×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजीपीले अमेरिकाबाटै फर्काए श्रेष्ठ र ज्ञावालीलाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईजीपीले अमेरिकाबाटै फर्काए श्रेष्ठ र ज्ञावालीलाई

४ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं— अपहरण र हुन्डी सञ्चालकलाई कारवाही प्रक्रिया थालेपछी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा तानिएका दुई प्रहरी उपरीक्षक (एसपी) प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको आदेशमा कार्यक्षेत्र फिर्ता भएका छन् ।
आफ्नो आदेशअनुसार अभियुक्त नछाड्ने भन्दै गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई आईजीपी अर्यालले बुधबारै कार्यक्षेत्रमा फिर्ता पठाएको राजधानी दैनिकले खबर छापेको छ । आईजीपीको अधिकारलाई चुनौती दिँदै गृहमन्त्री निधिले पर्सामा पक्राउ परेका हुन्डी कारोबारी र सिरहामा अपहरणकारीलाई कारबाही नगर्न दिएको आदेश पालना नगर्दा आईजीपी विदेशमा रहेका बेला पर्साका श्रेष्ठ र सिरहाका ज्ञवालीलाई कारबाहीस्वरूप तानिएको थियो ।
‘गृहमन्त्रीको आदेशमा उनीहरूलाई प्रधान कार्यालय तानिएको थाहा पाएपछि आईजीपी अर्यालले अमेरिकाबाटै एसपीलाई फोन गर्दै कार्यक्षेत्र जान निर्देशन दिएका हुन् । ‘तिमीहरू कार्यक्षेत्र जाऊ, गृहमन्त्रीसँग म आएर कुरा गर्छु,’ आईजीपी अर्यालको निर्देशन उद्धृत गर्दै प्रधान कार्यालयका एक अधिकारीले भने । प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ ।
आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेको ती अधिकारीको भनाइ छ ।
काममा राम्रो छवि बनाएका दुवै एसपीलाई आईजीपी अर्यालले मधेस आन्दोलनकै बेला जिल्ला प्रमुख बनाएर पठाएका थिए । आइतबार उनीहरूलाई ब्रिफिङका लागि भन्दै प्रधान कार्यालय बोलाइएको थियो । तर, उनीहरूलाई न त ब्रिफिङ लिइयो न त गृहमन्त्रीले नै भेट दिए । गृहमन्त्रीलाई भेट्न निमित्त आईजीपी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मासँगै पुगेका दुवै एसपीले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेर फर्केका थिए । राजनीतिक हस्तक्षेप नगर्ने भन्दै आएका निधिले धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेरै छाडेका थिए । पहिलोपटकको हस्तक्षेप सफल भएपछि मन्त्रीले दोस्रोपटक आईजीपी काठमाडौंमा हुँदै सरुवा गर्न निर्देशन दिएका थिए ।
एसपी श्रेष्ठ र ज्ञवालीले आफूले भनेको नमानेकै कारण सरुवा गर्न दबाब दिए पनि आईजीपी अर्यालले असम्भव भन्दै अमेरिका गएपछि निमित्त प्रमुख शर्मालाई दबाब दिएर प्रधान कार्यालय झिकाइएको थियो । उनीहरू काठमाडौं आएलगत्तै व्यापक विरोध भएको थियो । ‘राजनीतिक दलको भ्रातृ संगठन जसरी चल्ने यो २०५० सालतिरको प्रहरी संगठन होइन, अहिले ०७३ सालको प्रहरी संगठन हो, आईजीपीको अडान सही छ सरुवा भए पनि उनीहरूको नियमित सरुवा हुन्छ, आकस्मिक हुँदैन,’ प्रधान कार्यालयका अर्का अधिकृतले भने । एसपी श्रेष्ठसहितको टोलीले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो रकमसहित हुन्डी कारोबारी सन्तोष जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी