
काठमाडौंः दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
गत बिहीबार गृहमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा निधि बस्दै आएको कुर्सीमा बसे । सामान्यतया मन्त्रीहरूको मर्यादाक्रम मिलाएर क्याबिनेट बैठकमा कुर्सी राखिएको हुन्छ । निधि बस्दै आएको प्रधानमन्त्रीसँगैको कुर्सीमा थापा एक्कासि बसेपछि त्यहाँ उपस्थित मन्त्रीले असजिलो महसुस गर्दै कानेखुसी गर्न थाले ।
त्यहीबेला वाणिज्यमन्त्री रोमी गौचन थकालीले आपत्ति जनाउँदै मन्त्रीहरू आफ्नो मर्यादाक्रमअनुसारको सिटमा बस्नुपर्छ भने । तर थापाले आफू बसेको निधिको सिट छोडेनन् । त्यसपछि गौचन बैठकबाट बाहिरिए । कांग्रेसका अरू मन्त्री भने चुपचाप बैठकमा सहभागी भए । बैठक सकियो । गृहमन्त्री नेपाल फर्किएपछि आफ्नो सिटमा अर्का उपप्रधानमन्त्री बसेको थाहा पाए । त्यसलगत्तै निधिले आइतबार प्रधानमन्त्रीसँग उक्त विषयमा चासो राखे ।
प्रधानमन्त्रीले पनि मर्यादाक्रमका विषयमा कुनै निर्णय नभएको र निधिलाई दोस्रो मर्यादामै राखेको भन्दै आश्वस्त पारे । यही खबर बोकेर निधि आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगे । त्यहाँ पनि देउवाले दोस्रो मर्यादाबाट हटेको भन्ने विषयमा विश्वास गरेनन् । आखिर भएको के रहेछ त ? मन्त्रिपरिषद्का एक सचिवका अनुसार निधि बस्दै आएको सिटमा थापा बसेकाले मात्रै विवाद भएको हो तर औपचारिक रूपमा पहिलाको मर्यादा हेरफेर गर्ने गरी कुनै निर्णय भएको छैन । मन्त्रिपरिषद्को मर्यादाक्रम तलमाथि गर्न औपचारिक निर्णय गरेर राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्छ । तर सोमबारसम्म त्यस विषयमा मन्त्रिपरिषद् कार्यालयले औपचारिक कुनै पत्राचार गरेको छैन ।
‘उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम तलमाथि हुने कुनै औपचारिक जानकारी हामीलाई आएको छैन’, ती सचिवले अन्नपूर्णसँग भने, ‘मर्यादाक्रम तलमाथि भए राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्ने हुँदा पत्र नै तयार गर्नुपर्ने हुन्छ तर त्यस विषयमा हामीलाई प्रधानमन्त्रीले केही जानकारी दिनुभएको छैन ।’
मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा सोमबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहालपछि दोस्रो मर्यादामा निधि नै छन् । त्यसपछि अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चौथो नम्बरमा मात्रै संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्