×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता

११ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो । 
नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यहीअनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल बताउनुहुन्छ । “बालविवाह न्यूनीकरणका साथै समाजमा छोरीको महत्व बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ”, नगर प्रमुख रावलले भन्नुभयो, “यहाँ अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ ।”
उहाँ यो कार्यक्रमले जन्मिने बित्तिकै छोरीको जन्मदर्ता बन्ने भएकाले उसको जन्मने बित्तिकै अधिकार स्थापित हुने बताउनुभयो । “जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ”, रावलले भन्न्ुभयो, “२० वर्षपछि विवाह गर्ने छोरीलाई मात्र वार्षिक रु एक हजारका दरले एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ । यसले छोरीको सम्मान र समाजमा महत्व बढाउँछ ।”
कार्यविधिमा आर्थिक वर्ष २०७६/७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने र टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनुपर्ने उल्लेख गरिएको छ । मङ्सिर मसान्तसम्म कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउनयता जन्मिएका ९६ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक सङ्गीता शाहले जानकारी दिनुभयो । “आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउँछन्”, शाहले भन्नुभयो, “विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ ।”
नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष रु एक/एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्छ । यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले छोरीहरुको नाममा खाता खोली रकम जम्मा गरी दिन थालेपछि अभिभावक खुशी भएका छन् । टीकापुर–३ की रेश्मा शाहकी छोरी भदौमा जन्मिइन्, जन्मेको २० दिनमा छोरीको जन्मदर्ता गराइयो । अब वार्षिक रु एक/एक हजार नगरपालिकाले राखिदिने भएको छ । “म निकै खुशी छु, छोरीप्रति सरकारले सम्मान गरेको छ”, शाहले भन्नुभयो, “छोरीप्रतिको विभेद घटाउन यस्तै कार्यक्रम गर्न आवश्यक छ ।”
सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासको लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ । रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: