×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अप्रेशन लालीगुराँस-१ : सिइओको यस्तो मनोमानी, मनपरी कर्जा प्रवाह गर्दा संस्था डुब्ने अवस्थामा (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- देशमा रहेका विभिन्न सहकारी संस्थाहरुमा मनपरी बढीरहेको खबर नौलो होइन । सहकारी ऐन विपरित काम गर्ने, जथाभावी कर्जा प्रवाह गर्ने, विदेशी नागरिकलाई समेत सदस्य बनाउने लगायतका विभिन्न सहकारी संस्थाका कर्तुतहरु विभिन्न संचारमाध्यमहरुमा आइसकेको कुरा हो । यसैबीच ठुला सहकारीमध्येको एक श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पनि सीइओको मनपरीले सीमा नाघ्न थालेको खुलासा भएको छ । उनले संस्थाको विधि र प्रचलित कानुन विपरित कर्जा प्रवाह गर्ने र उक्त ऋण असुल्न नसकेको खण्डमा सहकारीलाई ‘खराव कर्जा’को भार बोकाएर मनपरी गरिरहेको खुलासा भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले यस्तो गलत काम गरिरहेको खुलासा भएको हो । संस्थाको नियममै रहेको जस्तो देखाएर आफ्ना नजिकका व्यक्तिलाई ‘फस्ने’ भन्ने जान्दाजान्दै ऋण प्रवाह गर्ने र सहकारी डुबाउने खेलमा उनी लागेको भन्दै नियामक निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीविरुद्ध उजुरी परेपछि यस्तो खुलासा भएको हो । 

शक्तिकेन्द्रको आडमा सीइओको मनपरी ! नाममा उत्कृष्ट, भित्र भद्रगोल !
संस्थाका सीइओ सुरेन्द्र भण्डारीले विभिन्न शक्तिकेन्द्रको आडमा मनपरी गरेको पाइएको छ । उनले विभिन्न किर्ते ऋणीसमेत खडा गरेर कर्जा प्रवाह गर्ने गरेको, आफुखुसी व्याजमा सावाँ जोडी व्याज लिने गरेको र सहकारी ऐन विपरित संस्थालाई डुबाउने खेलमा लागेको भन्दै उनी विरुद्ध विभिन्न निकायमा उजुरी परेको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । यस सम्बन्धि केहि काजगातहरुसहित उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सहकारी संस्थाहरुको नियमनकारी निकायमा समेत उनी विरुद्ध उजुरी परेको खबर छ ।

अझ खास कुरा त के छ भने सहकारी बाहिर भन्दाभने उत्कृष्ट ठहरिएको संस्था हो । उक्त संस्थाले गत बर्षमात्रै सरकारलाई साढे ३ करोड बढी राजश्व बुझाएर आफूलाई उत्कृष्ट सहकारी बनाउन सफल देखाएको थियो । संस्थाको विशेष स्रोतले दिएको जानकारी अनुसार यो पनि सीइओ भण्डारीकै फन्डा हो । झट्ट हेर्दा उत्कृष्टजस्तो देखाउने, संस्थाका तर्फबाट राजश्व पनि तिर्ने तर भित्रभित्रै आफ्नो स्वार्थ पूरा गर्ने फण्डा अनुसार भण्डारीकै निर्देशनमा संस्थामा विभिन्न खाले गैरकानुनी काम हुने गरेको छ ।

हेर्नुहोस् सुरेन्द्र भण्डारीको मनपरीको प्रमाण !   
सहकारी संस्थाभित्र भण्डारीले आफ्ना मानिसहरुलाई ऋणवापतको व्याज मिनाहा गरेको स्पष्ट देखिन्छ । आफ्नाहरुलाई ब्याज मिनाहा गर्ने र अरुलाई टोकसेर संस्थाको नाफाघाटा मिलाउने उनको रबैयाले सेयर होल्डरहरुलाई पनि ठुलो घाटा परेको देखिन्छ । भण्डारीकै नजिककि व्यक्ति मानिएकी सब्बु सिंह भण्डारीलाई संस्थाले २०६९ मा लिएको ऋणमा पटक पटक गरी ९ पटक ब्याज मिनाहा गरेको देखिन्छ । सहकारी संस्था सम्बन्धि नियमको ठाडो बर्खीलाप गर्दै उनले संस्थामा यस्तो मनपरी गरेको देखिएको छ ।

‘सब्बु सिंह (भण्डारी) त देखिएकि पात्र मात्र हुन् । सुरेन्द्र भण्डारीले यसरी थुप्रै गलत काम गरेका छन् । हामीले अख्तियारमा उजुरी गरिसकेका छौं । अव यो केस नियमनकारी निकाय र अख्तियारले हेर्छ र सीइओ साप कानुनको फन्दामा पर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । देशमा कानुन छ । यहाँ मनपरी गर्न मिल्दैन । अझ सहकारीजस्तो संवेदनशील कुरामा त झन् मिल्दै मिल्दैन ।’ सहकारी संस्थाका उपल्लो तहका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।

सहकारी मन्त्रालय अन्तर्गत रहेको नियमनकारी निकाय सहकारी विभागको फितलो अनुगमनका कारण सहकारी ऐनको ठाडो बर्खीलाप भएको भएपनि तैं चुप मै चुपको शैलीमा सबै लाग्दा यसले समग्र सहकारीमा विकृति त ल्याएको छ नै सेयर होल्डरले पाउने प्रतिफलमा समेत असर परेको छ । 

            

स्व अनुगमनका नाममा मनपरी ! कसले छुने ठुलाबढालाई ?
श्री लालीगुराँस सहकारीमा यतिसम्म मनपरी छ कि यहाँ नियमित रुपमा डिपोजिट गर्नेहरुले कम ऋण लिइरहेका हुन्छन् भने नियमित डिपोजिट नगर्ने तर संस्थाको पैसा चलाउनेहरु बढी सक्रिय भएका छन् । यो सहकारीमा यतिसम्म मनपरी छ कि सुरेन्द्र भन्डारिका आफन्तले वा नजिकका व्यक्तिले चाहेको खण्डमा एक दिनमै ठुलो रकमको कर्जा प्रवाह गरिएको छ । अझ सहकारीका भित्री तथ्य खोतल्ने हो भने त कतिपय अवस्थामा भण्डारीका आफन्त र साथीभाइले पैसा लगेर चलाईसकेपछी बल्ल सहकारीमा इन्ट्री हुने गरेको समेत पाइएको छ । तर औपचारिकताका लागि गरिने लेखापरिक्षण र नियमनकारी निकायको फितलो उपस्थितिका कारण संस्था भित्रभित्रै धरासायी भइरहेको छ । संस्थामा अर्को मनोमानी पनि छ । नियमित रुपमा डिपोजिट गर्नेहरुले समयमा सजिलो गरी ऋण पाउँदैनन् तर सुरेन्द्र भण्डारीका आफन्तले मनपरी ढंगले एक दिनमै सबै प्रक्रिया नै नपुर्याई पैसा लाने र प्रक्रिया पछी पुर्याउने गर्दा ठुलो ‘सिष्टम रिस्क’ पनि देखा परेको छ । यस सम्बन्धि थप विवरण हामी आगामी अंकमा प्रस्तुत गर्छौं !



भण्डारीलाई कसले कारवाही गर्ने ? यस्तो छ कानुनी व्यवस्था 
यसो त सहकारीले ठग्ने गरेको वा सहकारीमा बसेर ठुलाबढाले मनपरी गर्ने गरेको समाचार नौलो होइन । तर शक्तिकेन्द्रका आडमा मनपरी गर्नेहरुलाई कार्वाहि हुन सकेको छैन । कानुनी व्यवस्था पल्टाउने हो भने सहकारीमा बसेर गलत काम गर्नेलाई वा ठगी गर्नेलाई सहकारी ऐन २०७४ अनुसार कारवाही हुने गरेको छ । यो ऐनले सहकारी सम्बन्धि ठगीलाई पनि बैंकिङ कसुर अनुसार कारवाही हुने उल्लेख गरेको छ । यसकारण सहकारीमा ठगी गर्ने जो कोहि बैंकिङ कसुरको सजायको भागीदार हुनुपर्छ । 

कानुनी प्रक्रियालाई अझ थप हेर्ने हो भने यस्तो ठगी कसुर प्रमाणित भएमा  ठगीको प्रकृति हेरेर कारवाही गर्न सकिने व्यवस्था छ । कसुरमा १ लाख रुपैयाँसम्म बिगोमा एक वर्ष,  दश लाख रुपैयाँभन्दा बढी ५० लाखसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म, र एक करोड रुपैयाँभन्दा बढी दश करोडसम्मको हकमा ६ देखि आठ वर्ष कैद सजाय हुने भन्ने स्पष्ट लेखिएको छ । अझ दश करोडभन्दा बढी जतिसुकै बिगो भएपनि न्युनतम ८ देखि १० वर्ष सम्म कैद सजाय हुनेछ भन्ने सजाय स्पष्ट रुपमा तोकिएको छ । तर कानुनलाई ठाडो चुनौती दिएर आफ्नाहरुलाई स्व अनुगमनका नाममा छुट दिने, आफ्नालाई ब्याजदर छुट दिने र अरुलाई टोकसेर जनताको डिपोजिटमा मनपरी गर्ने सहकारीको रबैयाका कारण सेयरहोल्डरहरुसमेत कम प्रतिफल पाउन बाध्य भएका छन् ।

नियमनकारी तै चुप मै चुपको शैलीमा !
भण्डारीको गलत धन्दा पटक पटक बाहिर आउने गरेको भएपनि उनलाई कसैले पनि छुन सकेको छैन । सहकारी विकास बोर्ड, सहकारी विभाग लगाएतका नियमनकारी निकायका उपल्लो तहका कर्मचारीहरुलाई समेत यस्ता काण्डहरुको बारेमा जानकारी भएपनि उनीहरु पनि तै चुप मै चुप शैलीमा काम गरिरहेका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार भण्डारीका विभिन्न कर्तुत सम्बन्धि जानकारी विभिन्न निकायमा पुगीसकेको छ । तर उनलाई कसैले पनि कारवाही गर्ने आँट गरेको देखिंदैन ।  यसो त मिडियाका अगाडी अन्य सहकारीका बारेमा ठुलो गफ दिने विभागका हाकिमहरु लालीगुराँस सहकारीका बारेमा केहि पनि बोल्न चाहादैनन् । यसबारेमा बुझ्न हामीले सुरेन्द्र भण्डारीलाई समेत सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर हामीले गत बिहिबार दिउँसो, शुक्रबार दिउसो र आइतबार दिउँसोसमेत उनलाई सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आएनन् ।   यसरी उनले आफ्नो गल्ती नसुधार्ने मनपरी ढंगले काम गर्ने र आफ्नालाई पोसाएर अरुलाई ठगीरहने प्रवृतिका कारण बाहिर राम्रो देखिएको सहकारी भित्रभित्रै ओरियन्टल को–अपरेटिभ लिमिटे हुने लाइनमा रहेको सहकारीका अन्य कर्मचारीहरु बताउँछन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: