Skip to content
LAXMI SUNRISE BANK

ज्येष्ठ नागरिकलाई सुरक्षादिन प्रतिबद्ध रहेको सहरी विकास मन्त्रीले

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्दछ ।

मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवद्र्धनका लागि आफू जीवनभर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ संविधानले सबैको अधिकार सुरक्षित गरेको बताउँदै उनले असन्तुष्ट पक्षको भावना समेट्न संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा पनि गरे ।कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरुलाई सम्मानका साथ समाजका हरेक क्रियाकलापमा सहभागी गराउनुपर्ने बताए ।

समाज कल्याण परिषद्का कामु निर्देशक शिवकुमार बस्नेत, अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली, अपाङ्ग कोषका प्रतिनिधि गोपाल भण्डारी, अधिकारकर्मी कृष्णमुरारी भण्डारी र खेमनाथ उपाध्यायले ज्येष्ठ नागरिकलाई आफ्नै घरमा सम्मान र आदरकासाथ धर्म, कर्ममा क्रियाशील बनाउनुपर्ने बताउँदै त्यसका लागि समाजमा चेतनाको लहर फैलाउनुपर्ने बिचार व्यक्त गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK