
काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले सेयर मूल्यमा हुने उतारचढावलाई आधार मानेर भन्दा पनि नीतिगत सुधारबारे कुराकानी गरेर अगाडि बढनुपर्ने बताएका छन्। स्टक ब्रोकर र लगानीकर्तासँगको भेटमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्। स्टक ब्रोक र लगानीकर्ता संघले बिहीबार संयुक्त रुपमा खतिवडालाई भेटेका थिए।
उक्त अवसरमा अर्थमन्त्री खतिवडाले आफूलाई सेयरको मूल्य घट–बढभन्दा पनि आर्थिक सुधारसँग मात्र मतलब भएको बताएका थिए। भेटमा ब्रोकरहरुले भ्याटका कुरा उठाएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। ‘ब्रोकरले पुँजी बजारमा भ्याट लगाउन नहुने सुझाव दिएका थिए,’ उनले भने, ‘हामी (लगानीकर्ता) ले अनलाइन कारोबार, मार्जिन लेन्डिङ लगायतका कार्यक्रम छिटो ल्याउन पहल गर्न आग्रह गरेका थियौं।’
ब्रोकर र लगानीकर्ता संघले दिएको सुझावमा अर्थमन्त्री खतिवडा सकारात्मक रहेको जानकारी पनि उनले दिए। ‘हरेक नेपालीको हातमा सेयर, घरमा पैसा र बैंकमा केही निक्षेप होस् भन्ने चाहना हाम्रो छ,’ अर्थमन्त्रीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘नीतिगत सुधारमा लागेको छु, सेयर मूल्य घटवढमा मेरो सरोकार छैन।’
‘सेयर बजार ध्वस्त (क्र्यास) पार्ने र अनि खरिद गर्ने तयारीमा कोही हुनुहुन्छ भने मेरो सहमत छैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘सेयर बढाएर बेच्छु र बजारबाट निस्कन्छु भन्ने सोचमा कोही छ भने पनि मेरो त्यसमा सहमति छैन।’
लगानीकर्ताले बजारको उतारचढाबले समस्या परेको भन्दै सुनुवाइ माग गरेका थिए। लगानीकर्ताले माग राख्न थालेपछि अर्थमन्त्रीले आफूले कहिले बजार घट्नु पर्छ भनेर मन्तव्य नदिएको बताए। ‘तपाईंहरु अर्थमन्त्रीले यसो र उसो भन्यो भनेर किन आलोचनामा उत्रिनुभयो,’ उनले कडा रुपमा प्रस्तुत हुँदै भने, ‘मैले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको छैन।’
अर्थमन्त्री खतिवडाले एक साताअघि विराटनगरमा सेयर बजार घट्नु स्वाभाविक प्रक्रिया भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि सेयर मूल्य घटेको लगानीकर्ताको भनाइ छ । यसअघि पनि खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि सेयर बजारमा उच्च गिरावट आएको आरोप लगानीकर्ताले लगाएका थिए।
खासगरी लगानीकर्ता संघ–संगठनहरुले अर्थमन्त्रीले सेयर बजार घटाउने खालको अभिव्यक्ति दिएको भन्दै आलोचना गरिरहेका छन्। त्यसतर्फ संकेत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘सिजनमा काउलीको भाउ २० रुपैयाँ किलोमा पनि झर्छ । बेसिजनमा महँगिएर सय रुपैयाँ पनि नाघ्छ । सेयर बजार पनि त्यस्तै हो।’
उक्त अवसरमा अर्थमन्त्री खतिवडाले उत्पादनमूलक कम्पनीलाई पनि सेयर बजारमा ल्याउन पहल गरिरहेको बताए। तीन खम्बे अर्थनीति अनुसार स–सानो पुँजी परिचालन गरी समग्र रुपमा आर्थिक विकास गर्ने लक्ष्य लिएको पनि अर्थमन्त्री खतिवडाले बताए।
लगानीकर्ताले बजारको स्थिरताको लागि नागरिक लगानी कोष र सञ्चय कोषलाई बजार निर्माताका रुपमा भिœयाउन समेत माग गरेका थिए। ‘यस विषयमा मैले तीन वर्षअगाडि नै काम अघि बढाएको थिएँ, अहिलेसम्म केही भएको छैन,’ उनको भनाइ उद्धृत गर्दै एक लगानीकर्ताले भने, ‘सेयर खरिद–बिक्रीको दायरा बढाउनु पर्छ। किन्ने जति हुन्छन्, बेच्ने पनि त्यत्ति नै भए भने के हुन्छ त्यो त तपाईंहरुलाई पनि थाहा नै छ।’
बजार विकासको लागि सामूहिक लगानी कोष कम्पनीहरुको व्यवस्था भए पनि उनीहरुले बैंकमा जम्मा गरेर ब्याज खाने गरिरहेको गुनासो लगानीकर्ताले गरेका थिए। अनलाइन प्रणाली आउन ढिला भएको भन्दै गुनासो पोखेका लगानीकर्ता र ब्रोकरलाई उनले नीतिगत सुधारमा जोड दिएर अगाडि बढ्न र त्यसमा साथ दिन आग्रह गरेका थिए। ‘कम्पनीको वित्तीय अवस्था नहेरी, चुरोट खाएर स्क्रिनमा हेरेर सेयर खरिद–बिक्री गर्दाको परिणाम सुखद हुँदैन,’ अर्थमन्त्री खतिवडाको भनाइ उद्धृत गर्दै सहभागी एक लगानीकर्ताले भने, ‘सेयर मूल्यको मुद्दा नआउनुस्, नीतिगत विषयमा कुरामा लिएर मात्र आउनुहोस्।’ – नागरिकबाट साभार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्