काठमाडौँ – वैकल्पिक राजनीतिक शक्ति रुपमा आफूलाई प्रस्तुत गर्दै आएको विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी घोषणापत्र तयार पारेको छ ।
शुक्रबार औपचारिक रुपमा घोषणा गर्न लागिएको घोषणापत्रमा अरु दलको जस्तै देशलाई आर्थिक संवृद्धि र स्थितिरता दिने प्रतिबद्धता गरिएको छ ।
विकेकशील साझा पार्टीले ठूला दल देशमा मौलाएको भ्रष्टाचार, अनियमितता जस्ता कुरितिप्रति मौन रहेकाले चुनावी मैदानमा उत्रनु परेको प्रष्ट पारेको छ । घोषणापत्रमा भनिएको, ‘ठूला दल लुटतन्त्रप्रति मौन छन् । देशलाई संकटबाट निकालेर लोकतन्त्रको रक्षा गर्न हामी चुनावी प्रतिष्पर्धामा आएका छौं ।’
विकेकशील साझा पार्टीले २० वर्षभित्र देशलाई मध्यम आय भएको देशको स्तरमा पुर्याउने, उद्योग कलकारखाना खोल्ने उल्लेख गरेको छ । रोजगारी, पानी, बिजुली जस्ता आधारभूत विषयको प्रत्याभूति राज्यले नै गर्ने विवेकशील साझा पार्टीको घोषणापत्रमा लेखिएको छ ।
वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने बताउँदै विवेकशील पार्टीले राइट टु रिजेक्ट, राइटु रिकलको व्यवस्था गर्ने उल्लेख गरेको । पार्टीले बेलायती प्रणालीको संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्याकारी प्रधानमन्त्रीसहितको व्यवस्थाको पक्षमा उभिएको छ ।