
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा सरकारको चरम लापरवाही देखिएको छ । विभागमा लाइसेन्सको यतिसम्म अभाव चर्किएको छ कि सेवाग्राहीले ट्रायल दिएको र नवीकरणका लागि आवेदन पेश गरेको १० महिनासम्म हात पार्न मुस्किल पर्छ ।
विभागसँग अहिले १५ हजार स्मार्ट लाइसेन्स छाप्ने कार्ड मात्र बाँकी छन् । तर, लाइसेन्स लिने प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका सेवाग्रही दुई लाख नाघेका छन् ।
दैनिक पाँच हजार सेवाग्राहीले लाइसेन्सको प्रक्रिया पूरा गर्छन् । तर, विभागले दिनमा मुस्किलले पाँच सय वटा कार्ड छाप्छ ।एक त विभागसँग पर्याप्त कार्ड ‘स्टक’ छैनन्, छाप्ने मेसिन पनि गतिला छैनन् । कार्ड छाप्ने चारमध्ये तीन वटा मेसिनले मात्रै जेनतेन काम गरिरहेको विभागका एक अधिकारी बताउँछन् । एउटा मेसिन बिग्रिएर बसेको छ ।
स्मार्ट लाइसेन्स वितरण शुरु भएको केही समयमै अभाव चर्किएको थियो । नियमित मागअनुसार आपूर्ति गर्न समयमै टेन्डर नगर्दा अहिले दुई लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर पनि कार्ड लिन नपाएर समस्यामा छन् ।
ट्रायल उत्तिर्ण गरेको नौ महिनामा एकान्तकुनास्थित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स बुझेका हेटौंडाका जीवन लामा भन्छन्, ‘यो बेथितिको पराकाष्ठा हो । नागरिकले एक दिनमै पाउनुपर्ने सुविधा हो यो । अनेक बहाना बनाएर नौ महिनासम्म कुराउनु अपराध हो ।’
लाइसेन्स हात नपर्दा पाएको जागिर पनि छाड्नुपरेको छ, लामाले । विभागले देशभरका कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण थालेको छ । ती सबैको छपाइ भने काठमाडौं मीनभवनस्थित केन्द्रीय कार्यालयमै हुन्छ ।
क्षमता विस्तार नगर्दा नयाँ लाइसेन्स लिने र पूरानो नवीकरण गर्नेहरुलाई विभागले ‘६ महिनापछि लिन आउनू’ भन्ने गरेको छ । तर, ६ महिनामा आउने सेवाग्राहीलाई थप तीन महिनाको भाका सार्ने गरिएको विभागका अधिकारी स्वीकार्छन् ।
पहुँच भएकाहरुले ‘सोर्स’ लगाएरै पनि छिटो लाइसेन्स बुझ्ने गर्छन् । सर्वसाधारणलाई भने लाइसेन्स समयमै पुर्याउन विभागले बेवास्ता गर्दै आएको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराई भने एकैपटक सात लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का लागेकाले अभाव विस्तारै साम्य हुने बताउँछन् । उनले केही हप्तामा नै थप एक लाख कार्ड एडीबीको सहयोगमा आइपुग्ने अवस्थामा रहेको बताए ।
‘अब एक लाख कार्ड तत्कालै आउँछ । त्यसपछि टेन्डरअनुसार मद्रास सेक्युरेटी प्रिन्टर्सले कार्ड दिन्छ,’ भट्टराईले भने ।
भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले तीन वटा प्रिन्टिङ मेसिन आपूर्ति गर्न लागेकाले अहिलेको समस्या अब लामो समय नरहने उनको दाबी छ ।उनको भनाइमा आपूर्तिकर्ताले अबको दुई साढे तीन लाख कार्ड उपलब्ध गराउने छ । र, त्यसबाट आगामी असारसम्म माग धान्न सकिने अपेक्षा छ ।
‘उसले समयमै कार्ड दिएन भने हामीले कारवाही गर्ने स्पष्ट रुपमा भनेका छौं,’ भट्टराईले भने, ‘अहिलेको समस्यामा लामो समय कामय राख्न हुँदैन भनेर हामी संवेदनशील छौं ।’अब अर्को चरणमा लागि १५ लाखदेखि २० लाख कार्ड एकैपटक छाप्नेगरी टेन्डर गर्ने योजना विभागको छ । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्