×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व र भन्सारतिर अख्तियारको आँखा

PRIME CA
GLOBAL IME BANK

राजस्व र भन्सारतिर अख्तियारको आँखा

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • साँघु साप्ताहिक
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचारको अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न आयोजना प्रमुख, ठेकेदार र परामर्शदाताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि अब अर्थमन्त्रालय अन्तर्गत भन्सार, कर र राजस्वका अकूत सम्पत्ति आर्जन गर्नेहरूविरुद्ध छानबिन गर्ने भएको छ ।
स्रोतका अनुसार अख्तियारले भन्सार र राजस्वका कर्मचारीहरूले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको धेरै उजुरी अख्तियारमा परेका छन् । २०५८ मा तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले राजस्व समूहका सहसचिवदेखि नायबसुब्बासम्म २२ जनालाई एकैपटक पक्राउ गरेका थिए । त्यसपछि १७ बर्षसम्म राजस्व समूहका कर्मचारीविरुद्ध अख्तियारले कुनै कारबाही गरेको छैन ।
राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागका नायबसुब्बादेखि महानिर्देशकसम्मले आफन्त र चिनेजानेका ब्यक्तिका नाममा जग्गाजमिन खरिद, ब्यापारिक मेस संचालन गरेको सूचना पनि अख्तियारमा पुगेको छ । जग्गाजमिनमा लगानी गर्दा पनि खुल्नसक्ने भएपछि पछिल्लो समयमा राजस्वका कर्मचारीहरूले भ्रष्टाचारको रकम सुनमा लगानी गर्न थालेका छन् । 
भ्रष्टाचारबाट आर्जित सम्पत्ति लगानी भएपछि पछिल्लो समयमा नेपाली बजारमा सुनको अभाव भएको सूचना पनि अख्तियारले पाएको छ । स्रोतका अनुसार, जग्गाजमिनको तुलनामा सुन घरमै जति पनि राख्न सकिने भएकाले पनि सुरक्षित मानेर भ्रष्टाचारबाट आर्जित रकम त्यतातिर लगानी गर्न थालेका छन् । स्रोतका अनुसार अर्थ मन्त्रालय वा अन्तर्गतका कर्मचारीहरूको छानबिन गर्न अख्तियारले सेल नै बनाएको छ । राजस्व समूह गठन नै भ्रष्टाचार गर्ने मनसायले गरिएको भनेर सुरुमै विवाद भएको थियो ।
प्रकारान्तरले त्यही नै देखिएको छ । राजस्व समूहका खरिदार र नासुसँग नै अरब सम्पत्ति छ । राजस्व अनुसन्धान विभागमा लामो समय कार्यरुत रही गतबर्ष अवकाश भएका अधिकृत उद्धव राउतले भक्तपुरमा ५० रोपनीभन्दा बढी जग्गा किनेर ब्यवसाय नै सुरु गरेको उदाहरण नै काफी छ । संघीय निजामती सेवा ऐनमा राजस्व समूह नराख्ने नराख्ने पक्षमा ट्रेड युनियनहरूले आवाज उठाए पनि सरकारले त्यसलाई सुनुवाइ गरेन । राजस्व समूहका कर्मचारीको अगाडि सरकार झुक्न पुगेको छ । 
आन्तरिक राजस्व विभागका महानिर्देशक रहेकै समयमा चुडामणि शर्माले कर फस्र्योट आयोगमार्फत् २१ अर्ब छुट दिंदा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार यसअघि नै मुद्दामा गइसकेको छ । हेर्दा अति भद्र र इमान्दार देखिने बजेट महाशाखाका प्रमुख सहसचिव निर्मलहरि अधिकारीले नवराज तिमिल्सिना(होमनाथ) मार्फत उनको नाममा ब्यापारिक फर्म खोलेर भ्रष्टाचारबाट आर्जित करोडौं रकम लगानी गरेका छन् । स्रोतका अनुसार अधिकारी तातोपानी भन्सार कार्यालयको प्रमुख हुँदा तिमल्सिनाल उनका भान्से थिए ।
पछि तिनै तिमल्सिनाको नाममा ब्यापारिक फर्म खोलेर अधिकारीले लगानी गरेका छन् । ब्यापारिक फर्म खोलेको ७–८ बर्षको बीचमा तिमल्सिनाको प्रगति २५–३० बर्ष ब्यापार गरेका ठूला ब्यापारीहरूको भन्दा धेरै गुणा बढी छ । उनी हिमालय सीमापार ब्यापार संघको महासचिव पनि भएका छन् । तिमल्सिनाको सम्पत्तिको स्रोत खोज्ने हो भने त्यो सहसचिव अधिकारीसँग सोझै जोडिन्छ, तातोपानी रुटमा ब्यापार गर्ने एक ब्यापारीले भने, तातोपानी बन्द भएपछि रसुवाको नाकामा पनि तिमल्सिनाको दबदबा छ ।
राजस्व अनुसन्धान विभागले ४ महिनाअघि न्यून बिजकीकरण गरी ल्याइएका ब्रान्डेड जुत्ताहरू लोड भएको १९ वटा कन्टेनर बरामद गरेको थियो । ती सामान पनि तिमल्सिनाकै थिए । २०५८ मा अख्तियारले पक्राउ गर्न खोज्दा भागेका भरत सुवेदी तातोपानी भन्सार प्रमुख हुँदा सहसचिव अधिकारी भन्सार अधिकृतका रुपमा गएका थिए । सुवेदीले नै उनलाई लगेका थिए । पछि उनी तातोपानी भन्सार प्रमुख भए ।
त्यसपछि उनी सहसचिव बढुवा हुनासाथ २०६९–०७० मा राजस्व अनुसन्धान विभागको महानिर्देशक भए । उनलाई अख्तियारबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले नै राजस्वको महानिर्देशक बनाएका थिए । त्यसपछि लोकमान र निर्मलहरिको सेटिङमा रसुवा र तातोपानी भन्सारबाट नवराज तिमल्सिनाहरूले एकछत्र तस्करीको लाइन चलाएर अरबौंका सामान आयात गरेको त्यतिबेलाको रजगज देखेका ब्यापारी बताउँछन् ।
ती ब्यापारीले त्यतिबेलाको तिमल्सिनाको चकचकीबारे भने–त्यतिबेला उनका कन्टेनरहरू लोकमान र निर्मलहरिको डरले कसैले पनि चेक गर्ने हिम्मत गर्दैनथे । जति र जे सामान ल्याए पनि तिमल्सिनाले जे ल्याएको भन्थे, त्यही लेखेर भन्सार शुल्क लिने गरिन्थ्यो । भित्र सुन र बहुमूल्य सामान ल्याए पनि कसैले पनि चेक गर्न आँट गर्दैनथे । आखिर अख्तियार र राजस्व अनुसन्धानका प्रमुखको सामान कसले छुने ? दस्तुरी समेत कर्मचारीले माग्ने हिम्मत गरेनन् ।
सहसचिव अधिकारीदेखि पूर्व भन्सार प्रमुख कृष्णबहादुर बस्नेत, भैरहवा भन्सारका प्रमुख भूपाल श्रेष्ठ, बीरगंज भन्सारका पूर्व प्रमुख सेवन्त आचार्यदेखि भंसार र राजश्वमा बसेर तरमार्नेहरू प्राय सबैले अकुत आर्जन गरेका छन् । रसुवा भन्सारमा बसेका भन्सार अधिकृत श्याम बस्नेत, लक्ष्मण बाँस्तोलालगायतका कर्मचारीको अकूत सम्पत्तिमा पनि अख्तियारले सुक्ष्म छानबिन गरिरहेको छ ।
(यो समाचार साँघु साप्ताहिकबाट साभार गरिएको हो । )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: