
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- स्थायी कर्मचारीहरुलाई निकाल्न नमिल्ने नियमका कारण कर्मचारीहरु स्थायी भएपछि रबैया देखाउन थालेको भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकले त्यस्ता ‘असक्षम’ कर्मचारीहरु वा संस्थालाइ सन्तुष्ट नपार्ने गरी काम गर्ने कर्मचारीलाई भकाभक निकाल्ने नयाँ रणनीति अपनाएको खुलासा भएको छ । पद दिने तर काम नदिने, पद दिने तर तल्लो स्तरको जिम्मेवारी दिने, पद दिने तर प्रमोसन नगर्ने, ठुलो पद दिने तर साना ब्रान्चहरुको जिम्मा दिने काम बैंकले गरिरहेको छ भने यहि कारण बैंकबाट कतिपय कर्मचारीहरु बैंकबाट निस्किन बाध्य भएको रहस्यको खुलासा भएको छ । बैंकको नेतृत्वले यस्तो रणनीति ल्याएपछि काम गर्न नसकेका, विवादमा परेका, राष्ट्र बैंकको तगारोमा परेका केही नेपाल इन्भेष्टमेन्ट बैंक छोडेर आफु निकटका बैंकरहरुलाई अरु बैंकमा ‘एडजस्ट’ गर्न हार-गुहार गरिरहेको खुलासा भएको छ ।
एउटा उदाहरण : एजीएम पदकै कर्मचारीलाइ यसरी पेल्यो एनआइबीएलले !
बैंकको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार बैंकको एजीएम पदमा रहेका रविन सिजापतिलाइ बैंकले निकाल्न ठुलो प्रयास गरिरहेको छ । सुरुमा एउटा सिंगै विभागको जिम्मा पाएका सिजापतिले बैंक सन्तुष्ट हुने गरी काम नगरेको भन्दै बैंकले उनलाई केहि ब्रान्चहरुको जिम्मेवारी दिएको थियो । पदमा एजीएम तहमा रहेका उनी चार्टड एकाउन्टेन्ट पनि हुन् । उनलाई बैंकले रिजनल ब्रान्च मेनेजरको रुपमा काम गराईरहेको छ ।
तर उनलाई बैंकले विभागको नेतृत्व तहबाट निकालेर केहि ब्रान्चको जिम्मेवारी दिएपछि अहिले उनी बैंकले आफुलाई निकाल्न खोजेको थाहा पाएर आफु प्रमोटरसमेत रहेका केहि बैंकहरुमा जागिरका लागि भनीरहेका छन् । यस अघि राष्ट्र बैंकको जागिरे समेत रहेका उनले आफु राष्ट्र बैंकमा हुँदा लाइसेन्स दिएका केहि बैंकहरुमा आफुलाई सीइओ बनाइदिन संचालक समितिसँग कुराकानी गरेको समेत स्रोतको दावी छ । यद्यपी यस विषयमा हामीले उनलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।
यसो त रविन सिजापति एउटा प्रतिनिधि उदाहरण मात्र हुन् । बैंकले केहि डिपार्टमेन्ट हेड र ब्रान्च मेनेजरहरुलाई समेत आफ्नो जिम्मेवारीबाट हटाउने तयारी गरिरहेको छ । यहि कुरा थाहा पाएर केहि ब्रान्च मेनेजरले अर्को बैंक जागिर खोजीरहेका छन् भने कहिले आफ्नो जागिर जोगाइदिन नेतृत्वलाइ ‘ज्याक’ लगाईरहेका छन् ।
के भन्छ बैंक ?
यता बैंक भने यस विषयमा बोल्न चाहेको छैन । हामीले पटक पटक यस विशयामा बैंकको नेतृत्वसँग बुझ्न चाहेपनि बैंकले यस विषयमा केहि बोल्न चाहिरहेको छैन । यता आफ्नो नाम नबताउने सर्तमा बैंकका एक उच्च तहका कर्मचारीले भने केहि ठुला तहका कर्मचारीहरुलाई निकाल्ने गरी कुटनीतिक प्रयास भइरहेको स्वीकारेका छन् । ‘ यो हाम्रो बैंकको मात्र कुरा होइन । धेरै बैंकमा यस्तो हुन्छ । पर्मानेन्ट स्टाफ भएपछि हटाउन मिल्दैन । के गर्ने ? अनि यस्तै यस्तै काम गर्नुपर्छ ।’ ती कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘अव नाम नै मैले भन्न मिल्दैन । तर एजीएम तहका कर्मचारीसमेतलाइ निकाल्ने बैंकको तयारी हो । यसका लागि बैंकले वातावरण बनाउन लागि परेको पनि सत्य हो । ती कर्मचारीले यो कुरा थाहा पाएर आफ्नो व्यवस्था गरिरहेको पनि सत्य हो ।’