
देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए । श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली-५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन्।
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा पुगेर उम्मेदवारी दर्ता गराए। वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन् ।
ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार बनेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए । प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे । छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन् ।
यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन्।