Skip to content
LAXMI SUNRISE BANK

जिज्ञासा : पूर्णिमाजस्ती आमाको अनुहार औंशीको दिन हेर्ने चलन किन चलेको होला ?

अर्थ सरोकार

  • सुर्जनी पौडेल 
काठमाडौँ – आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सवेरैदेखि देशभर यो पर्व मनाइदैछ । आमाका लागि फलफुल, मिठाइ वा उपहार दिएर यो पर्व मनाउने गरिन्छ । संसारको सबैभन्दा बढी माया गर्ने मान्छे, प्रेमकि प्रतिमूर्ति, ममताकी खानी आमा, पूर्णिमाको जूनजस्तै धपक्क बलेकी आमा, यो संसारमा देखिने साक्षात् भगवानको एउटै रुप आमाको मुख हेर्ने चलनचाहिं औशीको दिन किन चलेको होला ? एउटा स्वाभाविक जिज्ञासाले सताईरहेको छ । 

ज्योतिषहरुसँग पनि जवाफ छैन 
यसबारे मैले केहि ज्योतिषहरुसँग पनि सोधेको थिएँ । तर चित्तबुझ्दो जवाफ कसैसँग छैन । यसको महत्व थाह छ, पर्व मनाउने तरिका थाहा छ, तर औंशीकै दिन किन यो पर्व मनाइन्छ भन्ने कसैलाई पनि थाहा भएको पाइन। मातातीर्थ औंसीको दिन जहाँ- जहाँ मेला लाग्छ, त्यहाँ-त्यहाँको छुट्टाछुट्टै किम्बदन्ती छ । तर औंशीकै दिन किन आमाको मुख हेर्ने दिन राखियो होला भन्ने एकिन जवाफ कसैसँग छैन । 

कारणहरु यी हुन सक्लान् कि !
अझैसम्म यो प्रश्नको उत्तर भेटेकी छैन । तपाईं कसैले भेट्नुभयो भने जानकारी दिनुहोला । विधि र शास्त्रको कुरा गरिरहंदा हामीले मनाउंदै आएको पर्वसम्बन्धि खास जानकारी हुन आवश्यक छ । हुनसक्छ धेरै कारण । मैले बुझेका तलका कारणहरुपनि हुन सक्छन् । अरु कारण पत्ता लगाउने जिम्मा तपाईं पाठककै ! आमाको मुख हेर्ने दिनको सबैलाई शुभकामना ! संसारका सबै आमाहरुमा नमन :
आमाको मुख हेर्ने दिन औंशीकै दिन पर्नुको कारण यी होलान् कि !
  • औशीको रात अध्याँरो हुन्छ । त्यसैले आमाको पूर्णिमाजस्तो अनुहार हेर्दा जीवन उज्यालो हुन्छ भनेर होला कि!  
  • आमा महान छिन् । त्यसको अगाडी औंशीको रातकोपनि शक्ति सखाप हुन्छ । जीवनमा आउने हरेक औंशीहरु आमाको मुख हेर्दैमा पूर्णिमा बन्न सक्ने तागत आमासँग हुन्छ । त्यहि भएर हो कि !
  • आमा ममताकी खानी हुन् । औंशी भन्नेबितिक्कै गलत बुझाइ र मान्यता हुन्छ । औंशीको दिन जन्मेकाहरुलाई ‘अशुभ’ मान्ने गलत अभ्यासहरु पनि छन् समाजमा । त्यहि गलत अभ्यासको पीडा आमालाई थाहा छ भनेर हो कि !
  • औंशीको रातमापनि आमाहरु छोराहरुकै पर्खाइमा हुन्छन् । औंशीकै रात भएपनि छोराहरु वा छोरीहरु भेट्न आउन् भनेर पो हो कि !
  • बाबुको मुखपनि औंशीकै दिन हेर्ने गरिन्छ । विना कारणको सांस्कृतिक अभ्यास पो हो कि !
  • आमाको मुख हेर्न कुनै खास दिन चाहिंदैन । यहि मान्यतामा कुनै एक दिन राख्दा औंशी परेको हो कि !
  • सांस्कृतिक मान्यता वा पूराणको कोहि पात्रले औंशीकै दिन आमाको मुख हेरेर पो हो कि !

कारण जे सुकै होस्, आमा आखिर आमा हुन् र संसारको सबैभन्दा ठुलो चिज हुन् । आमाको मुख औंशीमा होइन हरेक दिन हेर्ने सौभाग्य जो कोहिले पाउँदैनन् । त्यसैले आमाको मुख हेर्ने दिनभन्दापनि सधैं आमालाई खुसी राखौं । यो नै सबै आमाहरुप्रतिसम्मान हुनेछ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK