×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारकै आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अख्तियारकै आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नेपाल इञ्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै ७८ लाख घुस लिएको अभियोगमा मंगलबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ ।
चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको उजुरी मिलाइदिने भन्दै पाठकले घुस लिएको श्रव्यदृश्य सामग्री केही समय पहिले सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि पाठकले आफ्नो पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत नभई अनुसन्धान थालिएको थियो । 
कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेसँग घुस लिएका विषयमा प्राप्त भएको श्रव्यदृश्य सामग्रीसमेत आयोगले अदालतमा पेस गरेको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार विचाराधीन उजुरीलाई मिलाइदिने भनी तत्कालीन आयुक्त पाठकले सोही कलेजका सञ्चालकसँग घुस लिएको ठहरसहित मुद्दा दायर गरिएको हो ।
भ्रष्टाचार नियन्त्रण गर्ने निकायका आयुक्त नै घुस लिएको भन्ने विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीका रुपमा दर्ता गरी आयोगले छानबिन गरेको थियो । उजुरी छानबिन हुँदा तत्कालीन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने घुस लिएको देखिएको थियो । 
अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट समेत पुष्टि भएको देखिएको भन्दै आयोगले पाठक र कलेज सञ्चालक न्यौपाने दुवैलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । सो प्रकरणसँग जोडिएका पाठकका भाइ शुभनारायणले घुस लिएको भनिएको १५ लाख नेपाल इञ्जिनियरिङ कलेजसँग सम्बन्धित नरहेको भन्दै थप अनुसन्धान गर्ने आयोगले निर्णय गरेको छ । उक्त घुस रकम नयाँ कलेज सम्बन्धनका लागि लिएको भन्ने सम्बन्धमा थप अनुसन्धान गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । – आर्थिक दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: