×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फिरन्ते प्रेमीलाइ जवाफ, ‘हेर त प्यारो मान्छे, लाङटाङ हिमाल मुस्कुराइसक्यो, अव ढिलो किन गर्छौ ?’

‘तिम्रो फोटोग्राफी उत्कृष्ट छ।’ कुनै प्रसंगमाँ औपचारिकता विना नै लेखिदिएँ मैले। 
‘सिक्दैछु।’ तिम्रो उत्तर । 
ठ्याक्कै पाँच दिनको ‘पेन्डिङ रिक्वेश्ट’ स्विकारेकी थिएँ मैले त्यो दिन । कारण तिम्रो ‘म्याक्रो फोटोग्राफी’ असाध्यै मन परेको थियो मलाई । तरकारीवालीले शहर तताईरहेकी थिई । बजारमा वाला/वाली ट्रेन्ड चलेको थियो । विश्व बजारमा ट्रम्प छाइरहेको थियो।
हो त्यही समय हो, जुन ७, २०१६ तिमीसँगको पहिलो भेट । हामीलाई कुरा गर्ने ‘टपिक’को खाँचो कहिल्यै भएन ।केही नभए हाम्रा साझा क्लाइन्टहरू आउँथे वार्तामा प्रवेश गर्न । पहिलो भेट हुन मात्र समय लागेको रहेछ । त्यसपछि तिम्रो र मेरो अफिस छुट्टीपछि घर पुग्ने समय फेरियो । सायद मिठो यात्राको सुरुवाती यसैगरी हुनु थियो। 
हाम्रो कफी वार्ता लम्बिन थाल्यो । कफीका कपहरू पनि थपिन थाले । दिउँसो कफीका कपहरू थपेपछि राती निन्द्रादेवी आउन नखोज्ने । फेरी हामी मोबाइलमा गफिने । तिमी एक दिन पनि सम्झ त हामीबीच कुरा गर्ने विषय नभएर अलमलमा परेको । अँह मैले त सम्झिनै सकिन, सक्दिन सायद । साँच्चै नै आज सम्झिँदा ती दिनहरू निकै उत्कृष्ट रहेछन् ।
हरेक पदयात्रामा जाँदा तिमी मलाई मोबाइल नटिप्ने ठाँउमा भएपनि ल्यान्डलाइन फोनबाट त्यो भुगोलको जानकारी गराँउछौ । खुसी हुन अरु के चाहियो र ?
हो म तिमीलाई धेरै प्रेम गर्छु । हो म हिमाललाई पनि प्रेम गर्छु । तिम्रो क्यामरामा कैद भएका तीनै हिमालहरु हेरेर तिम्रो न्याश्रो थुप्रैपटक मेटेको छु मैले । तिमी जहाँ छौ, त्यो ठाँउलाई प्रेम गर्छु । तिमी जस्तो छौ त्यस्तैलाई प्रेम गर्छु।
मेरो प्यारो मान्छे, तिम्रो पत्र पढिरहँदा मुस्कानले मेरा ओठहरू कानका लोतीसम्म पुगे । तिमीसँगै गोक्यो, रारा, से-फोक्सुन्डो, मिरा पिक चढीरहेका पलहरू कल्पेर म अधैर्य बनेँ । म हतारिएँ, ती दिनहरू छिट्टै बाँच्नका लागि । म हतारिएँ ती खुसीहरू तिमीसँगै अनुभव गर्नका लागि । धेरै वाक्यहरु पढ्दै गर्दा भावनामा बगेर आँसुहरू पनि चुहिए । समग्रमा ती भावनाहरू निकै रोमान्चक थिए । त्यस्तो ठुलो सरप्राइज ? मेरो प्यारो मान्छे, धेरै-धेरै माया र सम्मान छ तिमीलाई । 
म तिम्रो फिरन्ते जीन्दगीमा मात्र होइन तिम्रो समग्र जीन्दगीको सहयात्री बन्न तयार भैसकेकि छु । हेर त प्यारो मान्छे, लाङटाङ हिमाल मुस्कुराइसक्यो, अव ढिलो किन गर्छौ ? म पनि किन ढिलो गरूँजस्तो लाग्छ । 
मेरो प्यारो मान्छे, तिमी मेरा बा-आमासँग मेरो हात माग र मेरो सिउँदोमा तिम्रो नामको सिन्दुर भरेर मलाई तिम्री बनाउ, बाचुन्जेललाई । मलाई पूर्ण विश्वास छ, वहाँहरू छोरीलाई माया गर्ने युवक देखेर निकै खुसी हुनुहुनेछ ।
कुरोमा कुरो चलेका बेला, मायामा माया बगेका बेला, पीरतीको विहानी मुस्कुराएको बेला यति त माग्न जरुर पाउँछु, ‘तिम्रो व्यवसायको ५०% हिस्साको पेश्की यही पत्रमार्फत मागें है ! बाँकी तिर्मो इक्षा प्यारो मान्छे । 
उही तिमीलाई सँधै प्रेम गरिरहने,
सविते
अक्टोबर १८, २०१८
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: