
काठमाडौँ – गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ ।
यो तस्करीका मुख्य पात्र हुन्, मोरङका चुडामणि उप्रेती ‘गोरे’ । दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन् ।
उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार भएका हुन् । सनमलाई यातना दिनुअघि गोरे अपहरणमा परेको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ ।
समिति स्रोतका अनुसार लुटिएको ३३ किलो सुनका मालिक मोहन अग्रवालले गोरेलाई अपहरण गरी यातना दिएका थिए ।
तस्करीको सुन ल्याउन त्रिभुवन विमानस्थलमा सेटिङ मिलाउने जिम्मा गोरेको थियो। सुन कहाँ, कसलाई, कहिले दिने चाँजोपाँजो राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङले मिलाउँथे ।
विमानस्थल आइपुगेको सुन एयरलाइन्सका कर्मचारीले भजुङले भनेको ठाउँ ल्याइदिन्थे । फागुन पहिलो साता आएको दुबईबाट आएको तस्करीको ३३ किलो लुटियो ।
विमानस्थलबाट आएको सुन भुजुङले भनेको मान्छेलाई दिन थाई एयरका लोडर सानु बन अनामनगर पुगे । त्यो दिन भुजुङ सुन अरूलाई दिने पक्षमा थिएनन् । बरू आफै लिने योजनामा थिए । गोरेले पठाएका मानिसले सानुबाट सुन लुटे ।
सुन लुटिएको खबर गोरे, भुजुङ हुँदै मोहन अग्रवालसम्म पुग्यो । ३३ किलो सुन अग्रवालले नै मगाएका थिए । ‘मलाई जसरी पनि सुन चाहिन्छ,’ भन्दै अग्रवालले सुन खोजी थाले ।
‘सुन कसले लुटेको नखुलेपछि अग्रवालले गोरेलाई नै अपहरण गरी अज्ञात स्थलमा लगे र यातना दिन थाले,’ समिति स्रोतले भन्यो । अग्रवालका केटाहरूको पिटाइबाट गोरे घाइते भए ।
‘जसरी भए पनि सुन निकाल्छु, दैनिक कामको प्रगति दिन्छु’ भन्ने वाचा गरेपछि अग्रवालले गोरेलाई छाडिदिए । अपहरणमुक्त भएपछि गोरेले हराएको सुन खोज्न भुजुङसँग कुरा गर्न खोजे । भुजुङले भेट्न मानेनन् । सहयोगी पठाए ।
भुजुङका सहयोगीसँग गोरेको बैठक बस्यो । गोरेले भने– हराएको सुन जसरी भएपनि खोज्नु पर्छ हैन भने मेरो बेहाल हुन्छ । काम देखाउन उनले त्यो मिटिङको भिडियो बनाएर अग्रवाललाई पठाए ।
आफ्ना समूहका सबैको एकएक गर्दै वयान लिएर भिडियो बनाएर अग्रवाललाई पठाए । सनम शाक्यलाई यातना दिएको भिडियो पनि गोरेले अग्रवाललाई पठाउन बनाएका थिए ।
स्रोतका अनुसार अग्रवालको कुटाइबाट घाइते भएका गोरेले सुन खोज्न भन्दै आफ्नै समूहका सबैलाई कुटेर यातना दिए ।
गोरेले सुरूमा गौरीघाटको एक वर्कसपमा लगेर केरकार थालेका थिए । गोरेको यातनाकै कारण सानु बनले पनि आत्महत्या गरेको छानबिन समितिको ठम्याइ छ ।
‘सुन नेपाल ल्याउने जिम्मा गोरेको भएकाले अग्रवालले भुजुङभन्दा पहिला गोरेलाई समाते र यातना दिए,’ स्रोतले भन्यो, ‘ यातना पाएपछि गोरे झनै सुरो भयो र अरुलाई यातना दिन थाल्यो ।’
सनम शाक्यलाई यातना दिइरहेको एउटा भिडियोमा गोरेले सुन फेला नपरेको तनावले आफू २० किलो घटेको बताएका छन् ।
‘म २० किलो घटिसकें सुन कहाँ छ भन्,’ उनले भनेका छन् । गोरेको यातना सहन नसकेर सनमको मृत्यु भयो ।
स्रोत भन्छ, ‘सुन लुटेरा र सानु बनबीच सम्बन्ध छ, हराएको सुन खोजी हुन थालेपछि सानुलाई लुटेरा समुहले मुख खोले बाँकी नराख्ने धम्की दिएका थिए, भने यता गोरेले त यसै यातना दिँदै आएका थिए, त्यही यातनाको तनावले सानुले आत्महत्या गरे ।’
गोरेले आफ्ना सहयोगीलाई नै दिएको यातनाका १८ ओटा भिडियो फेला परेका छन्। समितिले प्रमाणका रूपमा ती भिडियो अदालत पेश गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्