
काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। आजको कान्तिपुरमा खबर छ ।
प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा पौडेलले भने, ‘सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपाईं (देउवा) बाट हुनुपर्छ ।’ उनले अहिलेकै परम्परागत शैलीमा सरकार बन्ने र फेरिने घटनाले जनताको मन जित्न नसकिने बताए ।
‘आगामी दिनमा हाम्रा बाटा कठिन छन्। सरकार गठन, पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ ? सरकार कसरी बन्छ ? म पार्टीकै बारेमा चिन्तित छु,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब पार्टी, सरकार सञ्चालन, पार्टीका विभिन्न विभिन्न निकाय गठन कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो ? कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिँड्ने हो ? धेरै प्रश्न अनुत्तरित छन्।’
उनले जनतालाई विश्वास दिलाउन सभापतिले त्याग नदेखाएको गुनासो पोखे। ‘यो त्यागको समय हो। दलको नेता आफैं हुनुहुन्छ। बहुमत पनि छ। प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ। अब त्यस्तो अवस्थामा तपाईंले त्याग गर्नु हुन्छ भन्ने मलाई विश्वास छैन,’ पौडेलले थपे, ‘तपाईं (देउवा) त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु। कसै न कसैले त्याग गरेर देखाउनुपर्यो।’
पौडेलले आफ्नो क्रियाशीलताले नै संविधानसभा दोस्रो निर्वाचनमा पार्टीले पहिलो स्थान ल्याएको दाबी गर्दै भने, ‘त्यतिबेला उहाँ (देउवा) कति खटिनु भयो ? कांग्रेसलाई ठूलो पार्टी कसरी बनाइयो। सबैले देखेकै छन्।’ कांग्रेसभित्र सामान्य उपचारले नहुने रोग लागिसकेको बताउँदै पौडेलले आफूलाई सधैं जोखिममा राखेर पार्टी र प्रजातन्त्रलाई जोखिममा जान नदिएको बताए।
सभापति देउवाप्रति आक्रामक शैलीमा देखिएका पौडेलले भने, ‘अब कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने ? पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जाँगर पैदा गराउने ? के गरी जनतामा आशा र भरोसा जगाउने ?
पौडेलको भनाइमा देउवाले भने कुनै प्रतिक्रिया दिएनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्