
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग दुई ओटा जहाज खरीद गर्ने भएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जहाज खरीदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा अमेरिकी कम्पनीको जहाज खरीद गर्ने निर्णय गरेको बताए । उनले आइतवार नै अमेरिकी कम्पनीलाई आशयपत्र समेत पठाइएको जानकारी दिँदै केही दिनभित्रै अमेरिकी कम्पनी सम्पर्कमा आउने र जहाज खरीदको समग्र विषयमा छलफल हुने बताए ।
सरकारले निगमलाई जहाज खरीदका लागि जमानी बस्ने निर्णय यसअघि नै गरिसकेको छ । प्रबन्ध निर्देशक कंसाकारले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जहाज खरीदको विषयमा निर्णय गर्न निगमलाई यसअघि नै सहमति दिएको उल्लेख गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बैङ्क तथा वित्तीय संस्थाले समेत ऋण लगानी गर्ने वचन दिएको बताए ।
‘एउटा महत्वपूर्ण निर्णय गरिएको छ, मुलुकको आर्थिक समृद्धिका लागि ढोका खोल्न सामान्य प्रयास गरिएको छ । सबैको सकारात्मक सहयोग प्राप्त भएको छ । राष्ट्रिय ध्वजाबाहकले अब कोल्टे फेर्नेछ भन्ने विश्वास पैदा भएको छ’– प्रबन्ध निर्देशक कंसाकारले भने ।
अमेरिकी कम्पनीसँग प्राविधिक, व्यापारिक तथा जहाजको समग्र पक्षको बारेमा छलफल गरिने र खरीदको अन्तिम निर्णय गरिने उनको भनाइ छ । एएआर कर्पोरेशनले दिएको प्रस्ताव स्वीकृत भएपछि प्रारम्भिक सम्झौता गर्ने बाटो खुलेको जानकारी दिँदै उनले सन् २०१७ को सेप्टेम्बरसम्ममा पहिलो जहाज काठमाडौं ल्याउने गरी तयारी गरिएको बताए ।
अर्को जहाज भने सन् २०१८ को मार्चसम्म आइपुग्नेछ । कुल १० ओटा कम्पनीको प्रस्तावमध्ये अमेरिकी कम्पनीको प्रस्ताव नै निगमका लागि वस्तुनिष्ट र समयानुकूल रहेको प्राविधिक समितिले प्रतिवेदन दिएको थियो ।
निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०–२००’ जहाज खरीदका लागि आह्वान गरेको टेण्डरमा १० ओटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । प्रस्ताव गरिएकामध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको निगमका प्रबन्ध निर्देशक कंसाकारले बताए ।
उनले भने, ‘हामीले एक हजार घण्टासम्म उडेको भएपनि निगमलाई स्वीकार्य हुने भनेका थियौँ तर कम्पनीले नयाँ जहाज सस्तोमा उपलब्ध गराउने प्रस्ताव गर्यो ।’ निगमले दुईओटा एयर बसलाई रू। २५ अर्बसम्म पर्ने अनुमान गरेको छ ।
सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैङ्क, निजी क्षेत्रका बैङ्कले समेत लगानीका लागि चासो देखाएको र रकम प्राप्त हुने अवस्थाको समेत सुनिश्चित भइसकेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्