×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डपुत्र प्रकाशको आक्रामक अन्तर्वार्ता : लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

प्रचण्डपुत्र प्रकाशको आक्रामक अन्तर्वार्ता : लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ?

पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो बुबा प्रधानमन्त्री, छोरो स्वकीय सचिव हुने अवस्था भएको ? यो त गीरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ?
रुपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर, वास्तविकता त्यस्तो होइन । म पनि २०५४ सालदेखि निरन्तर माओवादी आन्दोलनमा छु । बाल्यकालदेखि सबै लगानी यही पार्टी र आन्दोलनमा छ । व्यक्तिगत करिअरका लागि कुरा सोचिएन, देश र जनताको सेवा गर्ने र क्रान्तिमै जीवन देख्ने अभियानमा लामवद्ध भएँ । यसरी हेर्दा मेरो व्यक्तिगत भूमिकालाई बुवाको सम्बन्धसँग जोडेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । माओवादी पार्टी र आन्दोलनमा मेरो जत्तिकै भूमिका निर्वाह गरेका साथीहरु मभन्दा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भन्ने यथार्थ पनि बिर्सन मिल्दैन । हिजो सम्पूर्ण कुरा छोडेर भूमिगत हुँदा योग्यता र सम्बन्धमा प्रश्न नउठ्ने, अहिले खुला राजनीतिमा आएपछि पारिवारिक सम्बन्धसँग जोड्ने कुरा सच्चा नियतको तर्क हो जस्तो लाग्दैन ।
दोस्रो कुरा म विगत १७ वर्षदेखि पार्टी अध्यक्षको सचिवालयमा छु । म जतिबेला बालुवाटारमा स्वकीय सचिवको रुपमा आएँ, त्यसभन्दा पहिला पार्टी अध्यक्षको सचिवालयमै बसेर काम गरेको थिएँ । बुवा प्रधानमन्त्री भएपछि पार्टी अध्यक्षको सचिवालयमा काम गरिरहेका साथीहरु प्रधानमन्त्रीको सचिवालयमा आउनु भयो, यसै सन्दर्भमा म पनि आएँ । अर्को कुरा पार्टी अध्यक्षको सचिवालयमा रहँदा म जुन भूमिकामा थिएँ, त्यो प्रधानमन्त्रीको सचिवालयमा रहँदा पनि उपयोगी ठानेर नै पार्टी निर्णयबमोजिम नै स्वकीय सचिवमा आएको हुँ । यसलाई बावु छोराको पारिवारिक सम्बन्धका आधारमा मात्रै हेर्नु न्यायोचित हुँदैन ।
व्यक्तिगत सन्दर्भहरु निकालेर तपाईंको आलोचना गर्नेहरु पार्टीभित्रै र बाहिर पनि धेरै छन् । यो कुरा बुवाको व्यक्तित्व र नेतृत्वसँग पनि जोडिने गर्छ । तपाईंकै कारण बुबा पनि आलोचित हुने स्थितिमा पिए बस्नेजस्तो कुराबाट पन्छिन मन लाग्दैन ?
व्यक्तिगत रुपमा गरिने टिका टिप्पणीतिर म जान चाहन्नँ । त्यसमाथि बहस गरिरहनु तुक पनि देख्दिनँ । सबै व्यक्तिमा गुण र दोष अवश्य नै हुन्छन्, त्यसबाट म पनि बिमूख छैन । तर, व्यक्तिको व्यक्तिगत जीवन र घटनाक्रमलाई सधैं सुनियोजित सोंचका साथ हेरिनु हुँदैन । जसरी माओवादी आन्दोलन, पार्टी र नेतृत्वलाई हेर्ने सन्दर्भमा नेपाली समाजमा दुई फरक दृष्टिकोण र धारणा छन्, त्यसको प्रभाव ममाथिको टिप्पणीमा पनि पर्ने गरेको छ । म स्वकीय सचिवालयमा रहरले आएको होइन । बुवा प्रधानमन्त्री भएपछि यसपटक उहाँको कार्यकाल सफल र नमूनायोग्य बनाउनुपर्छ भन्ने सोंचसहित आएको हुँ । म मेरो सोंचमा दृढ छु, व्यक्तिगत रुपमा गरिने टिप्पणीको पछि लागेर राष्ट्र र जनताको जिम्मेवारी भूल्दिनँ र भूल्नु पनि हुँदैन ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका अरु व्यक्तिहरु भूमिकाहीन भए, सबै काममा तपाईंको चासो र हस्तक्षेप बढी भयो भन्ने कुरा जिम्मेवार व्यक्तिबाटै हुने गरेको छ नि ।
मलाई त्यस्तो लाग्दैन । प्रधानमन्त्रीको सचिवालयमा सबैको स्पष्ट कार्यविभाजन छ । सबै साथीहरुले आफ्नो जिम्मेवारीको काम गरी रहनुभएको छ । व्यक्तिगत दक्षता र सीमा पनि होलान्, अनि कतिपय सन्दर्भमा जनताबाट आउने अपेक्षाको उपेक्षा गर्न पनि मिल्दैन । कहिलेकाहीँ जनताका समस्या तुरुन्तै समाधान गर्ने पहल लिँदा सबै कुरा नापतौल पनि नहोला । तर, हाम्रो सचिवालयमा कसैको अवमूल्यन, कसैको भूमिकामाथि हस्तक्षेप वा कोही भूमिकाहीन बन्नुपर्ने परिस्थिति छैन ।
संविधान संशोधन विधेयक अगाडि नबढाई स्थानीय निकायको निर्वाचन नगर्ने प्रधानमन्त्रीको अडान छ । तर, प्रतिपक्षी दलहरु संशोधन विधेयक फिर्ता वा थाँती नराखेसम्म सदन चल्न नदिनेमै छन् । प्रधानमन्त्रीचाहिँ संशोधन विधेयक असफल नै भए पनि टेबुल गर्नसम्म पाउनुपर्ने अडानमा हुनुहुन्छ । यस्तो अप्ठेरो अडान लिन प्रधानमन्त्रीलाई कहाँबाट दवाव वा कसको प्रभाव छ ?
पक्कै पनि राजनीतिक परिस्थिति अहिले पनि चुनौतिपूर्ण छ । प्रधानमन्त्रीको निरन्तर प्रयत्न संविधानको स्वीकार्यता बढाएर निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन गर्नेमै छ । मधेशी मोर्चा र प्रतिपक्षी दलका परस्परविरोधी अडानका बीचबाट समाधान खोज्ने कुरा चुनौतिपूर्ण र कलात्मक दुवै छ । प्रधानमन्त्री साझा सहमतिको बिन्दुका आधारमा संविधान कार्यान्वयनमा प्रयत्नशील हुनुहुन्छ । उहाँ कसैको दवाव वा प्रभावमा हुनुहुन्नँ । तर, राष्ट्रिय सहमति र एकताका लागि सबैको भावनाको सम्बोधन गर्दै अघि बढ्न उहाँ लचक हुनुहुन्छ । यो नै अहिलेको सन्दर्भमा राष्ट्रप्रतिको सही कदम पनि हो ।
हालै सार्वजनिक भएको प्रधानमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो भयो भनिँदैछ । किन त्यस्तो विवरण पेश भएको होला ? तपाईंकै नाममा पनि पोखरामा प्रकाश टावर, हजुरबुवाका नाममा नयाँ बानेश्वरको मुक्ति टावर बनेको चर्चा गरिन्छ । वास्तविकता के हो ?
यथार्थ त्यही हो । पत्याउने वा नपत्याउने व्यक्तिगत अधिकारको कुरा हो, यसमाथि कुनै टिप्पणी गर्नु छैन । तर, चिन्ताका साथ प्रधानमन्त्रीको सम्पत्ति बिवरणमाथि आशंका गर्नेहरुले प्रचण्डको समग्र जीवन, त्याग बलिदानीको इतिहास र इतिहासका कालखण्डमा उहाँले गरेका निर्णय पढ्ने र विश्लेषण गर्ने हिम्मत गर्नैपर्छ । बुवा माओवादी पार्टीको महामन्त्री र जनयुद्धको कमाण्डर हुनुहुन्थ्यो, पार्टीले नेताहरुको सम्पत्ति पार्टीकरण गर्ने सोंच पहिल्यैदेखि राखेको थियो । २०३५ सालसम्म हाम्रो ३ बिघा जमिन थियो । तर, युद्धको आर्थिक समस्या समाधान गर्न र सम्पत्ति पार्टीकरण गर्ने निर्णय कार्यान्वयन गर्न बुवाले सम्पत्ति बेचेर पार्टीमा खर्च गर्नुभएको थियो ।
२०५४ सालसम्म पुग्दा हाम्रो सम्पत्ति शिवनगरमा ६ कठ्ठा र भरतपुरमा १ कठ्ठा जमिन थियो । बुवाले २०५४ सालमै शिवनगरको ६ कठ्ठा जमिन छोराछोरीको नाममा र भरतपुरमा रहेको १ कठ्ठा जमिन आमाको नाममा अंशबण्डा गर्दिनुभएको थियो । अहिले बुवाले पेश गरेको १ कठ्ठाको सम्पत्ति बिवरण आमाको नाममा रहेको जमिन हो । यसबाहेक गरिएका तर्क, आशंका र प्रचारहरु माओवादी पार्टी, बुवा र हाम्रो परिवारको चरित्र हत्या गर्न र ‘पोलिटिकल ब्ल्याकमेलिङ’ गर्न अघि सारिएका नियोजित प्रचार हुन् । सार्वजनिक गरिए बाहेकको कुनै सम्पत्ति भएको कसैले प्रमाणित गर्न अनुरोध गर्छु ।
आजकल दुई–चार पेग पिउने क्रम बन्द छ कि जारी छ ?
नियमित पिउने बानी मेरो कहिल्यै पनि थिएन । एकपटक निदाएको बेलाको फोटो सार्वजनिक गरेर त्यसबाट मेरो चरित्रहत्या गर्ने कोशिस गरियो । म रक्सी पिउँदिन, त्यसबाट बिल्कूल अलग छु, शंकाले लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ?

सिर्जना त्रिपाठीसँग विवाह गरेर, छोरा जन्मिएपछि बीना मगरसँग सम्बन्ध राख्नुभयो, त्यो पनि लुकीछिपी । अहिले पत्नीकै रुपमा भित्राउनुभएको छ । यस्तो किन भयो ? सिर्जनालाई कानुनी रुपमा पत्नी स्वीकार्न र छोराको जन्मदर्ता गराइदिन कहाँ समस्या आयो ?
विगतमा मेरो तर्फबाट प्राविधिक कमजोरी भएको हो, जुन कुरा मैले सार्वजनिक रुपमै स्वीकार गरिसकेको छु । मेरो प्रष्ट मत छ, ‘कोही पनि अन्यायमा पर्नु हुँदैन । पारिवारिक मामिलामा जे गरेर दुवै पक्षलाई सहज र न्याय हुन्छ, त्यसका लागि म सधैं तयार छु ।’ समस्या आइसकेपछि त्यसको दीर्घकालीन समाधान खोजेर अघि बढ्नु नै उत्तम हुन्छ, यसलाई दाउपेच वा राजनीतिक लाभहानीको विषय नबनाएर उपर्युक्त निकासमा पुग्नुपर्छ भन्ने लाग्छ ।
 रेखा थापालाई तपाईंले ह्यारेस गरेर पार्टी छोड्ने स्थितिमा पुर्याएको चर्चा भयो । वास्तविकता के हो ?
जनयुद्धको राप र तापले रेखा थापाजस्ता लाखौं नेपालीहरु माओवादी आन्दोलनमा आउनुभयो । राजनीतिमा उतारचढाव आयो, उहाँहरुले सोचेजस्तो सबै कुरा सम्भव पनि भएन होला । राजनीति बक्र रेखामै अघि बढ्छ । जहाँसम्म रेखा थापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको छ, यो बिल्कूलै भ्रामक र कपोलकल्पित छ । रेखा थापालाई म बैनीको रुपमा माया र सम्मान गर्छु । उहाँले पनि यस विषयमा आफ्नो कुरा भनी सक्नुभएको छ । जसरी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर पत्रकारिताका नाममा गरिएको जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरु कानूनको दायरामा आउनुपर्छ र आउँछन् ।
प्रचण्ड रहँदासम्म पार्टीमा रहनुहोला, त्यसपछि तपाईंका विरोधीले बसिखान दिँदैन भन्छन्, तपाईंका आलोचकहरु । के लाग्छ ?
प्रचण्ड भएका कारणले मात्र म यो पार्टीमा छैन, मेरो आफ्नै रगत, पसिना र संघर्षका बलमा म माओवादी पार्टीमा छु, जसरी प्रचण्डसँग व्यक्तिगत नाता वा सम्बन्ध नभएका हजारौं योद्धाहरु छन् । जहाँसम्म मेरो भविष्यको कुरा छ, म मेरो संघर्ष र लक्ष्यमा बाँच्छु । माओवादी पार्टीमा दर्जनौं नेताहरु हुनुहुन्छ, लाखौं कार्यकर्ता र शुभचिन्तकहरु हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यकै आधारमा मेरो राजनीतिक जीवन अघि बढ्छ । मेरो कसैसँग नराम्रो सम्बन्ध हुनुपर्ने र हुने कुनै कारण छैन । म माओवादी आन्दोलन र परिवर्तनको अभियानमा निरन्तर लाग्छु, यसमा मलाई सबैको सहयोग र सद्भाव प्राप्त हुन्छ ।

प्रकाशले भित्रभित्रै सम्पत्ति थुपारेको छ भन्छन् । खासमा कति पैसा कमाउनु भएको छ ?
भित्रभित्रै सम्पत्ति थुपारेको थाहा पाउने साथीहरुले कहाँ, कति सम्पत्ति छ, प्रमाणसहित सार्वजनिक गरी दिनुभए आभारी हुन्छु । कसैमाथि अभियोग लगाएर भ्रमको खेती गर्नेहरुको कुनै औषधि हुँदैन । तर, आफ्नो भ्रमको धन्दा कति टिक्ला भन्ने चिन्ता गर्दा उहाँहरुकै हित होला कि ?
माओवादीहरु राजनीतिभन्दा बढी कमाउने, आफू बन्ने कुरामा केन्द्रित भएर बिग्रिए भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ?
माओवादी आन्दोलनमा आंशिक रुपमा समस्या छँदैछैन म भन्दिनँ । तर, माओवादी नेताहरुले समाजवाद र साम्यवादको आदर्श भुले, सबै कमाउ धन्दामै छन् भन्ने प्रचार सत्य होइन । जनता, वर्ग र लक्ष्यप्रति निष्ठा जीवित नभएको भए चौतर्फी हमला हुँदा पनि माओवादी आन्दोलन यो रुपमा रहन सम्भव थिएन । रुखको एउटा हाँगो सुक्दैमा सिङ्गो रुख नै सुक्यो भनेर अर्थ लगाउनु न्यायोचित हुँदैन । ‘तिललाई पहाड र पहाडलाई तिल’ बनाएर गरिएको प्रचार धेरै टिक्छ जस्तो लाग्दैन । माओवादी पार्टी र नेताहरु आफ्नो आदर्श र गन्तव्यप्रति अहिले पनि प्रतिवद्ध हुनुहुन्छ
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको अन्तर्वार्ता बुधवारको जनाआस्थामा प्रकाशित छ । अन्तर्वार्ता त्यहीँबाट साभार गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: