×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् २०१७ का १० दर्दनाक तस्विरहरु, जसले संसार रुवायो… (फोटो कथा)

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएकोदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै मुख्य घटना रह्यो । यसै वर्ष अमेरिकाले तीन शक्तिशाली आँधी र भीषण डढेलोको सामना गर्‍यो।
म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिम आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुगे । यता, उत्तर कोरियाका नेता किम जोङ उनले अन्तर्राष्ट्रिय समुदायको चेतावनी नसुनी पटक–पटक शक्तिशाली क्षेप्यास्त्र प्रहार पनि यसै वर्ष गरेका थिए । 
यस्तै, ठूला र साना घटनाका कारण यो वर्ष सबैलाई स्मरणीय रहनेछ । गत वर्ष अन्तर्राष्ट्रिय मिडियाहरूले लिएका हजारौँ तस्बिरहरूमध्ये १० चर्चित तस्बिर यस्ता छन् :

१. आतंकको बीचमा बालक (अफगानिस्तान)

सन् २०१७ मा अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाकर्मी र आतंककारी समूहबीच भिडन्त भइरहँदा एक बालक टुलुटुलु सुरक्षाकर्मीलाई हेरिरहेको तस्बिर सबैभन्दा उत्कृष्ट मानिएको छ । सिया मस्जिदमा आतंककारी योजना असफल बनाउने क्रममा सुरक्षाकर्मीले कारबाही गरेको थियो । सुरक्षाकर्मीले बालकलाई मस्जिदबाट भाग्न निर्देशन दिइरहेका छन् । तर, बालक नभागी सुरक्षाकर्मीतर्फ ध्यान केन्द्रित गरेका देखिन्छन् । चारवर्षे बालक आफ्नो हजुरबुवासँगै मस्जिद पुगेका थिए । आक्रमणमा बालकका हजुरबुबाको निधन भएको थियो ।
२. नदी पार गर्दै रोहिंग्या (बंगलादेश)
म्यानमारको रोहिंग्या शरणार्थी नदी पार गर्ने क्रममा भोगेको पीडा दोस्रो शक्तिशाली तस्बिर हो । म्यानमार सैनिकको कारबाही सहन नसकी लाखौँ रोहिंग्या बंगलादेशमा शरणार्थी बनेका छन् । अहिलेसम्म ६ लाख २० हजार रोहिंग्या बंगलादेशको कोक्स बजारमा पुगेका छन् । बंगलादेश र म्यानमारबीचको नदी पार गर्ने क्रममा एक महिला हिलैहिलोको खाडलमा फसेकी देखिन्छिन् । तस्बिरमा ती महिलालाई बचाउन धेरै सहयोगीले हात दिइरहेका छन् । तीमध्ये तस्बिर लिने फोटोग्राफरले समेत महिलालाई खाडलबाट बाहिर ल्याउन आफ्नो बायाँ हात दिएका छन् ।
३. खण्डहर बेडरुममा घरमालिक (सिरिया)
मध्यपूर्वी एसिया सिरियाको गृहयुद्ध पूरा भएको छैटौँ वर्षको अवसरमा लिइएको तस्बिर तेस्रो उत्कृष्ट हो । ९ मार्चमा ७० वर्षीय वृद्ध व्यक्ति कामै नलाग्ने खण्डहर घरमा आरामपूर्वक बसिरहेका छन् । आफ्नो निजी बेडरुममा उनी सिगारको आनन्द लिइरहेका छन् । उनको बेडरुम कामै नलाग्ने भए पनि सिलिङसँगै रहेको टेपरेकर्डर केही भएको रहेनछ । त्यही टेपरेकर्डरमा उनी मोहमद दिया अलको सुमधुर गीत सुनिरहेका छन् । युद्धका क्रममा ती व्यक्तिले महँगा कार पनि गुमाए । घरको अवस्था जस्तो भए पनि मालिकले भने सफा लुगा लगाएका छन् ।

४. उनको मिसाइल नजर (उत्तर कोरिया)
यो तस्बिर उत्तर कोरियाका नेता किम जोङ उनको हो । सेप्टेम्बरमा उत्तर कोरियाले साना र ठूला गरी दुई क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसमध्ये हुवाङसाङ–१२ को क्षेप्यास्त्र परीक्षण गर्दा उन पनि परीक्षणस्थलमै पुगेका थिए । हुवाङसाङ–१२ क्षेप्यास्त्र लन्च हुँदा उन निकै चासोका साथ हेरिरहेका देखिन्छन् । धेरै नै नजिकबाट नजर गरेका कारण उनलाई बायनाकुलर नै आवश्यक परेन । सो क्षेप्यास्त्र जापानको आकाश हुँदै समुद्रमा खसेको थियो ।
५. आगोबीच गल्फ (क्यालिफोर्निया)
क्यालिफोर्नियामा इतिहासकै ठूलो डढेलो लाग्यो । क्यालिफोर्नियाको ५० हजार एकड जंगलमा डढेलो लागेको थियो । घटनाबारे अमेरिकामा मात्र नभएर विश्वका धेरै राष्ट्रले समेत चासो देखाएका थिए । सोही घटना क्यामेरामा कैद गर्न एसोसिएट प्रेसका फोटोजर्नालिस्ट खुला मैदानमा पुगेका थिए । अचम्म के रह्यो भने फोटो लिन पुगेको खाली मैदान गल्फ कोर्स रहेछ । अझ त्योभन्दा पनि अर्को ठूलो अचम्मको पक्ष के भने पछाडि जंगलमा दनदन आगो बलिरहँदा गल्फ कोर्समा प्रतियोगिता भइरहेको थियो । पछाडि आगो र बीचमा गल्फ सट प्रहार गरिरहेको तस्बिर चौथो उत्कृष्ट तस्बिर बन्यो ।
६. संसदमै छोरीलाई स्तनपान (अस्ट्रेलिया)
यस वर्ष अस्ट्रेलियन संसदमा कसैले नसोचेको घटना भयो । संसदभित्र कारबाही चलिरहँदा सिनेटर लैरिया वाटर्सनले आफ्नी दुईमहिने छोरी आलियालाई स्तनपान गराइन् । ग्रिन्स पार्टीको सिनेटर वाटर्सनले विशेष रोगबारे भाषण दिइरहँदा आलिया रोएकी थिइन् । भाषणबीचमै रोकी उनले छोरीलाई स्तनपान गराइन् । संसद्भित्र उनको यस कार्यलाई निकै सराहना गरिएको थियो । वाटर्सनकी छोरी आलिया संसद् भवनमै आमाको स्तनपान गर्ने पहिलो नानी बनेकी छिन् ।
७. प्रेमिकाको सुरक्षा (अमेरिका)
स्टिफन पेडोकले अमेरिकाको लास भेगासमा भएको सांगीतिक कन्सर्टमा अन्धाधुन्द गोली चलाएका थिए । २२ हजार दर्शकबीच पेडोकले गोली चलाउँदा ५९ व्यक्तिले ज्यान गुमाए । यसैगरी पाँच सय २७ जना घाइते भए । पेडोकले गोली चलाइरहँदा कन्सर्टस्थलमा भागदौड मच्चियो । एक महिला भाग्न नसकेपछि भुइँमै लडिन् । ती महिलालाई गोली नलागोस् भनी उनका प्रेमीले शरीर ढाक्ने प्रयास गरेको देखिन्छ । फोटो जर्नालिस्ट डेबिड बेकरले प्रेमीले आफ्नो ज्यानको कुनै मतलब नराखी प्रेमिकाको सुरक्षा गरेको भनी पोस्ट गरेको तस्बिर सन् २०१७ कै सातौँ उत्कृष्ट रह्यो ।
८. ट्रम्पको ह्वाइटहाउस प्रवेश (वासिङ्टन)
राष्ट्रपतिको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० जनवरीमा ह्वाइटहाउस प्रवेश गरेका थिए । ट्रम्पसँगै फस्र्ट लेडी मेलानिया पनि राष्ट्रपति निवास छिरिन् । निवर्तमान राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल नवनियुक्त राष्ट्रपति ट्रम्पलाई भवनभित्र प्रवेश गराउन उपस्थित भएका थिए । ट्रम्प छिटो हिँड्दा उनकी श्रीमती मेलानिया पछाडि परिन् । र, ओबामा जोडीले मेलानियालाई ढोकाभित्र प्रवेश गराउँदै गरेको तस्बिरले आठौँ उत्कृष्ट तस्बिरका रूपमा चर्चा पाएको छ ।

९. मुगाबे शासनको पतन (जिम्बाबे)
यसै वर्ष जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले ३७ वर्षपछि सत्ता छाडे । सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति मुगाबे एक हप्तासम्म नजरबन्दमा परे । सेना र विपक्षीसँग सम्झौता गर्दै उनले २१ नोभेम्बरमा राष्ट्रपतिबाट राजीनामा दिए । मुगाबेको राजीनामासँगै सरकारी कार्यालय तथा अन्य कार्यालयमा राखिएको उनको तस्बिर हटाइयो । आक्रोशबीच राष्ट्रपति मुगाबेको तस्बिर हटाइएको दृश्य नवौँ शक्तिशाली तस्बिर रह्यो ।

१०. ओस्कारमा नाम गल्ती (ओस्कार अवार्ड)
यसपटक ८९औँ ओस्कार अवार्डमा ठूलै गल्ती भयो । अवार्ड कार्यक्रममा फोटोग्राफरले लिएको तस्बिर उत्कृष्ट फिल्म घोषणा गर्ने वेलाको हो । उत्कृष्ट फिल्म घोषणा गर्ने व्यक्ति मुख्य ‘खाम’ नलिएर अर्कै लिएर कार्यक्रमस्थलमा पुगेका थिए । उनले मुनलाइट भन्नुपर्नेमा ‘ला ला ल्यान्ड’ सन् २०१६ को उत्कृष्ट फिल्म घोषणा गरे । त्यसपछि आयोजकका पदाधिकारीहरूले गलत फिल्म घोषणा भएको उनलाई जानकारी दिए । त्यसपछि मुख्य खाममा रहेको नाम घोषणा गरी उनले आफ्नो गल्ती स्विकारे । नयाँ पत्रिकाबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: