
काठमाडौँ – ढोरपाटन सिकार आरक्षमा एउटै झारल (हिमालयन थार) सिकार गराउन दुईवटा कम्पनीले सरकारलाई १३–१३ लाख रुपैयाँ बुझाउन तयार भएका छन् ।
सौखिन विदेशी सिकारीलाई झारल सिकार गराउन यही महिना खोलिएको टेण्डरमा कम्पनीहरु हिमालयन सफारी प्रालि र ट्रेक्स एण्ड ट्रेल्सले एउटा झारलको १३ लाख ५ हजार रुपैयाँ तिर्न तयार भएका हुन् । राष्ट्रिय निकुञ्ज विभागले बढी रकम तिर्न तयार भएका ती दुई कम्पनीलाई यसै साता झारल सिकारको अनुमति दिएको छ ।
‘हिमालयनले आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्स एण्ड ट्रेल्सले गुस्तुङ ब्लकमा विदेशीलाई दुईवटा झारलको सिकार गराउन सक्नेछन्,’ विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले सोमबार कान्तिपुरसँग भने, ‘झारल सिकारका लागि तिरेको यो रकम अहिलेसम्मकै बढी हो ।’ दुई वर्ष अघि झारलको सिकारका लागि एउटा कम्पनीले ९ लाख रुपैयाँ तिरेको थियो । टेरक्स एण्ड टेरल्स कम्पनीका सञ्चालक दीपक राणाले झारल र नाउर सिकारका लागि दुईजना अमेरिकी सिकारी चैतमा नेपाल आउने बताए । ‘दुई जनाले एउटा–एउटा झारल र एउटा–एउटा नाउर सिकार गर्नेछन्,’ राणाले भने, ‘त्यसको अनुमति मैले पाइसकें।’
विदेशी सिकारीले एउटा वन्यजन्तुको सिकारमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्चिने गरेकोसिकार खेलाउने कम्पनी सञ्चालकहरु बताउँछन् । सिकारका लागि बन्दुक र गोली उनीहरुले नै ल्याउँछन् ।
हिमालयन सफारी प्रालिले पनि अमेरिकी नागरिककै लागि एउटा झारलको सिकार अनुमति पाएको हो । ‘झारलको कोटा कम भएकाले कम्पनीले यो पटक धेरै पैसा तिर्न तयार भए,’ थपलियाले भने, ‘यसलाई हामीले सकारात्मक ढंगले लिएका छौं ।’
विभागले वर्षमा दुई वटा सिजन (असोज–मंसीर र फागुन–वैशाख) मा मुलुकको एक मात्र सिकार आरक्ष ढोरपाटनमा सिकारका लागि टेण्डर खोल्ने गरेको छ । टेण्डरमा कम्पनीले प्रतिस्पर्धा गर्छन् । यो सिजनमा नाउर (ब्लुशिप) का लागि १० र झारलका लागि तीनवटा कोटा तोकिएको थियो । त्यसमा पेशेवर ४ कम्पनीले सिकार गराउन स्विकृती पाएका छन् ।
थपलियाका अनुसार हिमालयन सफारीले आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्सले गुस्तुङ ब्लकमा दुईवटा झारलको सिकार गराउनेछन् । ती दुईवटै ब्लकमा नाउर र झारलको संख्या राम्रो छ । नाउरको सिकारका लागि यो सिजनमा सबैभन्दा बढी ८ लाख ७५ हजार रुपैयाँसम्म तिर्न कम्पनी तयार भएका छन् । नाउरका लागि सबैभन्दा कम ५ लाख ९० हजार रुपैयाँ टेण्डर परेको छ ।
यो सिजनमा हिमालयनले एक झारलसहित एक नाउर, ट्ेरक्स एण्ड ट्रेल्सले दुई झारलसहित दुई नाउर, नेपाल वाईल्डलाईफ सफारी प्रालिले तीन नाउर र ग्लोबल सफारिज नेपाल प्रालिले चार नाउरको सिकार गराउने अनुमति पाएका छन् । नेपाल वाईल्डलाईफ सफारीले एक रुसी, एक स्पेनी र एक फेन्च सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउने छ । ग्लोबल कम्पनीले दोगाडी, सेङ र सुन्दहमा विदेशी सिकारीलाई नाउरको सिकार गराउनेछ ।
विभागले केही वर्षदेखि टेन्डर गरेर सिकारको अनुमति दिने गरेको छ । टेन्डर गरेर सिकार अनुमति दिंदा राजश्व बढी जम्मा हुने गरेको छ ।
यो सिजनमा सिकार अनुमपतिबाट १ करोड १३ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व जम्मा भएको छ । विभागले सिकार गर्ने वन्यजन्तुबाहेक लाइसेन्स र सिकार गराउने ब्लक (क्षेत्र) कोसमेत शुल्क लिने गरेको छ । लाइसेन्सको ५० हजार भन्दा माथि र ब्लकको २५ हजार रुपैयाँभन्दा माथि शुल्क लिने गरिएको उपमहानिर्देशक शेरसिंह ठगुन्नाले बताए ।
अघिल्लो सिजन (असोज–मंसीर) मा सिकार अनुमति, सिकार अनुमतिबाट ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको थियो । ट्रफी हन्टिङ (सिङ) का लागि विख्यात सिकारी नेपाल आउने गरेका छन् ।
सिकारपछि उनीहरुले वन्यजन्तुको खप्परसितको सिङ सरकारी छाप लगाएर आफैं लाने गरेका छन् । विगतमा रुसी राष्ट्रपति ब्लादिमिर पुटिनका राजनीतिक सल्लाहकारलेसमेत ढोरपाटनमा सिकार खेलेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्