
- सुरज प्याकुरेल
नेपाली सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको आश थियो, जव नेप्सेले पूर्ण रुपमा स्वचालित अनलाइन प्रणाली ल्याउँछ, त्यसपछि नेप्से परिसूचक र कारोबार ह्वात्तै बढ्छ । छिमेकी राष्ट्र भारतको अनलाइन प्रणाली आएपछि सयौं गुणा बजार बढेको देखेका र सुनेका लगानीकर्ताहरुले नेपालमा पनि त्यसरी नै कारोबार बढ्ने आशा लिएका थिए । त्यसका लागि लगानीकर्ताहरुले बर्षौं कुरे । अर्को कार्तिकमा अनलाइन आउँछ भन्ने समाचार पढेपछी पनि थुप्रै कार्तिकहरु आशै आशमा कटाए लगानीकर्ताहरुले ।
अन्तिममा आएर नेप्सेले अनलाइन त ल्यायो, तर अनलाइनले बजारमा कारोबार बढाउने होइन, अनलाइन सफ्टवेर बनाउने कम्पनीमाथि गाली दिने कार्य बढायो । किनकि करोडौं खर्च गरेर बनाइएको अनलाइन न पूर्ण स्वचालित अनलाइन बन्न सक्यो, न विश्वसनीय, कहिले तथ्यांक नै गलत देखाउने, कहिले परिसूचक नै शुन्य देखाउने र पटक पटक डाउन हुने सफ्टवेरले लगानीकर्तालाई दिक्क मात्र पारेको छैन, यो सफ्टनिर्माण कम्पनी, यो कम्पनीलाई काम दिने नपाल स्टक एक्सचेन्जका पदाधिकारीहरु र यो अनलाइन ल्याउँदा ठुलो भ्रष्टाचार गरेकाहरुलाई कारवाहीको माग गर्दै लगानीकर्ताहरु अख्तियारसम्म पुगेका छन् । करिव २९ करोड खर्च गरेर बनाइएको अनलाइनले २९ मिनेटपनि गतिलोसँग काम नगरेपछि वेवसाइट निर्माता कम्पनी र नेप्सेका तत्कालीन पदाधिकारीहरु मिलेर कति ठुलो घोटाला गरेका रहेछन् भन्ने तथ्य बाहिर आउंदैछ ।
यसरी सुरु भयो सफ्टवेरमा घोटालाको खेल !
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजारलाई अनलाईन सिस्टममा लैजाने निर्णय गर्यो । म्यानुअल रुपमै चलेको सेयर बजार अव अनलाइन सिष्टममा जान्छ भनेपछि लगानीकर्ताहरु पनि उत्साहित भए । नेप्सेले यस्तो निर्णय गरेपछि सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले अन्तराष्ट्रिय स्तरको अनलाइन सिष्टम बनाउन नेप्सेलाई निर्देशन दियो । धितोपत्र बोर्डको यस्तो निर्देशन आएपछि सेयर बजारका लगानीकर्ताहरुलाई लागेको थियो, ’अव कुनै चलेको विदेशी कम्पनीले अनलाइन सिष्टमको काम गर्नेछ । र सेयर बजार अनलाइन सिष्टममा जानेछ ।’ यसो त तत्कालीन नेप्सेका महाप्रबन्धकले पनि विदेशी कम्पनीलाई काम दिइएको दावी गरेका थिए । तर पछी मात्र थाहा भयो कि टेन्डरमै मिलेमतो गरेर नेप्सेका तत्कालीन महाप्रबन्धक सीताराम थपलियाले हतार हतार यस्तो काममा योग्यता र अनुभव नै नभएको र यस अघि पनि थुप्रै सरकारी काममा जनताको गाली खाएको नेपाली कम्पनीलाई काम दिएको रहेछ । त्यहि कम्पनी थियो वाईको । अझ खास कुरा त के छ भने यो टेन्डर कसलाई पर्यो भन्ने तथ्य पनि लामो समय गोप्य राखिएको थियो । यतिमात्र होइन नेप्से र योमरी कम्पनी भन्दा नेपाली नाम जस्तो सुनिन्छ भनेर वाईको नामको अर्को कम्पनी (योमरीकै संचालक भएको)लाई टेन्डर दिएर जनताको आँखामा छारो हाल्ने काम भयो । यो काम नेप्से र योमरीकै मिलेमतोमा भएको थियो । फेब्रुअरी २०१६ मा सफ्टवेयर खरिदबिक्रीको सम्झौता भयो ।
यो सबै घोटालाको संकेत देखिएपछि सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले उक्त काम रोक्न आदेश दियो । तर कमिसनको खेलमा चुर्लुम्म डुबिसकेको तत्कालीन नेप्सेको नेतृत्व र योमरी मिलेर बोर्ड विरुद्ध अदालतमा मुद्दा दायर भयो । यो मुद्धा धितोपत्र बोर्ड र नेप्सेबीचको लडाई हो भन्ने तर्क जानकारहरुले गरेका थिए । नभन्दै अदालतले बोर्ड्बिरुद्ध आदेश दिंदै काम नरोक्न भनेपछि अदालतको आदेशको पूर्ण पाठ आइनपुग्दै नेप्सेले वाईको कम्पनीलाई पहिलो किस्ता भुक्तानी गर्यो । जवकी त्यतिबेला सम्झौतामा भनिएअनुसारकै सफ्टवेर बनाउने मिति पनि सकीइसकेको थियो । सम्झौताकै शर्त मान्ने हो भने पनि १४ महिना काटेर पनि अर्को झन्डै डेढ बर्षपछि अनलाइन आयो । त्यो पनि नाम मात्रको अनलाइन । तर पनि वाईकोलाई कसैले काम गर्ने आँट गरेन ।
१९ करोडको डिल, २९ करोड खर्च, आउटपुट ’झुर’ !
नेप्सेले कुल १९ करोड रुपैयाँमा अनलाइन सिष्टम किन्ने करार गरेको थियो । उक्त करारमा सफ्टवेर निर्माण कम्पनीले ५ बर्षसम्मको सर्भिस ग्यारेन्टी गर्ने उल्लेख छ । त्यसपछि नेप्सेले एनुअल मेन्टेनेन्स चार्जको रुपमा बार्षिक करोडौं रुपैयाँ निर्माण पक्षलाई बुझाउनु पर्ने शर्त राखिएको छ । उक्त करारमा १४ महिनाभित्र सफ्टवेयर जडान गरिसक्ने उल्लखे छ । तर १४ महिनासम्म सफ्टवेरको १० प्रतिशत पनि काम नसकेको कम्पनीलाई कसैले पनि कारवाही गर्ने आँट गरेन । जबकी करारमा तोकिएको मितिभित्र सफटवेयर हस्तान्तरण नगरे जरिवाना तिराउने व्यवस्थासमेत राखिएको थियो । यो बीचमा नेप्सेको भूमिका झन् शंकास्पद देखियो । नेप्सेले बिज्ञप्ति नै जारी गरेर अनलाइनको काम ५० प्रतिशत काम सकिएको दावी गर्यो । यतिसम्मकी केहि ब्रोकर, लगानीकर्ताहरुका नेता र मिडियालाई बोलाएर डेमो देखाउने भनियो । तर डेमोमा अनलाइन होइन अनलाइन कसरी बन्छ भन्ने फ्लोचार्ट देखाइयो । त्यहि कार्यक्रममै पनि लगानीकर्ता र वाईकोका अधिकारीबीच ठुलै भनाभन भयो ।
टेन्डर एउटाको काम अर्कैको ! खेल पैसाको !
नेप्सेले ग्लोवल टेण्डर गरेर सबैभन्दा राम्रो कम्पनी भनेर टेन्डर दिएको वाईको कम्पनीसँग अनलाइन बनाउने जनशक्ति थिएन । उ त बस् कमिसनको खेलमा लिप्त थियो । काम लिइयो तर आफुले उक्त काम गर्न नसकेपछि वाईकोले नेप्सेसँग १९ करोडमा लिएको कामको ठेक्काको सब कन्ट्रयाक्ट भारतीय कम्पनी इन्फिनिटी’लाई दियो । त्यो पनि नेप्सेसँग आधा काम सकियो भन्दै थप पांच करोड रुपैयाँ लिएर । अझ खस कुरा त के छ भने पैसाजति कमिसनमा सकिएपछी वाईकोले निकै कम मूल्यमा इन्फिनिटीसँग यो काम सक्ने सम्झौता गरेको थियो । वाईकोले दिएको रकममा यो सफ्टवेरको काम नसकिनेभएपछी इन्फिनिटीले पनि भारतकै सामान्य अर्को लोकल कम्पनीलाई काम दियो । स्रोतका अनुसार उक्त लोकल कम्पनीले मात्र ५ करोड रुपैयाँमा यो काम पाएको छ । १९ करोडको ठेक्का अन्ततस् एउटा सामान्य भारतीय लोकल कम्पनीले ५ करोडमा बनायो।यसमा पनि नेप्सेले थप फिचरहरु राख्ने भन्दै भेरिएसन अर्डरबाट थप १० करोडभन्दा बढी रकम निकासा गरिदियो । यसरी करिव २९ करोड रुपैयाँ खर्च गरेर बनेको सफ्टवेर अहिले २९ मिनेट पनि गतिलोसँग चल्दैन । अझै लगानीकर्ताहरुलाई झुक्याउने र विभिन्न बहानामा पैसा कुम्ल्याउने क्रम जारी छ ।
अनलाइनले उल्टै डुबायो लगानीकर्तालाई !
अनलाइन आएपछि के के न हुन्छ भन्ने आश सबैलाई थियो । तर अनलाइन आएकै दिन नेप्से परिसूचकमा गडबड देखियो । नेप्सेले ल्याएको अनलाइन पूर्ण रुपमा स्वचालित अनलाइन होइन भन्ने सबैलाई थाहा भयो । फलस्वरूप अनलाइन शुरु भएको दिन जम्मा ३ करोडको कारोवार भयो । भोलिपल्ट ७ करोडको हाराहारी कारोवार भयो । अलि राम्रो कारोबार हुन थाल्यो कि समस्या देखिन थाल्यो । लगानीकर्ताहरु थप हतोत्साहित भए । फलस्वरूप २९ करोड खर्च गरेर ल्याइएको अनलाइनलाई राम्रो छ भानिदने लगानीकर्ताहरु १५ लाखको संख्यामा २९ जना पनि भेटिएनन् । भेटिउन् पनि कसरी, पूर्ण स्वचालित भनिएको अनलाइनबाट लगानीकर्ताले न मार्केट डेप्थ हेर्न पाए, न ब्रोकरले फ्लोर सिट पाए । ब्रोकरहरु पनि हैरान भए । अहिलेसम्म पनि उक्त सफ्टवेरले हुँदै नभएको डाटा देखाउंछ । कुनै बेला नेप्से परिसूचक शुन्य देखाउँछ । कहिले सिष्टम नै डाउन हुन्छ । यसरी अनलाइन प्रति लगानीकर्ताको विश्वास पनि गुम्यो । र अनलाइन आएपछि बजारमा उछाल आउँछ भनेर कुरेर बसेकाहरुलाई अनलाइनले उल्टै डुबायो । लगानीकर्ताको अरवौंको लगानी डुब्यो । लगानीकर्ताको गोपनियताको हक विरुद्धसमेत काम भयो । एउटाको अर्डर अर्कोले देख्न मिल्ने भयो । यो त कमजोरी भन्दापनि अपराध हो । अरुले गरेको अर्डर एडीटसम्म गर्न मिल्यो केहि दिन भन्नेसम्मका कुरा बाहिर आए ।
लगानीकर्ताको प्रश्न ’२९ करोडमा कसले कति खाए ?’
केहि समय अगाडी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको बार्षिकोत्सवको अवसरमा मन्तव्य दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ’सफ्टवेरको खास मूल्य कति हो ? कसले तोक्छ ?’ हो, यस्तै भयो नेप्सेको अनलाइनको हकमा पनि । उक्त सफ्टवेरको कति पर्छ ? खास उत्तर कोहिसंग पनि छैन । तर अहिले नेप्सेले जडान गरेकै जस्तो सफ्टवेयर ५ देखि ८ करोडमा भारतमा सजिलै बन्छ भन्ने तर्क गर्छन् विज्ञहरु । अझ खास कुरा त के छ भने पहिले इन्ट्रानेट मार्फत ब्रोकरलाई जे सुविधा दिइएको थियो, अहिले त्यहि कुरालाई इन्टरनेटमा हालिएको मात्र हो र यो खासमा नयाँ सफ्टवेर नै नभएको तर्क केहि आइटी विज्ञहरुले गरेका छन् । त्यसो भए २९ करोड रुपैयाँ खर्च गरिएको सफ्टवेरमा कसले कति खायो त ? लगानीकर्ताहरु यहि प्रश्न बारम्बार विभिन्न निकायमा सोधीरहेका छन् ।
निरिह वाईको ! अन्य काम पनि झुर !
यसो त यो घोटाला प्रकरणमा वाईको पनि निरिह बनेको छ । केहि समय अगाडी नेप्से, लगानीकर्ता र वाईकोका प्रतिनिधिबीचको छलफलमा लगानीकर्ताहरुले वाईकोका हाकिमलाई आच्छु आच्छु बनाए । यतिसम्म कि वाईकोका हाकिम लगानीकर्ताको कुटाइ खानबाट बालबाल बचे । तर उनीसँग पूर्ण रुपमा स्वचालित अनलाइन कहिले आउँछ भन्ने प्रश्नको उत्तर नै थिएन । उनी हरेक विषयको प्रश्नको उत्तर दिंदा भन्छन्, ’यस विषयमा नेप्से बोल्छ, नेप्सेसंग हामी कुरा गरेर मात्र भन्न सक्छौं ।’ यसको अर्थ वाईकोलाई एउटा मात्र कन्फीडेन्ट के छ भने आफुले कमिसन खुवाएकाहरुले आफुलाई बचाउनेछन् । तर अव यो केस अख्तियार पुगेको छ । पछिल्लो समय अदालतदेखि अख्तियारसम्मका घुस काण्डहरु बाहिर आइरहेको बेला यो काण्ड अव भने नतुहिने र वाईकोका हाकिमदेखि नेप्सेका केहि अधिकारीसम्म जेल जान सक्ने अनुमान धेरैले गरेका छन् । तर यो नेपाल हो र यहाँ जे पनि चल्छ । ठुला घोटालाका काण्डहरु आफैं तुहिन्छन् भन्ने तर्क गर्नेहरु पनि छन् । जे हुन्छ लिभिङ विथ आइसीटीले त्यो बाहिर ल्याउने छ । यसो त वाईकोले बनाएको झुर सिष्टम यो पहिलो भने होइन । पछिल्लो समय लाइसेन्सको काम गर्ने यातायातको सिष्टम बनाउने कम्पनी पनि वाईको हो । अझ नेप्से र यातायात दुवैका सिष्टमबाट पीडीत बनेकाहरु त भन्न थालेका छन्, ’जहाँ वाईको, त्यहाँ ठगी। ’ अझ यी त बाहिर आएका विषय मात्र हुन्, वाईकोले बनाएका अन्य सरकारी सिष्टमहरु त हेर्न बाँकी नै छ ।
(लिभिङविथ आइसीटी मासिकमा सुरज प्याकुरेलको खोजी रिपोर्ट)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्