×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीलाई क्याप्टेन बिजय लामाको पत्र, ‘यस्ता छन् जनताका ९ अपेक्षा…पूरा हुन्छ भन्ने ठूलो छ आश’

PRIME CA

प्रधानमन्त्री ओलीलाई क्याप्टेन बिजय लामाको पत्र, ‘यस्ता छन् जनताका ९ अपेक्षा…पूरा हुन्छ भन्ने ठूलो छ आश’

अर्थ सरोकार

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < ५ मिनेट

  • क्याप्टेन बिजय लामा
सम्माननिय प्रधानमन्त्री ज्यू,
नमस्कार ! अघिल्लो समय सपनाहरुको आकार खडा गरेर नेतृत्वबाट बाहिरिनुभएका तपाईं फेरि पनि बहाली हुनुभएर महिना दिन कटाइसक्नु भएकोमा हार्दिक बधाइ ! यो बीचमा जनताको ठुलो मत पाएर फेरि जनताको सेवा गर्ने जुन मौका पाउनुभएको छ, त्यसका लागि पनि बधाई ! राजनीति, वा राजनीतिक स्वार्थ सबै दलका होलान्, तर जनताले तपाईंको नेतृत्वमा सारा नेपालीको स्वार्थ देखेका छन् । सारा नेपालीको सपना छ तपाईंको काँधमाथि । यत्रो ठुलो जनमत पाएकोमा पनि धेरै धेरै बधाई छ ! 
उदाउँदो सुर्यको प्रकाशजस्तै तपाईंले आफ्नो नेतृत्वको मीठो सगुन पस्किसक्नु भएको छ । तपाईंले तयार गर्नु भएको मन्त्रीमण्डलबाट जनताले ठुलो आस राखेका छन् । र यो नेतृत्वले नेपाललाई साँच्चैको ‘नयाँ नेपाल, स्वाभिमानी नेपाल, स्वावलम्भी नेपाल र समृद्ध नेपाल बनाउन कोशेढुंगा सावित हुनेछ भन्ने आशा हामीले लिएका छौं ।
समयको बेग आफ्नै हुन्छ । न यो रोकिन्छ, न छेकिन्छ । समयको त्यहि बेगसँगै अव देश र जनतालाई नयाँ मार्गमा लानुहुन्छ तपाईंले भन्ने कुरामा हामी विश्वस्त छौं । यो ठुलो र आफ्नै बेगको समय जान केही बेर लाग्दैन । त्यही समयको कदर गरि देश निर्माणतिर लम्कन मात्र बाकी छ ! तपाईंले त्यहि बेगमा बगेको समयसँगै समृद्धिका मुनाहरु पलाउनुहुनेछ भन्ने कुरामा जनता आशावादी छन् । आखिर सपना नदेखी समृद्धि कहाँ सफल छ र ?
म मात्र होइन, सारा नेपालीको यहि आशा छ, तपाईंले देशमा बिकासको लहर ल्याउनुहुनेछ । नेपालीको स्वाभिमानलाई सगरमाथाजस्तै अटल बनाइदिनुहुनेछ । पूर्खाले आर्जेको यो विशाल नेपालको स्वाभिमान र नागरिकको शीर झुक्न दिनुहुने छैन ।
देश लामो समय गृहयुद्धमा फस्यो । आज राजनीतिक माग राखेर जंगल पसेका योद्धाहरु पनि तपाईंको समृद्धिको सपनालाई थप साहस दिन तपाईंकै पार्टीसँग आफ्नो सहमति दर्ज गरेर बाम एकता हुने संघारमा देश छ । अव यो गठबन्धनले देशमा राजनितिक, आर्थिक र सामाजिक स्थायित्व ल्याउने कुरामा जनताले ठुलो आशाको पोको बोकेर बसेका छन् । र त तपाईंको समृद्धिको सपना र योजनामा जनताले आफ्नो मत दर्ज गरेर तपाईंलाई शासनसत्ताको बागडोर सम्हाल्ने ठुलो जिम्मेवारी दिएका छन् । जनताको त्यहि मतले तपाईंको काँधमा गहन जिम्मेवारी थपिएको छ । 
एउटा भोको नागरिकले खान पाउने आशा गरेको छ । गरिव नागरिकले एक सरो कपडाका लागि अव दुख पर्दैन भन्ने बुझेको छ । कुनै बेला बन्दुकको आवाजले त्रसित बनेका नागरिकले तपाईंको आँखामा बिकासका ठुला ठुला प्रतिविम्बहरु देखेका छन् । 
तर यति ठुलो जिम्मेवारी सहज हुने कुरै भएन । तीतो सत्य सबैलाई थाहा छ हामी नेपालीको बानी नराम्रोसँग बिग्रिएको छ । ‘यस्तै त हो, केहि हुनेवाला छैन, जुन ‘जोगी’ आएपनि कानै चिरेको त हो’, नेपाल कहिले पनि नबन्ने भो, आदी आदी ।’ नेपालीको मनमा बसेको यहि हिनताबोधको त्रासलाई तपाईंले शक्तिमा बदल्नुपर्नेछ । भ्रष्टाचारले त्राहिमाम बनेका नागरिक, आधारभूत आवश्यकता पनि नपाएका दुखी जनता र तीनको आशाको त्यान्द्रो बन्नुभएका तपाईंले ती सब देशबासीलाई आफ्नो कामबाटै सम्बोधन गर्न जरुरी छ । 
सोचले मानिसको चरित्र बन्दछ । चरित्रले क्षमता बनाउँछ । र क्षमताले बिकास । तपाईं सकारात्मक सोचको धनी हुनुहुन्छ । त्यहि गुणलाई नै आफ्नो शक्ति मानी अघि बड्नुपर्छ जस्तो लाग्छ मलाइ र सायद आम नागरिकलाई पनि ! गरे जे पनि गर्न सकिन्छ । बस् त्यसको लागि मन हुनुपर्छ त्याग सहितको ! मलेसियाले ‘छि’ भनेर छोडेको भूगोललाई एक नेताले कसरी सिंगापुरजस्तै समृद्ध राष्ट्र बनाए ? जनतासँग मर्नुको विकल्प नभएको मरभुमि कसरि ‘मरिसियास’ जस्तो समृद्ध बन्यो ? इतिहास साक्षी छ, गरे नसकिने केहि पनि छैन ।
तपाईंले गर्न धेरै काम छ । धेरै तपाईंले बुझ्नुभएको होला, केहि नागरिकले बुझेका छन् । म त्यहि नागरिकको भीडमा बसेको एक अर्को नागरिकले बुझेको सत्यचाहिं यस्तो छ : 
१. सबै कुराबाट माथि उठेर काम गर्नु सक्नुपर्छ नेपाल र नेपालीहरुका लागि तपाईंले । स्वार्थको व्यापारले चुर्लुम्म डुबेकाहरुको संगत छाडेर जनताको सपनाको पहरेदार बन्नुपर्छ तपाईं । 
२.मन्त्रीमन्डल राम्रो व्यक्तिहरुको जमात हो भन्ने बिश्वास लिएका छन् जनताले । हाम्राहरुको झुण्ड होइन भनेर ठुलो आश लिएका छन् जनताले । तपाईंले यो आशामा बिकासको मूल फुटाएर देखाउनुछ जनतालाई, ‘समृद्धि कहाँ टाढा छ र ?’ भनेर ।
३. तपाइको कार्यकालमा जे जस्तो भएपनि हामी नेपालीहरुले राहत पाउनु पर्यो । देश बन्दैछ भन्ने महसुस दिलाईदिनु पर्यो । समृद्ध नेपाल सम्भव छ भनेर कामले बुझाइदिनु पर्यो । 
४. म त जहाज उडाउने मान्छे । देख्छु देशको पीडा हरेक दिन एयरपोर्टमा । दिनहुँ हजारौको संख्यामा बिदेशीन बाध्य भएका दाइ, भाइ, दिदी, बहिनीहरुलाई देशमा नै रोजगारको सृजना गरिदिनु होला । स्वदेश फर्कन सक्ने वातावरण बनाइदिनुहोला । ताकी बिदेश गएर दुख पाउनु नपरोस् कुनै पनि नागरिकले । आफ्नी मायालुको काख छोडेर बालबच्चाको न्यानोपन छाडेर अनि आफु हुर्केको माटो छोडेर मरभुमिका आफ्नो रगत र पसीना बगाउन हिंडेका नागरिकलाई होइन, समृद्धिको पाठ पढाउन विदेश हिंडिरहेका नागरिकहरुलाई आफ्नै ध्वजाबाहक विमानमा उडाउने सौभाग्य पाउन्, मजस्ता विमान चालकहरुले ।
५. ४२ वटा संस्थानहरुलाई जसरी भए पनि फेरि सहि मोडमा ल्याउन पहल गरिदिनु पर्यो । आखिर उद्योगको समृद्धि विना देशको विकासको बाटो कहाँ बन्छ र ? बिशेष गरेर नेपाल एयरलाइन्समाथि ध्यान होस् तपाईंको । समृद्धिका लागि पर्यटनको विकासको आवश्यकता बुझ्नुभएको तपाईंले त्यसका लागि नेपाल एयरलाइन्सको भूमिका बुझ्नुभएको छ भन्ने कुरामा कुनै शंका छैन । यहि विमानमा राखेर पर्यटकहरुलाई गौतम बुद्धको पवित्र देशमा समृद्धिका मुनाहरु हेर्न ल्याउन सकोस् एउटा विमान चालकले । र गर्वका साथ भन्न सकोस्, ‘जय चन्द्र सुर्य! ‘
६. शिक्षा क्षेत्रमा विशेष ध्यानाकर्षण गराउन चहान्छु । निजी विद्यालयहरु भित्र देखिएका अनियमितताहरु र लुट रोकियोस् ! सरकारी र सामुदायिक विद्यालयहरुको स्तर उन्नति होस् । शिक्षामा राजनीति होइन, राजनीतिमा शिक्षाको प्रभाव देखियोस् ।
७. भ्रष्टाचारीहरुलाइ कडा भन्दा कडा सजाय दिने नियम ल्याइयोस् । खास गरेर सरकारी पदमा बहालीवालाहरुमाथि यो नियम कडाका साथ लागू गराइयोस्, एक सरो कपडानहुनेहरुलाई पुष र नागरिकहरुलाई घुसले कति पिरोलेको छ, तपाईंलाई थाहा नै होला । यसलाई बन्द गरियोस् ।
८. कुनैपनि समय सरकारी कार्यालयमा र संस्थाहरुमा छड्के हानेर कर्मचारीलाई आफ्नो काम र कर्तव्यमाथि निगरानी राखेको महसुस दिल्याइयोस् । घुस खाने अनेक बहाना जानेका घुसियाहरु तपाईंको काम देखेर डराउन् । आखिर गलत गर्नेलाई भयको सिकार बनेमात्र सहि गर्नेको जय हुन्छ । 
. स्वास्थ्य सेवाको क्षेत्रमा कडाभन्दा कडा निएम ल्याएर व्यापक सुधार ल्याई जनतालाई राहत दिलाइ दिनुपर्यो ! सरकारी अस्पतालहरुलाई पुन: राम्रो बनाइयोस् ताकी निजी अस्पतालको भरमा मात्र थुप्रै पैसा तिरेर उपचार गर्न बाध्य भएकाहरुले राहत पाउन ! स्वास्थ्यको व्यापार बन्द होस् । 
हाम्रो देशमा केही कुराको पनि कमी छैन । सारा विश्व पखाल्नसक्ने पानी छ हामीसँग । विश्वलाई शान्तिको पाठ पढाउने बुद्धको हक छ हामीसँग । सपनाका पानाहरुमा समृद्धिका अक्षर कोर्न सक्ने साहस छ हामीसँग । गोर्खालीले बनाएको इतिहासको सुख र वर्तमानमा बिकासका गोरेटोहरु बनाउन सक्ने क्षमता छ हामीसँग । मात्र कमी छ त अनुशासनको । यति कुरामा ख्याल गरे हाम्रो देश बन्न धेरै समय लाग्दै लाग्दैन ।
प्रधानमन्त्रीज्यू, तपाईंले यति गरिदिनुभए यो देश बन्न अर्को पुस्ता कुर्ने पर्दैन । र शुभकामना छ तपाईंलाई यो समृद्धिको यात्राका लागि । यात्राको कमाण्डका लागि ! 
जय चन्द्र सुर्य ।
क्याप्टेन बिजय लामा

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: