- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकको २० लाख २० हजार कित्ता सेयर लिलामी किन्ने शुक्रबार अन्तिम दिन रहेको छ । शुक्रबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । देवःले असार १ गतेदेखि संस्थापक समूहको १४ लाख ७९ हजार २६४.८८ कित्ता र सर्वसाधारण समूहको ५ लाख ४० हजार ७९४.७१ कित्ता सेयर लिलामी प्रक्रियामा ल्याएको हो ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा देवःको केन्द्रीय कार्यालय, लालदरबार काठमाडौंबाट पनि भर्न सकिनेछ ।
संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।