काठमाडौँ – गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराए ।
उनले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्रीलाई जानकारी दिए ।
वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै दु्रत गतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताए ।
बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पारे ।
आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारप्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताए ।
उनले ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उनका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बंगलादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र बर्न सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गरे ।
जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पु¥याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताए । वार्तामा दुबै मन्त्रीबीच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ ।