प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् ।
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई यहाँ आज सम्बोधन गर्दै उनले भने – “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।”
सभापति देउवाले “निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हुँदैन,” भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पारे ।
आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराए।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल पनि सहभागी हुने विश्वास व्यक्त गरे ।
प्रदेश नं २ का १०० तहमा जित्ने रणनीतिक योजना
स्थानीय तहको दुई चरणको निर्वाचनमा दोस्रोस्तरमा झरेको काँग्रेसले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजना अघि सारेको छ । काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाएको प्रदेश नं २ को भेलाका बारेमा प्रकाश पार्दै नेता विमलेन्द्र निधिले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने बताए ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता विमलेन्द्र निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १२७ तहमध्ये १०० तहमा काँग्रेसले जित्नैपर्ने धारणा राखे । प्रदेश नं २ को निर्वाचनको तयारीका लागि पर्याप्त समय भएको भन्दै उनले यस बीचमा समयमै उम्मेदवार चयन, प्रचारप्रसार र असन्तुष्ट कार्यकर्ताको माग सम्बोधन गर्न सकिने बताए ।
प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक छ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।
भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी छन् ।
शुक्रबारसम्म छलफल हुने सो कार्यक्रममा आठवटै जिल्लाका आठ समूह बनाएर उम्मेदवार सिफारिस, प्रचारप्रसार र अन्य दलसँगको चुनावी तालमेल सम्बन्धमा छुट्टाछुट्टै र सामूहिक छलफल गरी निष्कर्ष निकालिने पार्टी कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्