Skip to content
LAXMI SUNRISE BANK

कहाँ गए राहदानी लिने साढे चार लाख महिला ?

अर्थ सरोकार

काठमाडौं – सात वर्षको अवधिमा चार लाख ५९ हजार चार सय ४२ महिलाले के प्रयोजनका लागि राहदानी पासपोर्ट लिए भन्ने यकिन हुन सकेको छैन। राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवरीसम्ममा सात लाख ६९ हजार पाँच सय ४२ महिलाले पासपोर्ट लिएका छन् । यसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर रोजगारीमा जाने महिलाको संख्या झण्डै दुई लाख ५० हजारमात्रै रहेको छ । 
झण्डै ३० हजार महिला अध्ययनका लागि र २० हजार महिला भ्रमणका लागि विभिन्न मुलुक गएका छन् । बाँकीले कुन प्रयोजनका लागि पासपोर्ट लिए अभिलेख कतै छैन। त्यस अवधिमा तीन लाख ४४ हजार तीन सय ६९ ले महिलाले जिल्लाबाट पासपोर्ट लिएका छन्। तीन लाख ३९ हजार चार सय ५६ ले राहदानी केन्द्रमा रहेको विभागबाट लिएका छन् । यस्तै दूतावासबाट ८५ हजार सात सय १७ महिलालले पासपोर्ट लिएको तथ्यांक छ । 
सरकारले ढिलै भए पनि झण्डै साढे चार लाख महिलाले किन पासपोर्ट लिए भनेर खोजतलास थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कर्यालयको सचिवालयअन्तर्गतको वैदेशिक रोजगार उद्धार शाखाका सुशील ढुंगानाले पासपोर्ट बनाएकामध्ये त्यति ठूलो संख्याका महिला कहाँ गए भन्ने अनुसन्धान भइरहेको बताए ।
‘पासपोर्ट बनाएका साढे चार लाख महिलालाई अवैधानिक बाटो प्रयोग गरी विभिन्न देशमा लगिएको हुनसक्ने अनुमान छ,’ उनले भने । आप्रवासी कामदारको राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले आकर्षक रोजगारीको प्रलोभनमा पारेर दलालहरूले भारतको बाटो प्रयोग गरी महिलालाई विभिन्न देशमा पुर्याउने गरेका कारण स्पष्ट तथ्यांक नआएको दाबी गरे । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK