
काठमाडौँ– चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो। चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी गराएको हो।
काठमाडौं र चीनको चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापित हुनु एक दिनअघि यस्तो निर्देशन बाहिर आएको हो। चीन सरकारले भारतमा हुने तिब्बती धार्मिक नेता दलाई लामाको कार्यक्रमलाई ध्यान दिएर यस्तो सर्कुलर जारी गरेको हुनसक्ने आशंका गरिएको छ । तर चिनियाँ सरकारी पक्षले यस्तो एडभाइजरी बाहिर नआएको र भित्र केही भए जानकारी नभएको बताएका छन्। ’गत वर्ष पनि चीनले छोटो समयका लागि यस्तै सर्कुलर जारी गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ’कूटनीतिक पहलपछि त्यो समाधान भएको थियो । अहिले पनि त्यही स्तरमा कुरा हुन आवश्यक छ।’
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीन सरकारले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सर्कुलर जारी गरेको आफूलाई जानकारी नभएको बताए । ’यो विषय नेपालबाट हल्लाका रूपमा आएकाले मैले बुझदा त्यस्तो सर्कुलर जारी भएको पाएको छैन,’ राजदूत पौड्यालले टेलिफोनमा भने, ‘ट्राभल एडभाइजरी जारी गर्ने काम भने भएको छैन।’
जारी गर्ने निकाय ’पब्लिक सेक्युरिटी ब्युरो र टुरिज्म ब्युरो’ ले यस्तो नगरेको राजदूत पौड्याललाई जानकारी दिएका छन् । पर्यटन क्षेत्रको विकासका लागि आफूले प्रयास गरिरहेको राजदूत पौड्यालले बताए। उनले आफूले ट्राभल ब्लगर, टुर अपरेटर्स र एयरलाइन्ससँग तीन दिनदेखि लगातार बैठक गरिरहेको र त्यस्तो जानकारी नदिइएकाले ट्राभल एडभाइजरी नआएको हुनसक्ने उनले बताए।
चेन्दुबाट सबभन्दा बढी पर्यटक भिययाउने उक्त निकायले त्यस्तो सन्देश दिएपछि ट्राभल क्षेत्रका नेपाली व्यवसायीहरू अत्तालिएका छन्। नेपाल आउने चिनियाँ पर्यटकहरूको भ्रमण कार्यक्रम रद्द भएको पनि पर्यटन क्षेत्रमा संलग्नहरूले बताएका छन्। नेपाली व्यवसायीहरूले गम्भीर हुँदै यस्तो चीनका लागि नेपाली राजदूत, पर्यटन बोर्ड र पर्यटनमन्त्री जीवनबहादुर शाहीसम्मलाई यो सूचनाका बारेमा जानकारी गराइसकेका छन्।
पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपक जोशीले धेरै टुर अपरेटरहरूले आफूलाई सोधिरहेको र कतिले भ्रमणहरू रद्द भएको सुनाएको बताए । पछिल्लो ११ महिनामा ७० हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आइसकेका छन् । ’यसलाई हामी सबैले गम्भीर रूपमा लिएर सल्टाउनुपर्छ,’ जोशीले भने, ’तर किन यसरी यो विषय आयो भन्नेमा पनि ख्याल गर्न आवश्यक छ ।’
चिनियाँ टोली पछिल्लो समय नेपालको कूटनीतिक शैलीप्रति बढी असन्तुष्ट भएको र त्यसमा ध्यान पुगोस् भन्दै भित्री रूपमा सन्देश दिन यो प्रक्रियामा लागेको हुनसक्ने बताइएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले पनि यस विषयमा आफूले बुझ्ने प्रयास गरिरहेको र बेइजिङस्थित दूतावासले बुझ्ने काम गरिरहेको बताए । चिनियाँ पर्यटनमा संलग्नहरूको ‘नेपाल ट्रिप विच्याट’ ले पनि यस्तो आन्तरिक विषयलाई बाहिर ल्याएको छ । शुक्रबार चेन्दुबाट काठमाडौं उडेको विमान पनि आधा खाली रहेको विच्याटमा उल्लेख छ ।
चीनले सन् २०१७ लाई नेपाल भ्रमण वर्षका रूपमै आफ्ना सरकारी अधिकारीलाई नेपाल पठाउने बताउँदै आएको थियो । पछिल्लो समय चिनियाँ सरकारी टोलीको नेपाल भ्रमण पनि बढिरहेको छ । यतिबेला चीनका तीन सरकारी टोली काठमाडौंमा छन् । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको टोली फर्केलगत्तै चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष ९सभामुख० बाइ मा चिलिनको टोली काठमाडौं आएको छ ।
चिनियाँ जनमुक्ति सेनाका कर्णेल लिओ ज्याम्लिङ पाङ नेतृत्वको सैन्य टोली पनि अहिले काठमाडौंमै छ । चिनियाँ कम्युनिस्ट पार्टी चेन्दुका सचिव टाङ लियाङ ची नेतृत्वको टोली शुक्रबार बिहान काठमाडौं आएको छ । उनले दुई सहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्झौतासमेत गरेका छन् । तर त्यही सहरको एजेन्सीले आफ्ना टुर अपरेटर्समार्फत नेपाल भ्रमण नगर्न आग्रह गरेको कान्तिपुर दैनिकमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्