×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार है ! ग्लोबल आइएमई बैंकबाट ग्राहकको रकम हरायो, बैंकले गल्ती स्वीकार्यो तर पैसा फिर्ता दिएन !

काठमाडौँ । काठमाडौँ बस्ने श्याम चौहानले ग्लोबल आइएमइ बैंक लिमिटेमा कारोबार गर्थे । काठमाडौँमा केनल हाउसको व्यवसाय गर्ने चौहानले व्यवसायकै क्रममा एकजना साथीलाई ग्लोबल आइएमइ बैंकको चेक दिए । आफ्नो खातामा कति पैसा राखेको छु भन्ने हेक्का राखेरै चेक दिएका उनको चेक ‘एकाउन्टमा पैसा छैन’ भनेर फिर्ता भएपछि उनी तीन-छक्क परे । त्यसपछि उनी बैंक गए । बैंक गएर बुझ्दा थाहा भयो कि उनलाई थाहा नै नदिई उनको खाताबाट पैसा सनराइज बैंकमा रहेको अर्को खातामा मोबाइल बैंकिङबाट ट्रान्सफर भएको रहेछ। 
आफ्नो एकाउन्टमा रहेको मोबाइल नम्बर आफ्नो किर्ते हस्ताक्षर गरी कसैले परिवर्तन गरेर अर्कै एकाउन्टमा रकम ट्रान्सफर भएको थाहा पाएपछि उनी तनावमा परे । बैंकको अनामनगरस्थित शाखाबाट उनको नम्बर परिवर्तन भएको रहेछ भने त्यसो गर्न बैंकको कुपन्डोल शाखाबाट ‘अर्डर’ आएको रहेछ । कसैले ‘म नै श्याम चौहान हो’ र मेरो नम्बर परिवर्तन गरिदिनू भनेकै आधारमा त्यसलाई भेरिफाइ नै नगरी उनको मोबाइल बैंकिङमा प्रयोग भएको नम्बर परिवर्तन भएको रहेछ । 
‘बैंकले आफ्नो गल्ती स्वीकार्यो तर पैसा फिर्ता दिएन’ 
त्यसपछि उनी अनामनगरस्थित बैंकको शाखा कार्यालय गए । त्यहाँका कर्मचारीले ‘हामीबाट गल्ती भयो, कसैले हामीलाई म नै श्याम चौहान हो भनेर नम्बर परिवर्तन गर्न लगाएपछि ग्राहकलाई गाह्रो परेको होला भनेर परिवर्तन गरिदियौं’ भन्ने जवाफ आएपछि यस्तो अर्डर दिने कुपन्डोल शाखामा पुगे उनी । कुपन्डोल शाखाको सीसीटिभी फुटेज हेर्दा कुनै एक व्यक्ति आएर उनको हस्ताक्षरसमेत नक्कल गरी फोन नम्बर परिवर्तन गर्न निवेदन दिइएको देखियो तर यस्तो हर्कत गर्ने मान्छे चिनिएन । त्यसपछि उनी बैंकको मुख्य कार्यालय गए । त्यहाँपनि सबै कुरा बुझेपछी बैंकका कर्मचारी नवराज भट्टराइले यस प्रकरणमा बैंककै कमजोरी भएको बताउँदै रकम खातामा फिर्ता आउने कुरामा विश्वास दिलाए । तर आज भन्दा- भोलि भन्दा पनि उनको रकम फिर्ता भएन ।
एक हप्ताभन्दा बढी समय बैंकले ग्राहकलाई अनेक बहानामा झुलायो ! 
कहिले ‘सीइओकहाँ फाइल पुगेको छ, उहाँले भ्याउनुभएको छैन’ भन्ने त कहिले अनुसन्धान भइरहेको भनेर झुलाउने प्रयास गरेपछि चौहान झन् तनावमा परे । आफ्नो खाताबाट जुन खातामा रकम ट्रान्सफर भएको छ, त्यो खाताको खातावालासँग पनि सम्पर्क गरे । उक्त खातावालाले आफ्नो उक्त खातामा आफुले पछिल्लो समय कुनै पनि कारोबार नगरेकोले बैंककै गल्तीले यस्तो भएको बताएपछि चौहान पुन बैंकमा गए । तर बैंकले अनुसन्धान भइरहेको छ भनेर रित्तो हात फर्कायो । एक दिन, दुइ दिन भन्दा भन्दै हप्ता दिन बित्यो । 
‘अत्ति’ भएपछि उनी बैंकमा गएर उपल्लो तहमै कुरा गर्न सुरिइए । त्यसो गरेपछि बैंकले आफुहरु अनुसन्धान पछि गर्ने तर पैसा तुरुन्त खातामा हालिदिने बाचा गर्यो । त्यसपछि उनी ढुक्क भएर फर्किए तर पनि पैसा आएन । करिव १० दिनसम्म बैंकले झुलाएपछि उनी अर्थ सरोकारको कार्यालयमा आए । यसअघि एक ग्राहकले ग्लोबल आइएमइ बैंकबाट निकालेको एक लाखको बिटोमा १० हजार नपुगेको खबर अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकले फिर्ता पाएको खबर पढेका उनी त्यहि आसमा अर्थ सरोकारको कार्यालयसम्म आइपुगेका छन् । अर्थ सरोकारको कार्यालयमा आएपछि पनि उनले नवराज भट्टराइलाई पैसाको बारेमा बुझे । 
उनले आफुलाई बैंकले झुलायेका कारण अव आफु मिडियाको सहयोग माग्न आएकोसमेत बताए । भट्टराईले मिडिया वा प्रहरीमा नजान, गएको खण्डमा उल्टै ढिलो हुने भन्दै घुमाउरो धम्की पनि दिए । उनले ५ बजेसम्म पैसा आउने सम्भावना प्रवल रहेको बताए तर यो समाचार तयार गर्दा साँझको ६:२५ भएको छ तर उनको खातामा पैसा आएन । 
बैंक के भन्छ ?
चौहानको सबै गुनासो सुनेपछि हामीले बैंकमा यो केस हेरिरहेका नवराज भट्टराईलाई फोन गर्यौं । ग्राहकलाई थुप्रै दिनदेखि झुलाईरहेको आरोप लागेका उनले यस प्रकरणमा मिडियासँग आफुले बोल्न नमिल्ने र यस प्रकरणमा बैंकका सूचना अधिकारी सुरेन्द्रराज रेग्मीलाई फोन गर्न भने । त्यसपछि हामीले सुरेन्द्र राज रेग्मीलाई फोन त गर्यौं तर उनले फोन नै उठाएनन् । ग्राहकसँग जहिले पनि भोलि पैसा आउँछ भनेर झुलाउने बैंकले यस विषयमा बुझ्न खोज्दा सूचना अधिकारीले फोन नै उठाएनन् । 
किन बारम्बार दोहोरिरहन्छन् यस्ता घटना ?
ग्लोबल आइएमइ बैंकमा यसअघि पनि एक लाखको बिटोमा १० हजार रुपैयाँ नपुगेको खबर बाहिरिएको थियो । अर्थ सरोकारले उक्त समाचार प्रकाशन गरेपछि बैंकले ग्राहकको रकम फिर्ता गरेको थियो । त्यस्तै अंशियारको मन्जुरीनामा विना कर्जा प्रवाह गरेको प्रकरणमा पनि अहिले बैंकले मुद्धा खेपीरहेको छ । आखिर ग्लोबल आइएमइ बैंकमा मात्र किन यस्ता प्रकरण भइरहन्छन् ? भन्ने विषय गम्भीर रुपमा उठेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: