- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – पैसामा केर्ने बानी छरु केर्ने बानी सुध्रिएन भने अब कानुनी फन्दामा पर्न सक्नुहुन्छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसूर सम्बन्धी विधेयकबारे छलफल गर्न गठन गरिएको उपसमितिले पैसामा केरमेट गर्न निषेध गर्ने कानुन सहितको प्रतिवेदन तयार गरेको छ ।
उपसमितिले प्रस्ताव गरेको फौजदारी संहिताको दफा २६३ मा नोट वा सिक्का जलाउने गाल्ने वा च्यात्नेलाई सजायको प्रबन्ध गरिएको छ । दफा २६३ को उपदफा २ मा बैंक नोटमा लेख्न वा कोर्न नहुने व्यवस्था छ भने उपदफा ३ मा सजायको व्यवस्था गरेको छ ।
तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुनेछ, सजाय सम्बन्धी प्रावधानमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागू गर्ने भन्दै नोटमा स्टिच नगर्न बैंकिङ संस्थालाई दिएको निर्देशन अझै कार्यान्वयन हुने सकेको छैन ।
सर्वोच्च अदालतले २०७२ फागुन ३० गते नोट सफा राख्नका लागि अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोट सफा राख्नका लागि लापरबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले सरकार र राष्ट्रबैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको थियो ।