×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दोलखाको कृषि बिकास बैंकमा हाकिमको यस्तो दादागिरी, पाइलैपिच्छे ऋणीसँग मागिन्छ घुस, दिइन्छ यस्तो धम्की’

  • अर्थ सरोकार सम्बाददाता 
चरिकोट- दोलखाको चरिकोटमा बैंकका कर्मचारीहरुले सोझा गाउँले हरुलाई हेप्दै दादागिरी देखाउन थालेका छन् । कृषि बिकास बैंकका उपशाखाका प्रबन्धक दिपक खतिवडाले पहुँच र पावरका आधारमा ऋणीहरुलाई व्यवहार गरेको साना ऋणीहरुले दुखेसो पोखेका छन् । ऋणको ब्याज तिर्ने कुरामा पनि साना र ठुलालाई फरक व्यवहार गरिएको भन्दै उनीहरुले गुनासो पोखेका हुन् । ठूला ऋण लिएकाहरुले ऋणको ब्याज समेत नतिरेको र साना ऋणीहरुले एक दुई पटक ब्याज तिर्न ढीलो गर्दा जानकारी समेत नगराई पत्रिकामा नामावली सार्बजनिक गरिएको भन्दै आपत्ती जनाएका हुन् । पत्रिकामा नाम निकाल्नुअघि बैंकले पत्र काटेर जानकारी गराउनुपर्ने नियम छ । 
२५ लाख सावा लिएर ब्याज नतिर्ने ऋणीहरुको पनि नाम पत्रिकामा निकाल्न अनुरोध गर्दा सरुवा गरिदिने धम्की खतिवडाले दिने गरेको बैंकका कर्मचारीहरुको दावी छ भने साना ऋणीहरुलाई भने घुस दिए नाम ननिकाल्ने तर घुस नदिए पत्रिकामा नाम निकालीदिने भन्दै धम्की दिंदै घुस नदिनेहरुको नाम पत्रिकामा निकालिएको स्थानीयको आरोप छ । हालै बैङ्कले ऋण नतिरेको भन्दै ६८ जना ब्यबसायीहरुको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठुला ऋणी बिचको बिषयलाई लिएर बिबाद चुलिएको छ । बैङ्कले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीहरुलाई पाँच हजार रुपैयाको दरले समेत रकम मागेको स्थानीयको आरोप छ ।

खतिवडाको यस्तो दादागिरी, घुस दिनेलाई छुट नदिनेको नाम पत्रिकामा 
दुई लाख ऋण लिएका साना लगानीकर्तालाई एक पटक तागेता समेत नगरी एक्कासी पत्रिकामा नाम सार्बजनिक गरिएको तर २५ लाख सावा भएको र ब्याज तिर्न करिब ५ लाख हुँदा समेत त्यस्ता ब्यापारिले दबाद दिँदा उनिहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको जनगुनासो छ । यसरी ब्याज नतिर्ने ठुला लगानीकर्ताहरुलाई भने घुस कै भरमा नियमित कारोबार राम्रो छ भनि अर्को बैङ्कलाई पत्र समेत दिने गरेको पाइएको हो । प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भिमेश्वर नगरपालिका वडा नम्बर ३ का तिलक थापालाई सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुष दिन्न भन्दा आफुलाई ऋण नदिएको आरोप लगाए । उनका अनुसार लिएको ऋणको केहि प्रतिशत घुस नै माग्ने गरिएको छ । अझ अचम्मको कुरा त के छ भने बैंकले पैसा दिए पत्रिकामा नाम ननिकाल्ने र घुस नदिए पत्रिकामा नाम निकाल्ने समेत गरेको खुलासा भएको छ । ब्यबसायी बिदुर बस्नेतका अनुसार उपशाखाका प्रबन्धक दिपक खतिवडाले नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने समेत बताएको आरोप लगाएका छन् ।
उपशाखाका प्रबन्धक दिपक खतिवडाको जवाफ, ‘यो मेरो अधिकारको कुरा हो’
यता उपशाखाका प्रमुख दिपक खतिवडाले बैङ्कले लगानी गरेको ऋण उठाउन यो कदम चालेको र कसको नाम निकाल्ने र कसको नाम ननिकाल्ने भन्ने आफ्नो अधिकार भएको दावी गरेका छन् । ‘यो हाम्रा अधिकारको कुरा हो । कसको नाम निकाल्ने र कसको नाम ननिकाल्ने भन्ने कुरा ।’ खतिवडाले भने । साथै उनले घुस मागेको भन्ने कुरा गलत भएको र बैंकको नियम अनुसार नै केहि ऋणीहरुको नाम पत्रिकामा निकालेको बताए । तागेता नगरी किन पत्रिकामा नाम निकालियो भन्ने प्रश्नमा उनले भने, ‘हामीले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं ।’
राष्ट्र बैंक र अख्तियारमा उजुरीको तयारी 
खतिवडाले मनपरी गरेको भन्दै उनलाई नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको तयारी समेत भएको छ । केहि अगुवा गाउँलेहरुको संयोजनमा उनलाई अख्तियारमा उजुरी गर्न भन्दै एक समूह काठमाडौँ आउन लागेको बताइएको छ ।  ‘खतिवडाले मनपरी गरे । कानुन भनेको सबैलाई उही हुनुपर्छ ।   अव उनलाई अख्तियार र राष्ट्र बैंकले छानविन गर्ला । हामीले त गुनासोमात्र गर्ने हो ।’ उनलाई उजुरी गर्ने बताउने एक स्थानीयले अर्थ सरोकारसँग भने ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: