
- लक्ष्मी दुलाल
१० बर्ष सशस्त्र युद्धदेखि यस नयाँ संविधान घोषणासम्म आईपुग्दाको सेरोफेरोमा हेर्ने हो भने वर्तमान स्थितिमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता प्राप्त गर्नुनै एक मुख्य उपलब्धि हो । यो संविधानलाई कार्यनयन गराई संस्थागत गराउन सक्नु भनेको पुर्णत: सहिदहरुको सपना साकार रुपमा स्थापित गर्नु हो । तर अझै बाँकी छ ।
अहिले संशोधन तथा कार्यनयनको पकृयामा जुन हलो अड्काउने काम गतिविधि देखा परेको छ, ती हिजोका परिवर्तन स्विकार्न नसक्ने यथास्थितिवादिहरु हुन् । आज तिनीहरु रणनीतिका साथ प्राप्त उपलब्धिहरुलाई तुहाउन अर्थात विफल बनाउनलाई लागि परेको देखिन्छ । विफल भएमा यसले मुलुकमा फेरि अर्को अप्रिय दुर्घटना निम्तिनेछ भनेर उत्तिकै खतराको बादल मडारिएको छ ।
हो, यहि उपलब्धि गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका मुल मर्म र भावलाई अंगालेर आर्थिक समृद्धि र भौतिक विकासको बाटोबाट मुलुकलाई अवतरण गराउने सपना र विश्वास बोकेर “नयाँ शक्ति” उदाएको छ । डा.बाबुराम भट्टराईको भिजन मुलुकको लागि एउटा अवसर हो । बाबुरामकै लागि पनि अर्को अवसर र चुनौती हो। उसले आफैँले चाहे जसरी काम गर्न पाउने प्रयोगशाला जस्तैनै हो ।
सशस्त्र क्रान्तिबाट जिम्मेवार भुमिका निर्वाह गरि सकेर आएको शक्तिनै “नयाँ शक्ति” हो तर सैद्धान्तिक कार्यशैलीमा भने भूमिका फरक रहने छ ।
सामाजिक वस्तुस्थिति हेर्दा अवको संघर्ष भनेको वार्गीय मुक्ति, आर्थिक क्रान्ति र भौतिक विकासनै हो । विगत र आजको पृष्ठभुमि सुन्दा एकै लागेपनि भूमिका फरक-फरक हो । सरल भाषामा भन्नुपर्दा बुलेटदेखि ब्यालेटसम्मको यात्रा हो । ब्यालेटको बाटोलेनै ती आर्थिक समृद्धि र विकासका सपनाहरुलाई स्थापित गराउन सम्भव राख्दछ ।

लेखिका अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानको अभियन्ता हुन् ।