
काठमाडौं – दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ ।
सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी गत असार अन्तिम साता नेपाल फर्किएकी डोल्मा आर्थिक संकटमा रहे पनि उनका नाममा संकलित रकमबारे अन्योल थियो । ‘असोज २८ देखि काठमाडौंमा हुने एनआरएनको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा डोल्माका नाममा उठेको रकम उनलाई हस्तान्तरण गर्ने गरी निर्णय हुँदै छ,’ एनआरएनका अध्यक्ष शेष घलेले कान्तिपुरलाई पत्र लेख्दै भनेका छन् ।
डोल्माको जीवनरक्षाका नाममा संकलित रकम कसरी खर्च गर्ने भन्ने स्पष्ट नीति नबनाइएकाले गैरआवासीय नेपाली संघको कल्याणकारी खातामा राखिएको र यसको बेग्लै खाता नभएको अवस्थामा सन् २०१० पछि संघकै ‘इमर्जेन्सी एकाउन्ट’ मा मिसाइएको बारे संघको वर्तमान नेतृत्वलाई पर्याप्त जानकारी नरहेको घलेले बताएका छन् ।
‘सञ्चार माध्यममा डोल्माका नाममा संकलित रकमबारे सूचना आएपछि मैले त्यसबेला यसको नेतृत्व गरेका तत्कालीन महासचिव तेन्जी शेर्पासँग जानकारी लिएको छु र सचिवालयमा उक्त रकमको अवस्थाबारे पनि जानकारी लिएको छु,’ अध्यक्ष घलेले भनेका छन्, ‘अहिले गैरआवासीय नेपाली संघको खातामा डोल्मा बचाउ अभियानका नाममा संकलित झन्डै ३२ लाख रुपैयाँ रहेको देखियो । आगामी आईसीसी बैठकमा यसबारे छलफल गरी डोल्मा शेर्पालाई आठौं सम्मेलनकै बेला रकम हस्तान्तरण गर्ने जानकारी गराउन चाहन्छु ।’
‘डोल्मा शेर्पा बचाउ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको भनेर मिडियामा जानकारी आइसके पनि उक्त रकमको पारदर्शितामा चौतर्फी प्रश्न उठेको थियो । डोल्मा अहिले खर्च अभावमा आफन्तकहाँ आश्रित छिन् । डोल्माका श्रीमान् आङतेन्जी शेर्पा यतिखेर इराकको कुर्दिस्तानमा छन् भने एक छोरा काठमाडौंकै निजी स्कुलमा माध्यमिक तहमा अध्ययनरत छन् । – कान्तिपुरबाट साभार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्