
अनिल केशरी शाह । केहि दिन अघिमात्र नबिल बैंक लिमिटेडमा सीइओ नियुक्त भएका बैंकर । सन् १९९१ बाट आफ्नो बैंकिङ करियर सुरु गरेका शाह अवको ४ बर्ष नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत बनेर रहनेछन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १३ बर्ष बिताएका उनी त्यसपछि नबिल फर्किएका थिए । नबिलपछि उनी मेगा गए र मेगामा कार्यकाल सकिएपछि उनी पुन: नबिल फर्किए ।
कलेज पढ्ने केटाकेटीदेखि बैंकिङबारे खास नबुझेकाहरुले पनि चिन्ने पात्र हुन् अनिल शाह । धेरैका प्रेरणाका स्रोतसमेत बनेका छन् उनी । कतिपयले बैंकर भन्छु भन्दा पनि ‘अनिल शाहजस्तो बैंकर बन्छु’ भनेर सपना बुन्ने गरेका छन् । यसो त मेगा बैंक छोडेर नबिल बैंकको सीइओ हुँदासम्मको यो बीचको समय उनका लागि त्यति सुखद् बनेनन् । केहि विवादको सामना पनि गर्नुपर्यो । यिनै धेरैले चिनेका बैंकर अनिल शाह अवको ४ बर्षपछि भने बैंकिङबाट नै बिदा लिने सुरमा छन् । यहि सन्दर्भमा अर्थ सरोकारकर्मी सुरज प्याकुरेल र रेखा ग्वायमरुले उनीसँग समसामयिक विषयमा कुराकानी गरेका छन् ।

१. नबिलको सीइओ हुनुभएकोमा बधाई छ । अव नबिलका सेयरहोल्डरले तपाईंबाट के अपेक्षा गर्ने ?
नबिल बैंक एउटैमात्र बैंक जो जसले मर्ज पनि गरेन, एफपीओ जारी पनि गरेन, कुनै संस्थालाई अक्वाएर पनि गरेन । आफैंले कमाएको पैसाले पूँजी पुर्यायो । बैंक ८ अर्व को बैंक भइसक्यो । सेयर होल्डरलाई नबिल बैंकले कहिले पनि दुखी बनाएको छैन । सेयर होल्डरलाई चाहिने भनेको मुख्य २ चीज हो, एउटा रिटर्न, अर्को बैंकको ख्याती । यो ४ बर्षमा म नबिलमा रहँदा बैंकको ब्राण्ड अझै माथि पुगोस् भन्ने धेरैको चाहाना छ । मेरो पनि छ । यो दुवै कुरामा सेयर होल्डरहरु दु:खी हुनुपर्ने छैन । यो ४ बर्षको अवधिमा हामीले धेरै गर्नुपर्ने छ । जुन रफ्तारमा हामी हिंडीरहेका थियौं, त्यसरी मात्र हिड्ने हो भने हामीलाई नम्बर १ हुन गाह्रो हुन्छ । त्यसैले केहि फरक तरिकाले अगाडी बढ्दैछौं । तत्कालका लागि नबिललाई ब्राण्डमा समस्या छैन । नबिल बैंक नचिनेको निकै कम छन् । त्यसैले अव हामी ब्रान्च नेटवर्क बढाउने, ग्राहकहरुलाई बैंकमा झन् आकर्षित गर्ने तर्फ लागेका छौं । ग्राहकले यो भएन र त्यो भएन होइन, नबिलको राम्रा कुराहरु भन्ने बनाउनु छ । त्यसका लागि हाम्रो टिमलाई ‘रि-एनरजाइज’ गर्दैछौं । घर बनाउन जग राम्रो बनाउँदैछौं ।

२. नबिल बैंक त सिष्टममा चलेको बैंक हो, यहाँ अनिल शाहको भूमिका खास छैन भन्ने टिप्पणीलाई कसरि लिनुहुन्छ ?
म पहिलो पटक नबिलमा आउँदा पनि धेरैले यहि भन्थे । त्यो बेला नबिल बैंक नम्बर १ भइसकेको थिएन । हामीले काम गरेर नबिललाई त्यतिबेला पनि १ नम्बर बनायौं । तर जसले त्यसो भनेर टिप्पणी गर्नुभयो, उहाँले गलतचाहिं टिप्पणी गर्नुभएन । किनकि एक जना अनिल शाहले मात्र सबै कुरा गर्न सक्दैन । तर पूरै नबिल टिम लाग्दा गर्न नसक्ने केहि पनि छैन । जुन सीइओले टिमलाई बुझ्छ, त्यो नै सफल हुन्छ । ‘म’ होइन ‘हामी’ बनेर अगाडी बढ्यौं भने नबिल बैंकलाई नम्बर १ हुनबाट कसैले रोक्न सक्दैन । अनिल शाहले पनि आफ्नो पसीना बगाएको हो । बुद्धी चलाएको हो । तर बैंकमा काम गर्ने सेक्युरिटी गार्ड देखि ड्राइभरसम्मले मिलेर काम गरेको हुनाले बैंक यति माथि आएको हो । अव आउने ४ बर्षमा हामी कुरा कम गर्नेछौं । काम बढी गर्नेछौं । मेरो बैंकमा एउटा सपना छ । यो पहिलो जोइन्ट भेन्चर बैंक पनि भएकाले बाहिर पैसा कमाएर यहाँ डीभीडेन्ड ल्याउन चाहान्छु । त्यसका लागि हामी प्रयास गरिरहेका छौं । त्यो नेपाली बैंकिङका लागि नयाँ अनुभव हुनेछ ।

३. तपाईं अव ४ बर्षपछि बैंकिङ नै छोड्दै हुनुहुन्छ भन्ने सुनिएको छ, कुरा के हो ? ४ बर्ष पछि अनिल शाहले के गर्छ ?
हो, यो मेरो ‘लास्ट इनिङ’ हो । यो बीचमा धेरै बैंक परिवर्तन पनि गरिन । १३ बर्ष हालको स्ट्याण्डर्ड चार्टडमा काम गरें । त्यसपछि ६ बर्ष नबिल बैंकमा गरें । ८ बर्ष मेगा बैंकमा गरें । अहिले नबिलमा आएको छु । म भित्र एउटा भिजन थियो, छ । ३५ बर्ष बैंकिङमा काम गरें । त्यो पूरा गरेपछि अव बैंकिङ पुग्यो । त्यसपछि अनिल शाह फेरि घरमा बसेर टिभी हेरेर बस्ने भन्ने पनि होइन । लिडरशिप कोच बनौंला, फोटोग्राफर बनौंला, कन्सलट्यान्ट बनौंला । के गर्ने भन्ने सोचेको छैन । तर बैंकिङचाहिं छोड्छु ।

४. त्यसपछि अनिल शाह राजनीतिमा आउने कुरा सुनिएको छ नि ? अहिलेदेखि त्यसैको तयारी हो कि ?
म राजनीतिमा लाग्ने भएको भए अहिले नै लाग्थें होला । पहिला राजनीतिको बारेमा खुब बहस गरेको पनि हो, कुरा गरेको पनि हो । आगामी दिनमा पनि त्यो गरि नै रहन्छु । तर सक्रिय राजनीतिमा भने लाग्दिन । त्यसरी राजनीति गर्नु नै थियो भने ३० बर्ष अघि गर्नुपर्थ्यो । अव त्यस्तो कुनै प्लान छैन ।

५. यति लामो समय बैंकिङमा लाग्नुभयो, के पाउनुभयो, के गुमाउनुभयो ?
मैले धेरै कुरा पाएँ । आज अनिल शाह बैंकिङकै कारण अनिल शाह बन्न सकेको हो । नाम पनि राम्रो कमाएँ । दाम पनि कमाएँ । तर परिवारको सुख गुमाएँजस्तो लाग्छ । म ९-५ जागिर खाएर यो स्थानमा आएको होइन । दिनरात खटेको छु । यो बीचमा परिवारमा दिनुपर्ने समय दिन सकिन । कतिपय साथीहरुले आफ्ना छोरा छोरीलाई घुमाएको, रमाइलो गरेको देख्दा कता कता मनमा चिसो पस्छ । मेरी छोरी अहिले १२ कक्षाको पढाइ सकेर उच्च शिक्षाको तयारी गरिरहेकी छिन् । यहि बीचमा मैले बैंकिङमा समय दिएँ । छोरीलाई दिनुपर्ने समय दिन सकिन । मैले यसकारण पनि अव लास्ट इनिङ भनेको हो । म अनुप दाइलाई खुब सम्झन्छु । उहाँले निकोन एयर सुरु गर्नुभयो । एनएसीलाई नाफामा लैजानुभयो । तर एक दिन एकासी हृदयघात भएर उहाँको निधन भयो । आफ्नो परिवारलाई उहाँले पनि समय दिन सक्नुभएको थिएन । मेरो हकमा त्यस्तो नहोस् भन्ने कुराले मलाइ झस्काईरहन्छ । जिन्दगीको एउटा पारिवारिक पाटोको मज्जा पनि लिनुछ । म अवको ४ बर्षपछि परिवारलाई खुब समय दिने प्लानमा छु ।

६. बुढेसकाल लाग्ने बेला भइसक्यो, अझै यस्तो फिट हुनुहुन्छ । यसको भित्री राज के हो ?
आफ्नो स्वास्थ्य भनेको आफुले कति महत्व दिने हो भन्ने कुरा आफैंमा निर्भर गर्ने कुरा हो । कतिपय युवाहरुले ‘दाइ तपाईंको उमेर भएपछि स्वास्थ्यमा ध्यान दिउँला नि ! अहिले त पैसामै ध्यान दिने हो’ भन्नुहुन्छ । तर मलाई त्यो गलत हो जस्तो लाग्छ । म स्वस्थ हुनुमा निरन्तरताले मुख्य भूमिका खेलेको छ । २५ बर्ष भयो नियमित जिम जान लागेको । जिममै पनि म देख्छु, साथीहरु आउनुहुन्छ, ३ महिना जिम गर्नुहुन्छ अनि जानुहुन्छ । त्यसरी हुँदैन । शरीरलाई निरन्तर व्यायाम चाहिन्छ । अर्को कुरा म रक्सी चुरोट खान्न । अहिले त झन् भेजीटेरिएन भएको छु । हुन त पहिला नखाएको, नपिएको पनि होइन । तर अव पुग्यो । जव आत्मदेखि नै कुनै कुरा गरिन्छ, सफल नभईने कुरै छैन । ज्योतिषले मासु नखानु भनेर छोड्न साच्चै गाह्रो हुन्छ । तर मनदेखि छोड्ने हो भने सबै सहज छ ।

र सबैभन्दा महत्वपूर्ण कुरा भनेको तनाव व्यवस्थापन हो । तपाईंले मैले यो हातमा लगाएको माला देख्नुभएको छ नि । यो लगाउनुको कारण छ । अहिले काठमाडौँमा खुब ट्राफिक समस्या छ । खुब जाम हुन्छ । कतिपयले ड्राइभरलाई गाली गर्नुहुन्छ । जवकी ड्राइभरले गरेर त्यो ट्राफिक समस्या समाधान हुने पनि होइन । कोहि सरकारलाई गाली गर्न थाल्नुहुन्छ । त्यसले आफैंमा तनाव बढाउनेमात्र काम गर्छ । म त ट्राफिक जाम भयो कि यो माला निकालेर जप गर्न थाल्छु । मनमा आनन्द पनि हुन्छ, कुन बेला जाम खुल्छ पनि पत्तो हुन्न । आनन्द हुन्छ । जिन्दगीमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै तनाव व्यवस्थापन हो । यहि कारण नै म स्वस्थ छु जस्तो लाग्छ ।

७. अनिल शाहको तलवको खुब कुरा हुन्छ बजारमा । तर २०१० मा तपाईंले पाउने तलवमा र अहिले तपाईंले पाउने तलवमा खास भिन्नता छैन नि ! यसलाई कसरि लिनुभएको छ ? पूरानै शैलीमा व्यवहार कसरि चलाईरहनुभएको छ ?
मैले दामलाई मात्र काम गरेको भए यहाँ हुने थिइन । मलाई स्ट्याण्डर्ड चार्टडमै हुँदा पनि विदेश गएर काम गर्ने राम्रो अवसर आएको हो । त्यसो गरेको भए यहाँ भन्दा निकै बढी पैसा कमाउँथें । तर मैले त्यो सोचिन । आज मलाइ धेरैले चिन्नुहुन्छ, मन पराउनुभएको छ, युवाहरुले मन पराउनुभएको छ, यो सबै मेरो कामले हो । मैले यहि देशमा दिमाग चलाएँ । यहीं पसीना बगाएँ । र यहीं धेरैको प्यारो बनेको छु । पैसाको पछि लागेको भए त्यो सम्भव थिएन । पहिला दाम महत्वपूर्ण थियो होला, मेरो तलव धेरै थियो । अहिले मेरो तलव पहिलाको भन्दा धेरै बढेको यसकारण पनि छैन होला कि मलाइ दाम त्यति महत्वपूर्ण लाग्दैन अहिले । हुन त दाम चाहिन्छ । मेरो घर यहींबाट चल्ने हो । मेरो अन्य व्यवसाय पनि छैन । तर पैसा कमाउने त धेरै छन् नि ! नाम कमाउनेहरु कम छन् । म यहि संस्कारबाट हुर्केकाले पनि मलाइ पैसा ठुलो लाग्दैन । रातभर आनन्दले निदाउन यहि कारण सकेको छु जस्तो लाग्छ । काम गरेको प्रतिफल त पाउनु नै पर्यो । तर दामको पछि मात्र दौडने व्यक्ति सफल हुँदैन जस्तो लाग्छ ।

८. तपाईं मेगा बैंकमा हुँदा केहि बैंकरसँग तपाईंको व्यक्तिगत रुपमा पनि नाम जोडियो । अहिले फेरि सोहि व्यक्तिलाई नबिल बैंक ल्याउँदैहुनुहुन्छ भन्ने चर्चा छ । खास कुरा के हो ?
सुरुमा त जसरी मेरो नाम अरु कोहि बैंकरसँग व्यक्तिगत रुपमा जोडियो, त्यो नै गलत थियो जस्तो लाग्छ । अर्को कुरा अव उहाँ नबिल आउने भन्ने कुरा मलाई त हो जस्तो लाग्दैन । किन कि नबिल बैंकमा अहिलेकै अवस्थामा सक्षम साथीहरु हुनुहुन्छ । अरु बैंकको माथिल्लो तहका मान्छेहरु ल्याउनुपर्छ जस्तो लाग्दैन । त्यो आवश्यक छैन । कुनै दिन आउनुभयो भनेपनि उहाँकै बलबुंताले आउनुहोला । मैले ल्याउने भन्ने कुरा एकदम गलत हो ।

९. तपाईं नबिल बैंककै सीइओ भएको मान्छे, बैंकर्स संघको अध्यक्ष भएको मान्छे, फेरि यहि बैंकमा डेपुटी सीइओ भएर आउँदा अफ्ट्यारो लागेन ?
लागेन । किनकि नबिल बैंक अहिले निकै ठुलो भइसकेको छ । सानो जहाजमा पाइलट भएको व्यक्ति ठुलो जहाज चलाउँदा को-पाइलट हुँदा पनि ठुलो कुरै होइन नि । डेपुटी सीइओ भएर आएपछि पनि धेरै कुरा सिकियो, सिकाइयो, काम गरियो । अव सीइओ भएको छु, ४ बर्ष काम गर्छु । यसमा मलाइ कुनै पनि दु:ख मनाउ छैन । भन्नेहरुले यो अनिल शाहले गलत गर्यो पनि भन्लान् । तर पद ठुलो कुरा होइन । तपाईंले गर्ने काम ठूलो कुरा हो । कामलाई बढी प्राथामिकता दिनुपर्छ । मैले पनि त्यहि गरेको मात्र हुँ । यसमा अफ्ट्यारो मान्ने कुरा नै केहि छैन ।

१०. तपाईंलाई क्रिटिक्स गर्नेहरु किन यसरी बढीरहेका छन् ? तपाईंले नै पहिला काम गरेको बैंकमा पनि तपाईंको खुब कुरा काटिन्छ भन्ने सुनिएको छ नि ? कुरा के हो ?
कुरा काट्नेहरुले काटीरहन्छन् । गन्तब्यमा हिंडेको मान्छे बाटोमा कुकुर भुक्यो रे भनेर त्यहीं अल्झियो भने त उ कहिले पुग्छ र गन्तब्यमा ? अहिले मात्र होइन, पहिला पनि मेरो कुरा धेरैले काट्थे होलान् । तर म त्यस्तो कुराको प्रवाह गर्दिन । काम गर्छु र रिजल्ट दिन्छु । बस् ।

११. मेगा छोड्दादेखि नबिलमा सीइओ हुँदासम्म त अलि अफ्ट्यारो नै भयो होला समय ! होइन र ? तपाईंको यसमा अनुभव ?
हो, यो समय अलि गाह्रो पक्कै भयो । बीचमा अरु धेरै कुराहरु पनि आए । तर सबैभन्दा ठुलो कुरा तनाव व्यवस्थापन हो । म यो समयमा पनि तनाव व्यवस्थापनमा सफल भएँ । म त्यो बीचको समयमा पनि थुप्रै काम गरिरहेको थिएँ । मेगामा अर्को एक कार्यकाल बस्न मिल्छ भन्ने कुरा पनि नआएको होइन । टुरिजम मर्ज हुँदै थियो । आफुले खोलेको संस्था केहि समय अझै काम गरौँ भन्ने पक्कै थियो होला । तर मैले त्यो चाहिन । अनुपमा जी हुनुहुन्छ, अव उहाँले मेगालाई राम्रोसँग चलाउनुहुन्छ भन्ने कुरामा म ढुक्क थिएँ । अहिले उहाँले बैंक राम्रोसँग चलाईपनि रहनुभएको छ । अहिले त झन् टुरिजम बैंक मर्ज भएपछी महेश जी पनि आउनुभएको छ । रबिनाजी पनि हुनुहुन्छ । उहाँहरुले बैंक राम्रोसँग चलाउनुहुन्छ भन्ने कुरामा म ढुक्क छु । त्यसपछि म नबिल आएँ । नबिलको यात्रा पनि सहज थिएन । तर डेपुटी सीइओ भएर आएर मैले यहाँ धेरै काम गरें । अहिले खुसी छु ।
क्रमश:
(माथिका सबै तस्विर सहकर्मी रेखा ग्वायमरुले लिएकी हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्