×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस सभापति शेरबहादुर देउवालाई खुल्लापत्र

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कांग्रेस सभापति शेरबहादुर देउवालाई खुल्लापत्र

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू, 
७० वर्षभन्दा लामो इतिहास भएको नेपाली कांग्रेस परिवारको सदस्यको हैसियतले मेरो तपाईंलाई अन्तिम जय नेपाल ।।
शेरबहादुर देउवाज्यू, तपाईं सायद डडेल्धुराको असीग्राममा बाल्यावस्थामै हुनुहुन्थ्यो होला । त्यतिबेला मेरो हजुरबुबा देशमा प्रजातन्त्रको निम्ति लडिरहनुभएको थियो । हजुरबुबाको देहावसानपछि मेरो बुबाले पनि कांग्रेसमार्फत देशका लागि कति लड्नु भयो र कति समस्या झेल्नुभयो । यतिसम्म कि आफू यो धर्तीबाट बिदा हुने बेलामा दिनुभएका थुप्रै अर्तीहरुमध्ये कांग्रेस पार्टीलाई कहिल्यै नछोड्नु भन्ने अन्तिम इच्छासमेत थियो । जुन कुरा मैले नजिकबाट भोगेको र नियालेको पनि छु, र त बुबाको पदचिह्नलाई मैले समेत पछ्याइरहेँ र कांग्रेसको इमानदार कार्यकर्ता भएर बसिरहेँ आजका दिनसम्म ।
तर मलाई आज आफू कांग्रेस हो भन्न पनि लाज लागिरहेको अवस्था छ । यसको कारण र कारक भनेको कांग्रेसले नेपाली समाज र राजनीतिका विकृति र विसंगतिलाई हटाउन सकेन नै अझ मुलुकमा अस्थिरता निम्त्याउने भूमिका निर्वाह गरिरहेको छ, नेपालका सुरक्षा संयन्त्रलाई कमजोर पार्ने प्रयास गरिरहेको छ, नेपालको स्वाभिमान खतरामा पार्ने काम भएको छ । र, कांगे्रसको नेतृत्वकर्ता भएका कारण तपाईं पनि यसमा त्यतिकै दोषी हुनुहुन्छ । विश्वेश्वर, गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता देशले नै गर्व गर्ने नेता जन्माएको कांग्रेसले आज तपाईंकै अहंकारका कारण लाजले शिर निहुराउनुपर्ने अवस्था आएको छ । जुन सम्पूर्ण कांग्रेसप्रेमीहरुका  लागि ठूलो अभिशापको रुपमा आज प्रमाणित भइरहेको छ ।
अहिले तपाईंकै अहंकारका कारण नेपाल प्रहरीभित्र आईजीपी चयन प्रक्रिया रमिता जस्तो भएको छ । आईजीपी विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । अपराधीलाई कानुनको कठघरामा पु¥याउने प्रहरी स्वयं नै न्याय माग्दै अदालतको ढोका ढक्ढकाउनु परेको अवस्था छ । नेपाल प्रहरीमा विगतदेखि नै राजनीतिकरणले विकृति निम्त्याएको थियो नै । यो पटक कांग्रेसका गृहमन्त्री रहेका विमलेन्द्र निधिले वरीयता र कार्यकुशलताका आधारमा निर्णय गरौँ भन्दा क्षेत्रीयतालाई काखी च्याप्ने तपाईंको निर्णयले गर्दा प्रहरीमा चेन अफ कमाण्ड कायम गर्ने गरिमा जुन नेपाली कांग्रेसले पाउने थियो त्यो पनि गुमेको छ । अझ सुरक्षा निकायमा अनावश्यक हस्तक्षेप र भागबण्डाको राजनीतिले जनतामा कांग्रेसको साख गिरेको छ । 
नेपालको प्रजातन्त्रको जननी मान्ने हाम्रो पार्टीले विधिविधानको पालना गरेर देखाउनुपथ्र्यो, अरुलाई सिकाउनुपथ्र्यो । सभापतिको हैसियतले तपाईंको जिम्मेवारी थियो त्यो । त्यसले जनतामा कांग्रेसको कति इज्जत बढ्थ्यो ? सायद तपाईंले यति सोचिदिएको भए ‘नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गराइदिन्छु’ भन्ने कसैको आश्वासनमा विश्वास गर्नुपर्दैनथ्यो । जनता आफैले खुशीखुशी नेपाली कांग्रेसलाई बहुमत दिने थिए । 
विगतमा पनि तपाईंकै पालामा आफ्नो स्वार्थका लागि पटकपटक नेपाल प्रहरीमा ३० र ३२ वर्षे सेवा अवधि बनाउने चलखेल भइरहे । यसबाट थुप्रै इमानदार प्रहरीहरुले अन्याय महसुस गर्नु परिरह्यो । नेपाल प्रहरीका होनहार राष्ट्रसेवकहरुका उज्ज्वल भविष्यलाई अन्धकारमा धकेल्ने काम भइरह्यो ।  
देउवाज्यू, तपाईंलाई थाह छ ? नेपाल प्रहरी अहिले अभिभावकविहीन भएको छ । प्रहरी महानिरीक्षक मात्र नभएर प्रहरी संगठनका हरेक विभाग र कार्यालयहरु समेत अहिले कमाण्डरविहीन भएका छन् । अब कति जनाले यो भ्याकुमलाई आफ्नो कुत्सित अभिलासा प्राप्त गर्ने स्वर्ण अवसरको रुपमा लिनेछन् । भ्रष्टाचार मौलाउनेछ । तस्करहरु सलबलाउनेछन् । सेनापतिविनाको सेना अब कुन मोडमा गएर विष्फोट हुन्छ । यो सबै कुराको जिम्मेवारी तपाईंले लिनुपर्नेछ । 
एकपटक पो गलत निर्णय हुन्छ बारम्बार गलत हुन्छ ? कतिसम्म कच्चा खेलाडीको गेम खेल्नुहुन्छ ? अब त जीवनको उत्तरार्धमा पनि आइपुग्नु भइसक्यो । तपाईंको गलत अडानको सजाय किन देशले भोग्ने ? के तपाईं सुदूरपश्चिमको मात्र नेता हो ? समयमै विचार गरिहाल्नुस् तपाईंका घेरामा बस्नेहरुले तपाँईलाई कतै गुमराहमा राखिरहेका त छैनन् ? देशका लागि योग्य र लायक मानिसहरुलाई तपाईंका सहयोगीहरुले तपाईंकहाँ पुग्नै दिएका छन् कि छैनन् ? यो कुराको जानकारी तपाईंले सायद पाउनु भएको छैन । २१औं शताब्दीका जनता तपाईंले सोचे जति कमजोर छैनन् यसलाई पनि कांग्रेसले हेक्का राख्नु पर्छ । 
देउवा ज्यू, नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दुःखद क्षणको जसरी आरम्भ गर्नु भएको छ यसले तपाईं मात्र हैन तपाईंको पार्टीलाई समेत सिध्याउनेछ । यो कुरा पक्का हो, प्रहरी संगठनलाई यो दुराअवस्थामा ल्याइपु¥याउने मध्येमा भर्खरै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समेत उत्तिकै योगदान छ । हिजोका दिनमा उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनमा गलत क्रियाकलाप गर्दा पनि चुप लागेर बस्नुभयो । याद गर्नुहोला, इतिहासमा गलत गर्नेलाई कहिल्यै माफी भएको छैन ।
देउवाज्यू, प्रहरी संगठनलाई जसरी विवादमा तान्ने काम गर्नुभयो । जसरी प्रणालीलाई ब्रेक गरेर प्रहरी संगठनको गरिमालाई ध्वस्त गर्ने कार्य गर्नुभयो । नेपाल प्रहरीका अधिकृत मात्र हैनन्, हरेक जवान समेतले तपाईंले गरेका गलत निर्णयको नजिकबाट मूल्यांकन गरिरहेका छन् । 
अन्तमा, तपाईंको दबाबमा प्रचण्ड सरकारले गरेको भनिएका बाध्यकारी निर्णय कानुनसम्मत छ÷छैन भन्ने विषय सर्वोच्च अदालतसम्म पुगेको छ । पक्कै पनि न्यायालयले प्रहरी संगठनमाथि भएको अन्यायलाई न्याय दिएर उल्ट्याउने नै छ । तर, मैले भने तपाईंले बारम्बार गर्ने गरेका हरेक घृणालायक निर्णयबाट आजित भएर नेपाली कांग्रेस पार्टी आजैका मितिबाट सदासदाका लागि छोडेको छु । स्वर्गीय बुबा, सकिन्छ भने मलाई माफ गर्नु तपाईंले दिनुभएका वचनहरुलाई मैले पालना गर्न सकिनँ । सक्नुहुन्छ भने शेरबहादुर देउवा र कांग्रेसीहरुलाई सद्बुद्धि दिनुहोला । जय देश ।।
  • सुशासनबाट  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: