काठमाडौँ – एमालेले २९ असोजमा आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आतिथ्यताका लागि मधेसी मोर्चाका नेताहरुलाई निमन्त्रणा पठाएको छ ।
मोर्चामा रहेका संघीय समाजवादी फोरम, तमलोपा, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेस सदभावना, तराई मधेस सदभावना लगायत सबै मधेस केन्द्रित दलका अध्यक्ष, महासचिव, वरिष्ठ नेता र संसदीय दलका नेतालाई चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आमन्त्रण गरिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
अघिल्लो सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनको माग सुनुवाई नगरेको भन्दै मोर्चाका नेताहरु उनीसँग रुष्ट छन् ।
तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापान र शुभकामना कार्यक्रमलाई एमालेले हरेक वर्ष निरन्तर दिँदै आएको छ ।
- नयाँ पत्रिकाबाट