काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ ।
अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको स्रोतले जनाएको छ ।
अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाण्डु महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ ।
अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।
त्यस्तै विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ ।
उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो ।
चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यसलगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गर्यो । उक्त निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले अध्यक्षता गरेका थिए ।
आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने बताउँदै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । र, आर्विट्रेसनबाट कुनै उपलब्धि नभएको र झण्डै अढाइ करोड खर्च भएको ठहर गरेको छ ।
बयानका लागि बोलाइएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् । – काठमाडौँ टुडे