योगेन्द्र चौधरी ?

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका रेशम चौधरी भेटेको समाचार बाहिर आएपछि खैलाबैला मच्चियो ।
धेरैले ज्यान मुद्धाका फरार अभियुक्त भेटेको भन्दै प्रचण्डको आलोचना गरे । सामाजिक सञ्जालमा अझै विरोध रोकिएको छैन । चौधरी र प्रचण्ड बसेर कुराकानी गरेको तस्बीरसहितको समाचार आएपछि मात्र चौधरीले प्रचण्ड भेटेकाबारे उनीसँगै भारत गएका सचिवालयका सहयोगीले चाल पाए ।
भएको के थियो ?
प्रचण्डले गत ३० भदौदेखि २ असोजसम्म भारतको राजकीय भ्रमण गरे । १ असोजको साँझ नेपालका प्रधानमन्त्रीको सम्मानमा भारतीय उद्योगी–व्यसयायीले रात्रिभोज आयोजना गरेका थिए, दिल्ल्ीस्थित होटल ताज प्यालेसमा । सँगै दुई देशका व्यवसायी र प्रधानमन्त्रीको अन्तरक्रिया पनि थियो । अन्तरक्रिया सकेर प्रधानमन्त्री होटलको लबीमा बसेका मात्र के थिए, एकजना दाह्री पालेका व्यक्ति नजिकै गए र नमस्कार गरे । उनले आफ्नो परिचय दिए । ‘म रेशम चौधरी । घर बर्दिया । कैलालीको टिकापुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेपछि यतै बस्दै आएको छु ।’ उनले आफू टिकापुर घटनामा संलग्न नरहेको दाबी प्रधानमन्त्री समक्ष गरेका थिए । चौधरीले टिकापुर घटना राजनीतिक भन्दै मन्त्रिपरिषदबाट आफूविरुद्धको मुद्धा फिर्ता गराइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
प्रचण्डलाई चौधरीले भेट्दा उनका अंगरक्षकहरु सँगै थिए । आफ्नै साथी मारेर भागेका चौधरीले सहजै प्रधानमन्त्री भेटेको देखेर उनीहरुको मुख रातो भएको थियो ।
ऋषि धमला र योगेन्द्र चौधरीबीच पोलापोल
स्रोतका अनुसार रेशमलाई प्रधानमन्त्री होटल ताज प्यालेसमा आउने कार्यक्रम र त्यसको समयबारे विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका सांसद् योगेन्द्र चौधरीले सूचना दिएका थिए । सांसद् चौधरीले नै रेशमलाई प्रचण्डसम्म लगेका थिए । सार्वजनिक भएको तस्बीरले पनि रेशमलाई प्रधानमन्त्रीसम्म लाने काम योगेन्द्रले नै गरेका थिए भन्ने प्रष्ट बुझिन्छ । रेशम प्रचण्डसँग आमने–सामने कुर्सीमा बसेका छन् ।
सांसद् चौधरी प्रचण्डको पछाडि ढाका टोपी लगाएर उभिएका छन् । तर, उनी आफूले फरार अभियुक्तलाई प्रधानमन्त्रीसँग भेटाएको अस्वीकार गर्छन् । उनले रेशमलाई ताज प्यालेस होटलमै चिनेको दाबी गरे । चौधरीले थारु–थारु भएकै आधारमा आफूले रेशमसँग प्रधानमन्त्रीको भेट गराएको आरोप लगाइएको बताए । ‘हाम्रो समाज नै साम्प्रदायिक सोचले ग्रस्त छ, हामी दुवै थारु भएको हुनाले पक्कै योगेन्द्रले भेटाइदियो भन्ने अड्कल काटेर मानिसहरुले मेरो बदनाम गरेका हुन्’, उनले काठमाण्डु टुडेसँग भने, ‘मैले रेशम चौधरीलाई त्यहीं चिनेको हुँ, त्यसअघि कहिल्यै भेटघाट र कुराकानी भएको थिएन, थारु हुनु नै मेरो अपराध हो भने भन्ने केही छैन ।’
सांसद चौधरीले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले रेशमलाई प्रधानमन्त्री भएको ठाउँसम्म लगेको आरोप लगाए । ‘मैले बुझेसम्म रेशमलाई पत्रकार ऋषि धमलाले भेटाएका हुन्’, चौधरीले भने ।
तर, धमला चौधरीको दाबी शतप्रतिशत झुठो भएको बताउँछन् । धमलाले उक्त आरोप सांसद् चौधरीमाथि नै फर्काए । प्रधानमन्त्रीको राजकीय भ्रमणका बेला फरार अभियुक्त भेटाउनु हुँदैन भन्ने ज्ञान आफूलाई बताएको धमलाले बताए । ‘म धेरैपटक प्रधानमन्त्रीहरुको भ्रमणमा भारत गएको छु, प्रधानमन्त्रीको कार्यतालिका नेपालमै तयार भएको गएको हुन्छ, त्यो बाहेक एक मिनेट कसैसँग भेट्ने वा कुरा गर्ने फुर्सद नै हुँदैन’, धमलाले भने, ‘यति कुरा ऋषि धमलालाई थाहा हुँदैन ? कोही मान्छेलाई प्रधानमन्त्री भेटाइदिन्छु भनेर म हिँड्छु ?’
धमलाले सांसद् चौधरीले नै रेशमलाई प्रधानमन्त्रीसँग भेटाइदिएको दाबी गरे । आफूले भेटघाट हुनुअगावै सांसद जस्तो व्यक्तिले फरार अभियुक्त लिएर हिंड्न नमिल्ने भनेर चौधरीलाई सचेत गराएको तर, उनले अटेरी गरेको धमलाले दाबी गरे । ‘पहिलो कुरा त राजकीय भ्रमणमा प्रधानमन्त्रीले तालिकामा नभएका कसैलाई भेट्ने चलन नै हुँदैन, दोश्रो कुरा यस्ता विवादित मान्छे बोकेर नहिंड्नुस भन्ने सुझाव दिएको थिएँ’, धमलाले भने, ‘योगेन्द्रले मेरो कुरा मानेनन्, उल्टै प्रधानमन्त्रीलाई नखाएको विष लाग्यो ।’
प्रधानमन्त्रीको सरकारी टोलीमा गएका चौधरीले प्रधानमन्त्रीलाई विवादमा तान्ने अनैतिक गतिविधि गरेको आरोप धमलाले लगाए । धमलाले प्रधानमन्त्रीलाई कसैको डिजाइनमा चौधरीले फसाएको दाबी गरे । ‘रेशमलाई प्रधानमन्त्रीसँग भेटाउनुपर्ने कारणै थिएन, तर नियोजित रुपमा फसाइयो’, उनले भने ।
के भन्छ प्रधानमन्त्रीको निजी सचिवालय ?
भ्रमण टोलीमै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले रेशम चौधरीलाई समय दिएर नभेटेको दाबी गरे । उनले भ्रमणको सम्पूर्ण सुरक्षा भारतीय सुरक्षाकर्मीले गर्ने भएकाले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीसँग कसले भेट्ने वा नभेट्ने भन्नेबारे आफूहरुलाई थाहा नहुने बताए । ‘होटलमा अन्तरक्रियापछि धेरै नेपाली प्रधानमन्त्री भेट्न आएका थिए, त्यही हुलमा रेशम चौधरी पनि पसेका रहेछन्’, आचार्यले भने, ‘कसैले अपराधीको ट्याग टाँसेर आएको हुँदैन, को अपराधी हो, को होइन भन्ने प्रधानमन्त्रीले हुलमुलमा कसरी चिन्ने ?’
आचार्यले यसअघि कहिल्यै नभेटेका मानिसलाई कसरी यो अपराधी भनेर पहिचान गर्ने भन्ने प्रश्न गरे । ‘प्रधानमन्त्रीले तीन करोड नेपाली चिन्नुपर्छ भन्ने तर्क गर्ने हो भने बेग्लै कुरा होला’, आचार्यले भने, ‘रेशम चौधरीलाई प्रधानमन्त्रीले पहिला कहिल्यै चिन्नुभएको र भेट्नुभएको थिएन, भेट्ने कार्यक्रम पनि थिएन ।’ सार्वजनिक भोजमा आएर भेटेको कुरालाई राजनीतिक रंग दिएर अनावश्यक रुपमा नउछाल्न उनले आग्रह गरे ।

को हुन् चौधरी ?
चौधरी गत वर्ष कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको जघन्य अपराधमा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा छन् । थारु आन्दोलनका क्रममा नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको भाला रोपेर क्रुरतापूर्वक हत्या गरिएको थियो । प्रहरी मार्ने हुलको नेतृत्व चौधरीले नै गरेका थिए । घटनापछि उनी भागेर दिल्लीमा बस्दै आएका छन् ।
चौधरी राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका उपाध्यक्ष हुन् । गम्भीर अपराधमा मुछिँदासमेत महतोले चौधरीमाथि कारबाही गरेका छैनन् । दोश्रो संविधानसभा निर्वाचमा चौधरी बर्दिया–१ बाट पराजित भएका थिए । चौधरीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कैलालीले सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्धा दायर गरेको छ । जिल्ला अदालत कैलालीले पक्राउका लागि वारेन्ट जारी गरेका चौधरी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन् ।

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी