×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिसक्यो ,साम्यवादी व्यवस्था लागू हुन सक्दैन”

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

“मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिसक्यो ,साम्यवादी व्यवस्था लागू हुन सक्दैन”

Artha Sarokar

२६ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँले प्रदेशसभा र प्रतिनिधिसभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणको आधार सङ्घ र प्रदेशमा काँग्रेसको सरकार’ काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा काँग्रेसका नेता सिंहले प्रजातान्त्रिक प्रक्रियाले निरन्तरता पाए मात्र निर्वाचन निरन्तर रुपमा हुने र सबैले अवसर पाउने बताउनुभयो ।
उहाँले साम्यवादी व्यवस्था नेपालमा लागू हुन नसक्ने बताउनुभयो । “मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिरहेको बेला साम्यवादी व्यवस्था लागू हुन सक्दैन,” नेता सिंहले भन्नुभयो । नेता सिंहले २०७० सालको संविधानसभा निर्वाचनमा आठ क्षेत्र जितेको काँग्रेसले स्थानीय तहमा हार व्यहोर्नु दुःखद घटना भएको बताउँदै प्रजातन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई जिताउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य एवम् सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्र रहेमात्र सबै जातजाति, भाषा, धर्म मान्ने व्यक्तिको अधिकार सुरक्षित हुने र लोकतन्त्रको स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा काँग्रेसले खेलेको भूमिका आम जनतामाझ लगेर जनताको मन जित्न जरुरी रहेको बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्ने बताउनुभयो । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले काँग्रेस एक ढिक्का भए वाम गठबन्धनले कुनै असर नगर्ने बताउनुभयो । काँग्रेस जिल्ला सभापति सबुज बानियाँले टिकट पाउने व्यक्तिविरुद्ध टिकट नपाउने व्यक्तिको समूह लाग्ने प्रवृत्तिको अन्त्य नभएसम्म काँग्रेसले काठमाडौँमा जित्न नसक्ने स्पष्ट पार्नुभयो । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी