Skip to content
LAXMI SUNRISE BANK

अक्सिजन लगाएकी विरामीको सुजातालाई पत्र तपार्इंहरू छट्पटिएर मर्नुहुँदैन

अर्थ सरोकार

आदरणीय सुजाता कोईराला ज्यु,

नमस्कार ।

तपाईंलाई स्तन क्यान्सर भएको थाहा पाउदा अत्यन्तै दुस्ख लागेको छ । स्वास्थ्यको ख्याल गर्नुहोला । सरकार सग तपाईंले उपचारका लागि माग्नुभएको रकम सरकारले तत्काल उपलब्ध गाराओस । किनकी यो देशका लागि तपाईंको योगदान अमुल्य छ । हामीले घाँस(दाउरा, मेलापात, चुलो – चौको, खनजोत गरेर जीवन धानेबापत सरकारलाई तिरेको करको उच्च मुल्यांकन अनि बिबेकपुर्ण सदुपयोग तपाईं नेताहरूको बिदेशमा हुने उपचार मार्फत नै हुने न हो । नेता भए न हामी रहन्छौ । तपाईंहरु बाच्नुपर्छ । उपचार नपाएर , छट्पटीएर मर्नु हुँदैन ।

कोईराला ज्यु,

म अहिले ६ वर्ष भयो २४ घण्टा शिलिण्डरको अक्सिजन लगाएर दाम्लोमा बाधिएझै बसेको, म आजिवन साकाहारी रहे, पढे लेखेको छैन, उ बेला पढ्न जादा बा आमा र दाजुले छोरी पढाए पोईल जान्छे भनेर पढ्न दिनुभएन, लुकेर पढ्न जादा सिम्किनो खाइयो । पिडुलामा डाम बस्नेगरी ।

बरु गोठालो लागियो किनकी बा आमा, दाजु त्यसमै खुशी हुनुभयो । पढ्ने रहर मनमै रह्यो, बिहे भयो, बालबच्चा भए, दिनरात खेति किशानी गरे जीवन धान्न अनि बालबच्चा हुर्काउन । दाउरा बाल्ने चुलोको धुवाँ र प्रदुषणले मेरो यो हाल भयो ४० वर्षमै । मलाई सरकारको कुनै सहयोग चाहिदैन, बरु मर्छु, मलाई मृत्यु स्विकार्य छ, कुनैपनी क्षण यो निधो छ मेरो तर मर्नु अघि तपाईंलाई ५० हजार जति आर्थिक सहयोग गर्ने मेरो औधी रहर छ ।

यो रकमले म जस्तै २४ घण्टा कृतिम अक्सिजन लाएर बाच्नुपर्ने हरुकालागी सुपथ मुल्यमा अक्सिजन शिलिण्डर उपलब्ध हुने एउटा अक्सिजन प्लान्ट अनि सब्बै एक्कै ठाउँमा शुखस् दुख बाडेर हल्का भएर मर्न पाउने एउटा अक्सिजन प्रयोग गर्नेहरूको सामुहिक आश्रम वा केयर सेन्टरको स्थापनाको लागि काम गर्ने मेरो सोच थियो तर हिड्न डुल्न नै नसक्नेर नहुने भएपछि यो रहर पनि मनमै रह्यो । गुम्सियो । किनकी यो काममा सस्था दर्ता गर्न अनि मन्त्रालय धाउन म सक्ने अवस्थामै छैन । जीवन जटिल छ । शिलिण्डर र पाईप अनि त्यसमा अक्सिजन प्रवाह गराउने सम्यन्त्र र अक्सिजन पचाउने औषधिको डङुरले अस्तब्यस्त, भद्रगोल छ ।

मलाई थाहा छ यो रकमले तपाईंको रोग निको पार्न पुग्दैन तर म गरिब छु यो भन्दा ज्यादा सहयोग गर्ने भित्र मन भए पनि सम्भावना छैन । र हजुर स्वयम् मेरो सानो सहयोग ग्रहण गर्न आईदिनुभयो भने कृतज्ञ हुने थिए किनकी म अक्सिजनको पाईप छाडेर एक सेकेन्ड पनि कतै निस्कन सक्दिन, अक्सिजन शिलिण्डरको घ्याम्पो हल्लाउनै नसकिने हुँदा कतै जान पनि सम्भव छैन । गए श्वास जान्छ, मरिन्छ ।

तपाईंलाई यतिखेर पैसाको ठूलो खाचो छ, मेरो त आज हो कि भोलि ठेगान छैन जाने । टिकाटाला र दक्षिणा मार्फत जम्मा भएको ५० हजार तपाईंको उपचारमा सहयोग गर्न चाहन्छु ।

अरु धेरै दिदिबहिनी तथा दाजुभाई जो म जस्तै कुजो हुनुहुन्छ वहाँहरु सब्बैलाई पनि यो देशकी महान नेतृ सुजाता कोईराला ज्यु को उपचारका लागि आर्थिक सहयोग गरिदिई पुण्य पाउनुहुन नम्र निवेदन गर्दछु ।

  • कमला अर्याल 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK