
काठमाडौँ – नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ ।
सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन् । उनी उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई निकट मानिन्छन् । चितवनका भट्टराई उक्त पार्टीको भ्रातृसंगठन सामाजिक स्वयंसेवक नेपालको प्रस्तावित संयोजकसमेत हुन् ।
सशस्त्रको एआईजी हुँदा करिब दुई करोड रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) जोडेको आरोपसहित उनलाई पक्राउ गरिएको हो । ‘उहाँविरुद्ध भ्रष्टाचारको उजुरी थियो । त्यही उजुरीका बयानमा डाकिएका बेला पक्राउ गरी अख्तियारको हिरासतमा लिइएको छ’, अख्तियार उच्च स्रोतले भन्यो, ‘छानबिन सकिएको छ । अभियोगपत्र तयार गरी मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।’ अभियोगपत्रसहित भट्टराईलाई अदालत हाजिर गराउने तयारीमा अख्तियार छ । उनी कतै भाग्न नसकून् र प्रमाण नष्ट नहोस् भनेर हिरासतमा लिनुपरेको स्रोतले बतायो ।
सुरक्षा सेवामा प्रवेश गरेर अवकाश हुनुअघि २०७१ सम्मको जाँच अवधिका विभिन्न वर्षमा आफू र परिवारका सदस्यका नाममा चल-अचल सम्पत्ति खरिद एवं लगानी गरेको, परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएको, मनासिब कारणबिना हैसियतभन्दा बढी रकम आफू, पत्नी एवं अरू परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको, विभिन्न वित्तीय संस्था एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको छानबिन क्रममा भेटिएको अख्तियारको दाबी छ ।
- अन्नपूर्ण पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्