
- कल्पना शाही
भक्तपुर- करिव ९ महिनाअघि नाम बदलिएर शिक्षा विभागबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो ।
यसरी शिक्षा मन्त्रालय मातहतको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने इकाइमा शर्मनाक अवस्था ल्याउने व्यक्ति हुन दिपेन्द्र देव । उनी यस केन्द्रमा इन्जिनियर पदमा करार सेवामा कार्यरत छन् । उनले विभिन्न जिल्लामा नमूना विद्यालय भवन निर्माणका लागि विस्तृत शैक्षिक, आर्किटेक्चरल र इन्जिनियरिङ डिजाइन, गुरुयोजना, लागत अनुमान र रेटदर विश्लेषण गर्ने कार्यका लागि परामर्श दाता छनौटको काममा चरम अनियमितता गरेको भेटिएको छ । देवले विभिन्न चलखेल गर्दै आफ्ना नजिकका मान्छेहरुले सञ्चालन गरेका कन्सल्टेन्सीहरुलाई काम दिने गरेका छन् । साथै उनले ती कन्सल्टेन्सीहरुलाई कार्यक्रम पारिदिने भन्दै ठूलो रकम असुलेको सोही कार्यालयकै कर्मचारी बताउँछन् । देवको उक्त धन्दा हिजोआज झन झन् बढेको कर्मचारीहरुको भनाइ छ ।
पछिल्लो समय विद्यालय भवन निर्माणका लागि विस्तृत शैक्षिक, आर्किटेक्चरल र इन्जिनियरिङ डिजाइन, गुरुयोजना, लागत अनुमान र रेटदर विश्लेषण गर्नका लागि केन्द्रले निकालेको सूचनामा उनले ठूलै चलखेल गरिरहेको स्रोतको दावी छ ।
पाँच वटा ब्लकमा हुन लागेको यो कामका लागि यसअघि केन्द्रले गत माघ १ गते सूचना जारी गरेको थियो । सोही सूचना अनुसार विभिन्न कन्सल्टेन्सीहरुले अनलाइनमार्फत आफ्नो आवेदन दिएका थिए । त्यसरी आवेदन दिएका मध्येबाट यही चैत्र १६ गते १० वटा कन्सल्टेन्सीलाई सर्टलिस्टमा छानिएको छ । सर्ट लिस्टमा परेका मध्येबाट पनि छानेर केन्द्रले केही थोरै कन्सल्टेन्सीलाई उक्त कार्यक्रम दिँदैछ । तर, यो कार्यका लागि देवले केही कन्सल्टेन्सीसँग पहिले नै सबै कुरा मिलाइसकेका छन् । केही कन्सल्टेन्सीहरुसँग अहिले पनि देवले काम मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको स्रोतको दावी छ । उनीसँग बार्गेनिङ गरिरहेकै एक कन्सल्टेन्सी सञ्चालकले भने “दिपेन्द्र देवले निकै चलाखीपूर्ण कुरा गरेर सबैलाई अल्झाउने गर्दछन् । तर, पैसा लिने र काम गराउने भने उनका केही सीमित कन्सल्टेन्सी मात्र छन् । जुन कम्पनीलाई उनले बारम्बार छनौट गर्दै आएका छन् ।”
यसअघि भुकम्पबाट प्रभावमा परेका विद्यालयका भवनको रेट्रोफिटिङ गर्ने कार्यमा छनौट भएका कम्पनीलाई नै अहिले उनले सर्टलिस्टमा पारिसकेको र काम पनि उनैलाई दिने स्रोतको दावी छ ।
आफ्नै कन्सल्टेन्सी र आफन्तका कन्सल्टेन्सीलाई काम
यसरी देवले काम दिने मध्येका कन्सल्टेन्सीहरु केही थोरै मात्र छन् । यसअघिको रेट्रोफिटिङको काम गर्ने डिजिकन एफबीसी आइडल जेभी, कुपन्डोल, डिबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि. महादेवस्थान, पेस अपूर्व जेभी महाराजगञ्ज, राज इन्जिनियरिङ कन्सल्ट्यान्ट जेभी लगायतका कम्पनी यसपटक पनि सर्ट लिस्टमा परेका छन् ।
यसमध्ये डीबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि. उनको आफ्नै कम्पनी हो । उनको नाममा दर्ता नभए पनि यो कम्पनी देवले आफ्नै दाइ भागेन्द्र देवलाई जिम्मेवारी दिएर राखेका छन् भने महेश देवलाई एमडी बनाएर राखेका छन् । त्यसैगरी पेस अपूर्व जेभी पनि उनकै नातेदार पंकज देवको कन्सल्टेन्सी हो । त्यस्तै डिजिकन एफबीसी आइडल जेभी उनकै नजिकका राम उदार यादवको कन्सल्टेन्सी हो । यी कन्सल्टेन्सीसँग देवले ३० प्रतिशतसम्म रकम लिने गरेको स्रोतको दावी छ । रमाइलो त यो छ कि उनले अरु कन्सल्टेन्सीहरुलाई पनि काम मिलाइदिने आश्वासन दिन छाडेका छैनन । यसअघिको काममा कतिपय कन्सल्टेन्सीसँग उनले अन्तिम समयसम्म पनि मिलाइदिने भन्दै आश्वासन दिएका थिए । तर, अन्तिममा काम उनकै सीमित घेराभित्रका कन्सल्टेन्सीले पाए । देवले आफ्नो सबैतिर च्यानल रहेको र सबैतिर पैसा दिनुपर्ने भन्दै कन्सल्टेन्सीहरुबाट पैसा माग्ने गरेको एक कर्मचारीले बताए । उनले अख्तियारमा समेत आफ्नो राम्रो सेटिङ रहेको कुरा पनि बेलाबेलामा सुनाउने गरेका छन् ।
काठमाडौंमा ठडियो बंगला
सप्तरीको राजविराज घर भएका देव सामान्य परिवारका हुन । उनको पुख्र्यौली सम्पती त्यति धेरै बलियो छैन । तर, उनले पछिल्लो काठमाडौंमा घर बनाइसकेका छन् । काठमाडौं कोटेश्वरको मनोहरा खोलातर्फ रहेको झोलुङ्गे पुल नजिकै उनले तीन तले घर बनाइसकेका छन् । उनले अरु ठाउँहरुमा पनि जग्गा किनेको आफ्ना साथीहरुलाई बेलाबेलामा सुनाउने गरेका छन् । तर, उनलाई नजिकबाट चिन्नेहरु भने उनको यो अवस्था देखेर आश्चर्य व्यक्त गर्छन । अधिकृत तहको त्यो पनि करार सेवामा जागिर खाने व्यक्तिले यसरी काठमाडौंमा घर बनाएको र ठाउँ ठाउँमा जग्गा किनेको देखेर उनका सहकर्मीहरु समेत चकित परेका छन् । यसअघि उनी झापा जिल्ला शिक्षा कार्यालयमा थिए । त्यहाँ पनि उनले यसरी नै विभिन्न कार्यक्रममा अनियमितता गरेको उनीसँग काम गरेका पूर्व कर्मचारी बताउँछन् ।
यता दिपेन्द्र देवले भने यी कुरामा सत्यता नभएको बताएका छन् । उनले एशियाली विकास बैंक, विश्व बैंकका प्रतिनिधि समेत बसेर कन्सल्टेन्सीहरु छनौट गरिने भएकोले यसमा त्यस्तो कुनै अनियमितता नहुने बताए । साथै उनले टेन्डर सबै अनलाइनमार्फत नै विड हुने गरेकोले अनियमितताको कुनै सम्भावना नरहेको दावी गरे । देवले छनौट समितिमा एडीबी र विश्व बैंकका प्रतिनिधि रहने भने पनि अरु कर्मचारी भने यो सही नभएको बताउँछन् । त्यसैगरी देवले अनलाइनमार्फत विड गर्ने कुरा पूरै सही नभएको कर्मचारीको दावी छ । एक कर्मचारीले सुरुमा आवेदन दिँदा अनलाइनमार्फत दिनुपर्ने तर अनलाइनमार्फत दिएको आवदेनहरु पछि हार्डकपी सबै बुझाउनुपर्ने बताए । त्यसरी बुझाइएका हार्डकपीबाट कतिपय डकुमेन्ट गायव पारेर र आफूलाई पार्नुपर्नेको कतिपय डकुमेन्ट समेत थप गरेर उनले मिलाउने गरेको उनले दावी गरे । साथै उनले सबै कागजी डकुमेन्ट मिलाउनमा उनी निकै चलाख रहेको तर उनले आफ्नो वार्गेनिङ पनि कहिल्यै नछोड्ने दावी गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्